काठमाडौं- इसाई थर्म प्रचारक संस्था एसिया प्यासेफिक फाउन्डेसनको योजनाअनुसार त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भइरहेको छ । भोलिसम्म काठमाडौंमा चल्ने सम्मेलन उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतल निवासमा गरिन्।
त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको 'विश्वविद्यालय शिक्षाको अन्तर्राष्ट्रियकरण' नामक सम्मेलनमा कोरियाको काङनाम विश्वविद्यालय र क्रिस्चियन धर्म प्रचारक संस्था एसिया प्यासेफिक फाउन्डेसनले आर्थिक लगानी गरेको बताइएको छ । काङनाम विश्वविद्यालय युनिफिकेसन चर्चका कार्यक्रम प्रचारप्रचार गर्दै आएको भन्दै विवादित छ ।
काठमाडौंको होटल हिमालयमा जारी सम्मेलनमा ६ देशका प्रतिनिधिसहित १२५ बढी सहभागी छन् । सम्मेलनमा अमेरिका, बेलायत, फिनल्यान्ड, जापान, चीन, सिंगापुर र भारतका विश्वविद्यालयका प्रतिनिधि सहभागी रहेको त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयले बदलिँदो विश्व परिवेश र सूचना प्रविधिको विकाससँगै विश्वविद्यालयको स्तरलाई उच्च स्थानमा ल्याउन पहिलोपल्ट अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको दाबी गरेको छ ।
सम्मेलनमा करिकुलम र पेडागोजी अर्थात् पाठयक्रम र शिक्षणसम्बन्धी एउटा, रिसर्च र इनोभेसन अर्थात् अनुसन्धान र आविष्कारसम्बन्धी एउटा, इन्टरपेनरसिप र म्यानेजमेन्ट अर्थात् उद्यमशीलता तथा व्यवस्थापनसम्बन्धी नौवटा प्रस्तुति रहनेछन् । विश्वविद्यालयका तर्फबाट सम्मेलनमा सहभागी विद्वान्ले अनुभव साटासाट गर्नेछन् । तर त्यहाँ कुनै प्राज्ञिक कार्यपत्र भने प्रस्तुत हुने छैन ।
दक्षिण कोरियाको काङनामङ विश्वविद्यालयको प्राविधिक सहयोग रहे पनि यसलाई गोप्य राखिएको छ। विश्वविद्यालयले आफ्नो वेबसाइटमा कार्यक्रम विवरण राखे पनि हिजोमात्र हटाइएको छ। केही साताअघि प्रधानमन्त्री केपी शर्मालाई यही विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधि प्रदान गरेको थियो ।
सोही दिन त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीको उपस्थितिमा यो कार्यक्रम विश्वविद्यालयको आवरणमा गर्ने सम्झौता भएको थियो ।
कार्यक्रम हिमालय होटलमा गर्ने भनिए पनि राष्ट्रपति थप विवादमा पर्ने देखिएपछि शीतल निवासमै उद्घाटन गरिएको हो । त्रिविले राष्ट्रपतिको आवतजावतले सडक जाम हुने भन्दै कार्यक्रम उद्घाटन राष्टपति निवासमै गरेको दाबी गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले भने सम्मेलनले एक देशमा रहेका विश्वविद्यालयको शाखा अर्को देशमा खोल्न सहयोग गर्ने, विश्वविद्यालयबाट उत्पादित दक्ष जनशक्ति आदानप्रदान गर्ने, संयुक्त अनुसन्धान गर्ने तथा क्षमता अभिवृद्धि गर्न सम्मेलन महत्त्वपूर्ण हुने तर्क अगाडि सारेको छ ।
विश्वविद्यालयले सम्मेलनले विश्वका अन्य विश्वविद्यालयसँगको सहकार्यमा त्रिविको गुणस्तरलाई थप उकास्ने भन्दै यो सम्मेलन ऐतिहासिक उपलब्धि भएको दाबी गरेको छ ।
सम्मेलन त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर रेजिना मास्केको विशेष पहलमा आयोजना भएको हो । गत वर्ष एसिया प्यासिफिक फाउन्डेसनले राजधानीमा आयोजना गरेको एसिया प्यासेफिक समिट, त्यहाँ शपथ गराउँदा चखाइएको होली वाइनापछि मास्केले त्रिभुवन विश्वविद्यालयको एडिटोरियम हलमै शपथ खुवाएपछि विद्यार्थीले तीव्र विरोध गरेका थिए ।
त्रिवि योजना आयोगका निर्देशक रिडिस पोखरेलले विश्वविद्यालयको आफ्नै खर्चमा सम्मेलन गरिएको जानकारी दिए । उनले नेपाल समयसँग भने, 'बाहिर जसरी प्रचार गरिएको छ त्यो होइन । हामीले विश्वविद्यालयको स्तर वृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरेका हौं । सम्मेलनमा कुनै विदेशी दाता वा संस्थाले सहयोग गरेको भए उनीहरुको लोगो प्रयोग हुन्थ्यो । तर त्यो छैन ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४