काठमाडौं - रामेछाप घर भएकी सम्झना (नाम परिवर्तन) १३ वर्षकी भइन्। उनका बुवा वैदेशिक रोजगारीमा मलेसियामा छन्। आमाले दोस्रो बिहे गरिन्। बेसहारा बनेकी सम्झना कोटेश्वरको एक खाजा घरमा काम गर्न थालिन् । होटलका मालिकले उनलाई यौनजन्य क्रियाकलापमा संलग्न गराउँदै आएको सूचना पाएपछि प्रहरीले छापा मार्यो र बालिकालाई उद्धार गरी बाल मन्दिरको जिम्मा लगाएको छ।
सम्झना प्रतिनिधि पात्र हुन्। पछिल्लो समय काठमाडौँका होटल, रेस्टुरेन्ट र खाजाघरमा यौनजन्य क्रियाकलाप बढेपछि प्रहरीले निगरानी बढाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले अश्लील क्रियाकलाप नियन्त्रण गर्न विशेष अपरेसन सुरु गरिएको बताएका छन्।
सुवेदीले भने, ‘अभिभावक साथमा नभएका कारण बेवारिसेजस्तै बनेका बालबालिका बढी यौनजन्य क्रियाकलपमा संलग्न गराइएको पाइएको छ। कोटेश्वर, चाबहिल, नयाँ बसपार्क, कलंकीलगायतका होटल, रेस्टुरेन्ट र खाजा घरमा यस्ता क्रियाकलाप बढेपछि हामीले निगरानी बढाएका छौं।’
महानगरीय प्रहरी परिसर काठमाडौंले गत असार २५ गते दरबारमार्ग, ठमेल, कोटेश्वर, नयाँ बसपार्क लगायतका स्थानबाट अश्लील क्रियाकलापमा संलग्न २५० लाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये बढीमा १८ वर्षदेखि कम्तीमा १३ वर्षसम्मका छन्। प्रहरीले पक्राउ परेकाहरु यौनजन्य क्रियाकलाप तथा लागूऔषध प्रयोगकर्ता तथा कारोबारीसमेत रहेको जनाएको छ।
अश्लील तथा यौनजन्य क्रियाकलाप बढेपछि काठमाडौं प्रहरी परिसरले 'स्विप अप्रेसन’ सुरु गरेको थियो। अभिभावक नभएका बालबालिकालाई प्रहरीले बालबालिका हेर्ने संस्थाको जिम्मा लगाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४