काठमाडौं - लोकसेवा आयोगले स्थानीय निकायका लागि जारी गरेको विज्ञापनका विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश गरेको छ। लोकसेवा आयोगको विज्ञापन असमावेशी भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो।
उक्त रिटमाथि सुनवाई गर्दै बुधबार सर्वोच्चले लोकसेवा आयोगको नाममा कारण देखाउ आदेश दिएको हो।
न्यायाधीश पुरुषोत्म भण्डारीको इजलासले १५ दिनभित्र लिखित कारण पेस गर्न भनेको छ। यसैगरी छलफलका लागि दुबै पक्षलाई असार ३ गते बोलाइएको छ।
लोकसेवाले गत जेठ १५ गते स्थानीय तहका विभिन्न सेवा समूहका लागि विज्ञापन आव्हान गरेको थियो। अप्राविधिक, प्राविधिक तर्फका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि नौ हजार १ सय ६१ सिटको लागि विज्ञापन खोलिएको छ।