शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दुई निर्दोष सेनाको मुद्दालाई सैनिक विशेष अदालतको अग्राधिकार, रिहा होलान् त?

दुई निर्दोष सेनाको मुद्दालाई सैनिक विशेष अदालतको अग्राधिकार, रिहा होलान् त?

जुन ‘गन’ भरत गुरुङको हत्या स्वीकार गरेका गंगाधर ढकालको साथमा भेटियो, त्यही ‘गन’ चोरी गरेको अभियोगमा कालीबहादुर गणमै मुकाम भएको समरी जनरल सैनिक अदालतले उनीहरूलाई कैद सजाय सुनाएको थियो।
 |  बुधबार, भदौ ९, २०७८

अनिल यादव

अनिल यादव

बुधबार, भदौ ९, २०७८

काठमाडौं- एसएमजी 'गन' चोरी गरेको झुठो अभियोगमा साढे दुई वर्षदेखि जेल सजाय भोगिरहेका सैनिकद्वय अमल्दार लबकुमार गुरुङ र सिपाही सरोज तामाङको मुद्दालाई सैनिक विशेष अदालतले अग्राधिकारमा राख्दै बिहीबारका लागि पेसी तोकेको छ। गुरुङ र तामाङले चोरेको भनिएको 'गन' अर्कैले चोरेको पुष्टि भएपछि २८ महिनाअघि दिइएको पुनरावेदनमाथि बिहीबार बहस हुने भएको हो। 

triton college

'यसबारे धेरै कुराहरु बाहिर आएपछि सेनाको अदालतले भोलिलाई पेशी तोकेको खबर आएको छ', जेलभित्र रहेका सैनिक परिवारका सदस्यले भने, 'हामीलाई आशा छ, अग्राधिकारसहित तय भएको पेशीले केही गर्ला भन्ने लागेको छ। निर्दोष हाम्रा परिवारका सदस्यलाई रिहा गरियोस्।


सामान्यतः ६ महिनाभित्र मुद्दाको टुंगो लगाउनु पर्ने भएतापनि सैनिक विशेष अदालतले यो मुद्दालाई २८ महिनादेखि अल्झाएर राखेको थियो। साउन ०७ गते नेपाली सेनाका हुद्दा भरत गुरुङको हत्यामा संलग्न गंगाधर ढकालको साथबाट बरामद भएको एसएमजी 'गन' र  लबकुमार तथा सरोजले कालीबहादुर गणबाट चोरेको भनिएको 'गन'को बडी नम्बर एउटै रहेको पुष्टि भएपछि यो मुद्दालाई सैनिक मुख्यालयले विशेष चासोका साथ हेर्न सुरु गरेको थियो। 

झुठो अभियोगमा दुई सैनिकले जेल सजाय भोगिरहेकोबारे नेपाल समयले निरन्तर समाचार प्रकाशन गरेपछि सैनिक मुख्यालयले हतियार प्रकारणबारे अनुसन्धानका गर्न एक छानबिन टोली चितवन पठाएको थियो। छानबिन टोलीको प्रतिवेदन प्राप्त भएपछि सैनिक विशेष अदालतले पेसी तोकेको हो। 

नेपाल समयले यो विषयमा 'गन'ले अन्याय 'गन'ले न्याय सिरिजमा शृंखलाबद्ध समाचार प्रकाशन गर्दै आएको छ। जुन 'गन' भरत गुरुङको हत्या स्वीकार गरेका गंगाधर ढकालको साथमा भेटियो, त्यही 'गन' चोरी गरेको अभियोगमा कालीबहादुर गणमै मुकाम भएको समरी जनरल सैनिक अदालतले उनीहरूलाई कैद सजाय सुनाएको थियो।

corrent noodles
Metro Mart

गुरुङ र तामाङले चोरेको भनिएको 'गन' अर्कैले चोरेको पुष्टि भएपछि २८ महिनाअघि दिइएको पुनरावेदनमाथि बिहीबार बहस हुने भएको हो। 

सैनिक ऐन, २०६३ को दफा ४९ को खण्ड (क) र दफा ५२ को खण्ड (६) बमोजिम दोषी ठहर गरी ०७५ चैत २५ गते उदयपुर, गाइघाटका सैनिक अमल्दार लबकुमार गुरुङलाई १० वर्ष र र मोरङ सुन्दरहरैँचाका सैनिक जवान सरोज तामाङलाई ७ वर्षको कैद सजाय सुनाएको फेसलामा उल्लेख छ। त्यतिबेला सैनिक अदालतका अध्यक्ष सहायक रथी, सहदेव खड्का थिए। लबकुमार र सरोज अहिले जिल्ला कारागार चितवनमा सजाय काटिरहेका छन्। 

हामीले यसअघि शृंखलाको दोश्रो भागमा कारागारमै रहेका सरोज तामाङसँगको कुराकानी प्रकाशित गरेका थियौँ, जहाँ उनले आफूहरूलाई सैनिक हिरासतमा चार महिना चरम यातना दिइएपछि जबर्जस्ती हतियार चोरेको कबुल गर्न बाध्य बनाइएको बताएका थिए। 

समरी जनरल अदालतले 'गन' चोरीको मुद्दामा सुनाएको फैसलामा चित्त नबुझेपछि गुरूङ र तामाङले सैनिक विशेष अदालतमा ०७६ वैशाख ०६ गते पुनरावेदन चढाएका थिए। निर्दोष हुँदाहुँदै पनि सैनिकद्वयलाई जेलमा राखिएको र मुद्दाका क्रममा परिवारका सदस्यलाई चरम शारीरिक र मानसिक यातनाको वृत्तान्त हामीले यसअघिका शृखंलामा लेखेका छौं। 

जिल्ला प्रहरी कार्यालय चितवनले सैनिक भरत गुरुङको हत्या मुद्दामा अनुसन्धान टुंग्याएर एक साताअघि मात्र सरकारी वकिलको कार्यलयमार्फत् जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो। गुरुङको हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ परेको गंगाधर ढकालमाथि कर्तव्य ज्यान, अवैध रुपमा हातहतियार राखेको तथा चोरी गरेको अभियोगमा मुद्दा दायर भएको थियो।

गंगाधरले अदालतसामु दिएको बयानमा गुरुङको हत्या त स्वीकारे नै, सँगसँगै हत्यामा प्रयोग गरिएको १००७९२ नम्बरको एसएमजी 'गन' ०७५ साल जाडोको महिनामा कालीबहादुर गणबाट चोरी गरेको पनि स्वीकारे। ०७५ को जाडोयाममा नै लबकुमार र सरोजलाई सोही हतियार चोरी गरेको अभियोगमा सैनिक हिरासतमा यातना दिइएको थियो। 

हतियार चोरीमा संलग्न रहेको अरोपमा पक्राउ परेका सैनिक ढकालसहित मुद्दालाई सैनिक अदालत पठाउन चितवन जिल्ला अदालतले आदेश जारी गरेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले गुरुङको हत्या मुद्दासम्बन्धी सबै फाइल सैनिक अदालत पठाउने आदेश गरेको हो।

गंगाधरले अदालतसामु दिएको बयानमा गुरुङको हत्या त स्वीकारे नै, सँगसँगै हत्यामा प्रयोग गरिएको एसएसएमजी 'गन' ०७५ साल जाडोको महिनामा कालिबहादुर गणबाट चोरी गरेको पनि स्वीकारे।

तर, गंगाधर ढकालले अदालतसामु आफू एक्लैले 'गन' चोरेको बयान दिएपछि उनीहरुको निर्दोषितामाथि हामीले निरन्तर लेखिरहेका छौँ। ‘म काठमाडौंबाट घरमा छुट्टीमा चितवन आएको थिएँ। सो समयमा भरतपुरस्थित सेनाको ब्यारेकको चौबिस कोठीतिरको तारबाट रातको करिब १० बजेतिर छिरेर करिब २ घण्टाजति झाडीमा लुकेर बसेको थिएँ। करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरु अगाडि ढोकामा बसेको समयमा म पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर उक्त बरामद भएको हतियार चोरेर लगेको हुँ,’ गंगाधरको यो बयान हामीले यसअघिको शृंखलामै प्रकाशित गरेका थियौँ। 

सैनिक मुख्यालयले माग गरेपछि जिल्ला अदालत चितवनले गंगाधरको मुद्दा सैनिक अदालतमा पठाएको स्रेस्तेदार ईश्वर आचार्यले बताएका थिए। सैनिक अदालतले गंगाधरको फैसला गरेपछि मात्रै लबकुमार र सरोजको मुद्दाको टुंगो लाग्ला भन्ने अनुमान थियो। तर, गंगाधरको मुद्दामाथि फैसला हुनुअघि नै सैनिक विशेष अदालतले लबकुमार र सरोजको मुद्दाको टुंगो लगाउने देखिएको छ। 

‘सैनिक मुख्यालयले लबकुमार र सरोजमाथि अन्याय भएको महसुस गरेको छ। छानबिन टोलीको प्रतिवेदनपनि त्यही अनुसार आएको छ। सायद बिहीबार झुठो अभियोगमा जेल सजाय काटिरहेका दुई निर्दोष सैनिकको पक्षमा फैसला हुने देखिन्छ,’ नेपाली सेनाका एक उच्च अधिकारीले बताए।

(हामी निरन्तर फलोअपमै छौं। अर्को शृंखलाका लागि नेपाल समय हेर्दै गर्नुहोला)

शृंखलाको आठौँ भाग

दुई निर्दोष सैनिकका लागि न्यायको ढोका खोल्ने चाबी बन्दैछ गंगाधरको यो बयान

मैले भरत गुरुङलाई गोली प्रहार गरी हत्या गर्न प्रयोग गरेको हतियार मैले कालीबहादुर गण भरतपुर ब्यारेक चितवनको कोतबाट चोरी गरी निकालेको हुँ। उक्त हतियार कालीबहादुर गणबाट चोरी गर्ने कार्यमा म बाहेक अन्य कोही कसैको संलग्नता छैन। उल्लेखित टाइचिन भन्ने पवन गुरुङ र तारा तामाङसँग मेरो कुनै नाता सम्बन्ध छैन, मैले निजहरुलाई चिन्दिनँ। के कुन आधारबाट निजहरु उपर हातहतियार मुद्दा दताई भई सम्मानित चितवन जिल्ला अदालतमा पेश भएको मलाई थाहा भएन। (गंगाधर ढकालको बयान)…

शृंखलाको सातौं भाग

जेलमा रहेका 'निर्दोष' सैनिकका परिवार न्याय खोज्दै काठमाडौंमा, के भन्छ सेना?

जुन गनको प्रयोग गरेर गंगाधरले आफ्नै सहकर्मीको हत्या गरे, त्यही गन चोरी गरेको अभियोगमा सैनिक अमल्दार लबकुमार गुरुङ र सैनिक जवान सरोज तामाङ साढे दुई वर्षयता जिल्ला कारागार चितवनमा सजाय काटिरहेका छन्।...

शृंखलाको छैटौँ भाग

यस्तो छ 'एसएमजी चोर' सैनिकको बयान

करिब रातको १२ बजेपछि ड्युटीमा सेनाहरु अगाडि ढोकामा बसेको समयमा म पछाडिको झ्यालबाट हतियार राखेको ठाउँमा गएर उक्त बरामद भएको हतियार चोरेर लगेको हुँ। उक्त हतियार चोरेर घरको टौवामुनि लुकाएर राखेको थिएँ। मैले टौवा फेर्ने बेलामा अर्को ठाउँमा लुकाएर राख्ने गरेको र फेरि टौवा बनेपछि सोही स्थानमा लुकाएर राख्ने गरेको थिएँ। उक्त चोरी गरेको हतियार लुकाएको घरमा कसैलाई थाहा थिएन। …

शृंखलाको पाँचौं भाग

निर्दोष कैदीका परिवारलाई समेत सेनाले यसरी दियो महिनौं यातना

०७५ साल माघ २६ गते। उदयपुरस्थित त्रियुगामा रहेको आफ्नै घरमा थिइन्, तारा तामाङ। बहिनी प्रमिला पनि त्यहीँ आएकी थिइन्। बिहान भर्खर कुखुरा बास्न थालेका थिए। बेडमा मस्त सुतिरहेका थिए, तारा र प्रमिला। ...

शृंखलाको चौथो भाग

एसएमजी चोरी स्वीकारेका ढकाललाई अदालतबाट सेनाले लग्यो, पीडित परिवार भन्छ– बयानमा हेराफेरी नहोस्

सैनिक भरत गुरुङको हत्या मुद्दालाई सैनिक अदालत पठाउन चितवन जिल्ला अदालतले आदेश जारी गरेको छ। जिल्ला न्यायाधीश हेमन्त रावलको एकल इजलासले गुरुङको हत्या मुद्दासम्बन्धी सबै फाइल सैनिक अदालत पठाउने आदेश गरेको हो।...

शृंखलाको तेस्रो भाग: 

उता सैनिक श्रीमानलाई यातना, यता सुत्केरी श्रीमतीलाई सास्ती

आफू सुत्केरी भएका बेला निर्दोष श्रीमान् जेलमा पर्दा उर्मिलाले खुब दुःख पाएकी छिन्। घरमा कमाउने कोही नभएपछि ९ महिनाको नानी छाडेर उनी सुबिसु इन्टरनेटको अफिसमा काम गर्न जान्थिन्।…

शृंखलाको दोस्रो भाग:

जेलबाट सैनिक सरोजले भने- निर्दोष छौं, अब न्याय पाइएला कि!

एकपटक त हामीलाई आँखामा पट्टी, हातमा हतकडी लगाएर जंगलमा लगियो। फायरिङ गरियो। अनि भनियो– ‘तेरो साथी लबकुमार मर्‍यो।’ त्यसपछि बन्दुक कहाँ छ, अब तँ भन्, नत्र तलाई पनि मार्दिन्छु भन्दै मलाई धम्क्याइयो। त्यतिमात्रै होइन, तेरो श्रीमतीलाई दिल्ली लगेर बेच्दिन्छु, छोराछोरी बेच्दिन्छु, अनेक भनेर तर्साइयो। ...

शृंखलाको पहिलो भाग:

जेलभित्र रहेका दुई सैनिक निर्दोष, हराएको हतियार अर्कैले चोरेको ‘पुष्टि

दुई वर्षदेखि जेलमा रहेका दुई  सैनिक जवानमाथि लगाएको अभियोग मिथ्या सावित भएको छ। चितवनस्थित नेपाली सेनाको कालीबहादुर गणको गणबाट १००७९२ नम्बरको सर्ट मेसिन गन ( एसएमजी ) चोरीको आरोपमा जेल परेका ती दुई सैनिक जवानहरु सोही नम्बरको हतियार अर्को व्यक्तिले चोरेको स्विकारेपछि उनीहरुमाथिको अभियोग बनावटी रहेको तथ्य बाहिर आएको हो।…

प्रकाशित: Aug 25, 2021| 20:32 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।