काठमाडाैं- प्रधानसेनापति पूर्णचन्द्र थापा पहिलो पटक चीन भ्रमणमा जाने भएका छन् । नेपाल–चीन सैन्य अभ्यास तेस्रो संस्करणको प्रक्रिया अघि बढ्दै गर्दा उनी असार १ गते चीन भ्रमणमा निस्किन लागेका हुन् ।
चिनियाँ जनमुक्ति सेना (पीएलए) को निमन्त्रणामा चीन जान लागेका उनले विभिन्न सैन्य सम्झौता कार्यावन्यन र थप सैन्य सहायताबारे छलफल गर्ने भएका छन् । प्रधानसेनापति थापाको चीन भ्रमण क्रममा सैन्य सहयोग सम्झौतामा हस्ताक्षर हुने स्रोतले बताएको छ।
उनी असार १ मा सिचुवान प्रान्तको छेन्दू पुग्ने छन्। गत वर्ष असोज १ मा छेन्दुमै नेपाल–चीन संयुक्त सैन्य अभ्यास भएको थियो। उनी त्यहाँबाट चीनको राजधानी बेइजिङ जाने छन्। चिनियाँ समकक्षीलगायत चिनियाँ सेनाका वरिष्ठ अधिकारीसँग समेत उनले भेट गर्ने छन्। भ्रमणका क्रममा उनले पीएलएका विभिन्न युनिट अवलोकन गर्ने छन्।
सन् १९८८ यता नेपाली सेना र पीएलएबीच सैनिक सहायता सुरु भएको हो। त्यसपछि नेपाली सेना र पीएलएबीच सुमधुर सम्बन्ध बन्दै गइरहेको छ। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले प्रधानसेनापति थापाको चीन भ्रमण नियमित भएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४