जनकपुरधाम – प्रदेश २ को बाढी प्रभावित क्षेत्रमा नेताहरुको ओइरो लागेको छ। केही दिनअघि भारी वर्षापछि प्रदेश २ को अधिकांश जिल्लाहरु प्रभावित भएपछि धनजनको क्षतिबारे जानकारी लिन नेताहरुको आउने क्रम जारी छ।
बुधबार पूर्वप्रधानमन्त्री र मन्त्रीहरुको जम्बो टोलीले प्रदेश २ को बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको छ। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुनसहितको टोलीले प्रदेश २ को बाढी प्रभावित क्षेत्रको अनुगमन गरेको हो।
टोलीमा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, विकास समितिका सभापति कल्याणी खड्का, राजपा अध्यक्षमण्डलका सदस्य अनिल झा, नेकपाका प्रदेश २ संयोजक एवं सांसद प्रभु साहलगायतका सहभागी थिए।
काठमाडौंबाट हेलिकप्टर चढेर आएको टोली बाढी प्रभावितलाई नभेटी राजधानी फर्किएको छ। रौतहटहुँदै सप्तरी, धनुषा र सर्लाहीमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको टोलीले स्थानीय प्रशासनसँग क्षतिबारे जानकारी लिएर राजधानी फर्केको हो।
उपप्रधानमन्त्री यादवसहितको टोलीले रौतहटको गौरस्थित पुरेनवा सेना गणमा स्थानीय प्रशासनसँग क्षति र बाढीको अवस्थाबारे जानकारी लिएको थियो।
रौतहटपछि सप्तरी पुगेको टोलीले हेलिकप्टरबाटै बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेको थियो। सप्तरीपछि जनकपुर विमानस्थलमा पुगेका टोलीले धनुषामा बाढीले पुर्याएको क्षतिबारे जानकारी लिएको थियो।
जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरसँग कुरा गर्दै गृहमन्त्री थापाले बाढीका कारण सबैभन्दा बढी प्रदेश २ प्रभावित रहेको भन्दै विस्थापित भएकाहरुलाई पुनस्र्थापना गर्न सरकारले तत्काल काम सुरु गर्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४