मंगलबार, मंसिर ३, २०७६

समाचार

सुदूरपश्चिम सरकारद्वारा १६ अस्पताललाई एम्बुलेन्स वितरण

सुदूरपश्चिम सरकारद्वारा १६ अस्पताललाई एम्बुलेन्स वितरण

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्षमा खरिद गरेका १६ वटा एम्बुलेन्स आज (बुधबार) वितरण गरेको छ।

खरिद गरेको लामो समयसम्म वितरण नगरेको भनि चौतर्फी आलोचना खेपेको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले बुधबार एक कार्यक्रमका बीच ऐम्बुलेन्स वितरण गरेको हो।

सुदूरपश्चिम प्रदेश सरकारले सवा ६ करोडमा किनेका १६ अत्याधुनिक एम्बुलेन्स प्रदेश सरकारले ९ वटै जिल्लाका १६ अस्पताल र स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ।

एम्बुलेन्स हस्तान्तरण गर्दै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले अव सुदूरपश्चिम प्रदेशमा एम्बुलेन्स अभावले बिरामी ज्यान गुमाउनु नपर्ने बताए। प्रदेशको स्वास्थ्य सेवालाई गुणस्तरीय तथा छिटोछरितो बनाउने उद्देश्यले एम्वुलेन्स खरिद भएको उनले जानाकरी दिए।

सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थाका एम्बुलेन्समा साइरन र अक्सिजन सिलिन्डर बाहेकका सुविधा नभएको अवस्थामा नयाँ वितरण गरिएका १६ वटा एम्बुलेन्समा फुल एसीसहित मुटुको धड्कन नाप्ने मनिटर, अक्सिजन सिलिन्डर, सुरक्षाका अन्य थुप्रै उपकरण लगायतको सुविधा छ।

एम्बुलेन्स चालकलाई तालिम प्रदान भइरहेको सुदूरपश्चिम स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए। तालिमपश्चात वितरण भएका एम्वुलेन्स सञ्चालनमा आउने छन्।

सामाजिक विकास मन्त्रालयले सेती प्रादेशिक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र कमल बजार अछाम, जोगबुडा अस्पताल डडेलधुरा, जिल्ला अस्पताल दार्चुला, बैतडी र बझाङ, टाटे स्वास्थ्य चौकी बाजुरा, रुद्रेश्वर स्वास्थ्य चौकी बैतडी, खार स्वास्थ्य चौकी दार्चुला, रायल स्वास्थ्य चौकी बझाङ, नवदुर्गा स्वास्थ्य चौकी डडेलधुरा, डोटीमा जिल्ला अस्पताल र चवराचौतार स्वास्थ्य चौकी, अछामको जिल्ला अस्पताल, बाब्ला स्वास्थ्य चौकी, बान्नीगढीमा एम्बुलेन्स वितरण गरेको छ।

सुदूरपश्चिम प्रदेशका अधिंकाश स्वास्थ्य संस्था र अस्पतालमा एम्वुलेन्स छैनन् भने भएका एवुलेन्स पनि प्रयोग बिहीन छन्। सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहमा एम्बुलेन्स सेवा पुग्न सकेको छैन। एम्बुलेन्स अभावकै कारण यहाँका अधिंकास बिरामी र घाइते ज्यान गुमाउन बाध्य छन्।

पहाडी जिल्लामा गतिलो एम्बुलेन्स सेवा नहुँदा सुत्केरी तथा गम्भिर विरामीलाई हेलिकप्टरबाट उद्धार गनुपर्ने बाध्यता रहेको छ।

प्रदेशको राजधानी धनगढीमासमेत यस्तै समस्या छ। सुदूरपश्चिम प्रदेशको रेफरल अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पतालमा दुई एम्बुलेन्स रहे पनि एउटा प्रयोग बिहीन अवस्थामा छ।

एउटा एम्बुलेन्सको भरमा सेवा प्रदान गर्न कठिनाइ भइरहेको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए। उनले नयाँ आएको प्रविधियुक्त एम्वुलेन्सले केही सहज हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्