जनकपुरधाम – प्रदेश २ को उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयले उपभोक्ता समितिमार्फत गरेको कामको मूल्यांकन होटेलमा बसेर गरेको पाइएको छ। मन्त्रालयले पर्यटन पूर्वाधारसम्बन्धी काम उपभोक्ता समितिमार्फत गर्न लगाएको थियो।
कतिपय सेवाग्राहीहरु आर्थिक वर्षको अन्तिम दिन मन्त्रालय धाइरहेपनि कर्मचारीहरु होटलमा बसेर योजनाको मूल्यांकन गरेको रहस्य बाहिरिएको छ।
जनकपुरको शिवचोकस्थित एक होटलको कोठा नम्बर २०५ र २०८ मा मंगलबार मन्त्रालयका कर्मचारीहरु योजनाको मूल्यांकन गर्न व्यस्त देखिएका थिए। ल्यापटप र प्रिन्टर होटलको कोठामा राखेर कर्मचारीहरु योजनाको फाइल हेर्दै मूल्यांकन गरिरहेका थिए।
मन्त्रालयले आर्थिक वर्ष २०७५÷०७६ मा पर्यटन पूर्वाधार निर्माण सम्बन्धी ५० करोड रुपैयाँका काम उपभोक्ता समितिमार्फत गराएको बताइएको छ।
नाम नबताउने शर्तमा होटेलमा भेटिएका एक कर्मचारीले मन्त्रालयमा ठाउँ नभएकोले होटलमा बसेर काम गरेको बताए। होटेलमा फाइल हेरेर मूल्यांकन गर्ने काममात्र भइरहेको बताउँदै उनले अन्य काम निर्देशनालयबाट भइरहेको दाबी गरे।
होटेलमा सञ्चारकर्मीहरु पुगेपछि मन्त्रालयका कर्मचारीहरु ल्यापट र प्रिन्टर बोकेर हिँडेका थिए। होटलको रिसेप्सनले दुबै कोठा मन्त्रालयको नाममा बुक भएको जानकारी दिए।
प्रदेश २ का मुख्य सचिव दीपक सुवेदीले होटलबाट काम भए नभएको सम्बन्धीत मन्त्रालयकै सचिवलाई सोध्नुपर्ने बताए। ‘होटेलबाट काम भइरहेको बारे हामीलाई कुनै जानकारी आएको छैन्,’ सुवेदीले भने, ‘यथार्थ के हो यसबारे उद्योग सचिवलाई सोध्नुस्।’
मन्त्रालयका निमित्त सचिव जगदीश गुप्ताले होटेलमा बसेर काम गर्ने कर्मचारी आफ्नो मन्त्रालयको नरहेको दाबी गरेका छन्। कर्मचारी काम गर्ने मन्त्रालयमा पर्याप्त ठाउँ रहेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४