रौतहट– रौतहट जिल्लाले राष्ट्रिय टिममा नौजना खेलाडी योगदान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा), महिला फुटबल विभागका अनुसार रौतहटका मात्रै नौजना खेलाडी राष्ट्रिय टिममा परेका हुन्। राष्ट्रिय टिममा परेका नौजनामा पुनम जर्घा मगर, रेनुका नगरकोटी, सविता रानामगर, रजनी ठोकर, रस्मी घिसिङ, अन्जना रानामगर, मन्जली योन्जन, अनिता केसी र निसा ठोकर छन्।
शेरबहादुर दर्लामीले आफ्नो प्रयासमा सुरु गरेको महिला फुटबलको प्रशिक्षणमा रहेका अधिकांश खेलाडी राष्ट्रिय टिममा परेका छन्। चन्द्रपुर नगरपालिका–चन्द्रनिगाहपुरका फुटबल प्रशिक्षक नूरराज काफ्लेका अनुसार राष्ट्रिय टिममा विभिन्न विभागीय टोलीसहित २३ जनाले खेल्न पाउनेमा रौतहटबाट मात्र नौजना छनौट हुनु गर्वको विषय भएको प्रतिक्रिया दिए।
पछिल्लोपटक सार्वजनिक सूचीअनुसार राष्ट्रिय टिममा पर्नेहरु सबै रौतहट जिल्लाकै उत्पादन रहेको रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले बताए। उनका अनुसार एन्फाको महिला टिममा मात्रै होइन, अन्य विभागीय टिममा पनि रौतहटका महिला फुटबलरको संख्या बढेको छ।