जनकपुरधाम- जनकपुरको ऐतिहासिक तथा धार्मिक पोखरी गंगासागरको सरसफाइ अभियानबाट सुरु भएको गंगा आरती बुधबार पाँच वर्ष पुरा भएको छ ।
पाँच वर्षपूर्व गंगा दशहाराको अवसर पारेर सुरु भएको गंगा आरतीको पाँचौ वर्ष गाँठमा विशेष आरतीको आयोजना गरिँदै छ । विशेष गंगा आरतीमा पूर्वराष्ट्रपति डा.रामवरण यादव सहभागी हुने भएका छन् ।
जनकपुरको धार्मिक र पवित्र गंगा सागरमा सेभ हिस्टोरिकल जनकपुरको पहलमा सुरु भएको गंगा आरती हाल आएर आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
नेपालमै पहिलो पटक शुरु गरिएको गंगा आरती हेर्न प्रत्येक दिन यहाँ पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । जनकपुरमा सुरु भएको गंगा आरतीपश्चात पोखराको फेवातलाका साथै सिरहा, महोत्तरीको जलेश्वरलगायतका स्थानमा समेत साँझ आरती हुन थालेको छ ।
तीन महिनाको गंगा सागर सफाई अभियानपश्चात पाँच वर्षपूर्व सुरु गरिएको गंगा आरतीमा सहभागी हुन आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारत तथा तेश्रो मुलुकबाट समेत पर्यटकहरु आउने गरेको सेभ हिस्टोरिकल जनकपुरका संयोजक एवं प्रदेशसभा सदस्य रामअशिष यादवले बताए ।
पाँच वर्षमा एकदिन पनि नरुकेको गंगा आरतीको रमझम हेर्न डा.यादव राष्ट्रपति भएको बेलासमेत पुगेका थिए । यसैगरी उनीबाहेक सभामुख, राष्ट्रसभा अध्यक्ष, विभित्र न्यायाधीश, प्रहरी र सेनाका उच्च पदाधिकारीहरु गंगा आरतीमा सहभागी भएका छन् ।
यसका साथै विहारका उपमुख्यमन्त्री सुशील मोदीका भारत, श्रीलंका, थाइल्यान्डका राजदूतहरु समेत गंगा आरतीमा पुगेको आयोजक सेभ हिस्टोरिकल जनकपुरले जनाएको छ ।
जल संरक्षणको उद्देश्यका साथ सेभ हिस्टोरिकल जनकपुरले शुरु गरेको गंगासागर सफाई अभियानले गंगा आरतीको रुप लिएपछि धार्मिक आस्थाको केन्द्र बन्नुका साथै यसले पर्यटकहरुलाई लोभ्याउन थालेको यादवको भनाई छ ।
भारतको बनारस, हरिद्धार लगायतका स्थानमा हुने गंगा आरती झैँ जनकपुरको गंगासागरमा हुनेगरेको गंगाआरतीमा पर्यटक तथा स्थानीयहरु रमाउने गरेको यादवको ठम्याई छ ।
जनकपुरको गंगा आरतीमा मात्र गंगाको स्तुती नगरिएर सम्पूर्ण देवीदेवताको मन्त्र जाप गर्ने गरिएकोले यसको विशेष महत्व रहेको बताउँछन् सेभ हिस्टोरिकल जनकपुरका कोषाध्यक्ष राजकुमार महासेठ ।
दिन भर गरेका भुलको क्षमा माग्दै हरेक दिन साँझ हुने गंगा आरतीमा सहभागी भए क्षमा पाउनुका साथै धार्मिक शक्तिको समेत वृद्धिहुने भएकोले आरतीमा सहभागी हुन दैनिक उल्लेख्य संख्यामा स्थानीय, श्रद्धालु तथा पर्यटकहरु आउने गरेको उनले बताए ।
जनकपुरको गंगासागरमा हरेक साँझ तीनजना पुरोहितले धार्मिक रिती अनुसार गर्ने गरेको गंगा आरतीमा स्थानीय व्यक्ति तथा पर्यटकहरु आउने गरेका छन् ।
यहाँका स्थानीयहरुको पहलबाट शुरु गरिएको गंगा आरतीमा राज्यले हाल सम्म खासै सहयोग पुर्याउन सकेको छैन् । आरती समाग्री, पुरोहित, गंगासागर पोखरी सफाई लगायतका कार्यहरुमा मासिक ६० हजार भन्दा बढी खर्च हुने गरेको छ ।
सेव हिस्टोरिकल जनकपुरका अनुसार गत आर्थिक वर्षमा दान पेटिकाबाट ४ लाख ४३ हजार २४५, व्यक्तिगत सहयोग तथा ब्याजसहितबाट ४ लाख ८२ हजार ६६४ रुपैयाँ आम्दानी भएको छ ।
६ जना पुजारी र दुई कर्मचारी गरी ४ लाख ९० हजार २४० र पुजा सामग्रीमा २ लाख ३५ हजार ३९ र बिजलीबत्ती मर्मत तथा खरिदमा ८० हजार ३९० रुपैयाँ खर्च भएको सेव हिस्टोरिकल जनकपुरका कोषाध्यक्ष महासेठले जनाए । पछिल्लो मौजदातसहित सेव द हिस्टोरिकल जनकपुरको खातामा ५ लाख ३० हजार ६७७ रुपैयाँ रहेको उनले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४