काठमाडौं- सन् २०१३ मा जर्मनीको फ्य्रांफ्रुटमा आयोजना गरिएको म्याराथन अघिल्लो दिन रद्द गरिएको सूचना आयो । यसबाट विश्वजगत् अचम्मित बनेका बेला जर्मन प्रहरीले म्याराथनको रुट रहेको ओबरओजेलस्थित एउटा घरबाट ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गर्यो ।
म्याराथनका समयमा विस्फोट गराउने र ठूलो जनधनको क्षति गराउने आइएसआईको योजना प्रहरीले विफल पार्यो । भोलिपल्टदेखि म्याराथन आयोजना भयो ।
म्याराथन सम्पन्न भएपछि राज्य सरकारले म्याराथन एक दिन ढिलो हुनुको कारण नागरिकसमक्ष सप्रमाण पेस गर्यो । यस घटनापछि जर्मन गुप्तचरी प्रहरी क्षमताको संसारभर थप प्रशंसा हुन थाल्यो।
गत हप्ता काठमाडौंमा एकै समयमा दुई विस्फोट भए । सुकेधारा र घट्टेकुलोमा भएको विस्फोटमा ४ जनाको ज्यान गयो । विस्फोटपछि मात्र प्रहरीले थाहा पायो ।
नेपालमा चार किसिमका सुरक्षा निकाय छन्: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभाग । गुप्तचरी निकायको काम घटनापूर्वको सूचना दिनु हो ।
देशको प्रशासनिक केन्द्र सिंहदरबार नजिकै भएको ठूलो विस्फोटमा गुप्तचरी निकाय बेखबर देखियो । त्यस घटनापछि मुलुकको सुरक्षाविज्ञहरूबीच गुप्तचर निकाय कामै गर्न नसकिने भएको हो त भन्ने बहस हुन थालेको छ ।
नेपाल प्रहरीका पूर्व एआइजी तथा अनुसन्धान विज्ञ राजेन्द्रसिंह भण्डारी गुप्तचर निकाय राजनीतिक कार्यकर्ताको भर्तीकेन्द्र मात्र बनेकाले समयमा सूचना संकलन गर्न नसकिएको बताउँछन् । उनले भने, 'भएका संरचनामा पार्टीका कार्यकर्ता भरिएका छन् अनि कहाँबाट पाउनु पूर्वसूचना ?'
पञ्चायतकालमा नेपालको गुप्तचरी निकाय चुस्त थियो । राष्ट्रिय अनुसन्धान विभागमा कार्यकर्ता भर्ती भएका थिएनन् । जिम्मेवारी पाएका व्यक्ति गोप्य रूपमा परिचालित हुन्थे ।
जासुसी निकायमा विभिन्न क्षेत्रका अनुभव प्राप्त व्यक्ति समावेश हुन्थे । उनीहरूको परिचय गोप्य राखिन्थ्यो । भण्डारी भन्छन्, 'प्रजातन्त्र स्थापनापछि गुप्तचरीमा चरम राजनीति मात्र गरिएको छैन । तहसनहस नै पारिएको छ ।'
पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाका भान्से गुप्तचरका थिए । पञ्चायत सरकारले बिपी कोइरालाका विभिन्न सूचना तिनै भान्सेबाट लिन्थ्यो ।
नेपाल प्रहरीमा सूचना संकलन गर्ने विभिन्न निकाय छन् । ती निकायको सूचना संकलन गर्ने शैली भिन्नभिन्न छ । राष्ट्रिय महत्त्व र जटिल अनुसन्धान सिआइबीले गर्छ । आतंकवाद र प्रतिआतंकवादको सूचना संकलन गर्ने काम विशेष ब्युरोबाट हुन्छ ।
महानगरीय अपराध अनुसन्धान महाशाखाले उपत्यकामा हुने सबैखाले अपराधिक क्रियाकलाप र संगठित अपराधको सूचना संकलन गर्छ । त्यस्तै लागूऔषध नियन्त्रण ब्युरोले समेत सूचना संकलन गर्छ । 'सूचना संकलन गर्न लामो अनुभव र विशेषज्ञसँग संगत हुनुपर्छ', ब्युरोको लामो अनुभव भएका पूर्व डिआजी हेमन्त मल्लले भने ।
मल्ल भन्छन्, 'चार किसिमका सुरक्षा निकायमध्ये प्रहरीको सूचना संकलन तुलनात्मक रुपमा सन्तोषजनक छ । सूचना संकलनका साथसाथै शान्तिसुरक्षा कायम गर्नुपर्ने भएकाले सूचना संकलनमा प्रहरी कामजोर देखिएको हो अन्य सुरक्षा निकायमा त्यति पनि छैन ।'
नेपाल प्रहरीका अवकाश प्राप्त एआइजी बमबहादुर भण्डारीले २२ वर्ष विशेष ब्युरोमा बिताए । उनी आतंकवाद र प्रतिआतंकवाद अनुसन्धानमा विज्ञ मानिन्छन् । पछिल्लो समय राजनीतिक सिकार बनेको नेपाल प्रहरीमा २२ वर्ष हैन एक वर्ष पूरा गर्न मुस्किल छ त्यस्ता ब्युरोमा टिक्न । राजनीतिक प्रभाव र दबाबका कारण औसत नेपाल प्रहरीमा बढीमा चार महिना एक ठाउँमा बस्न पाउँदैनन् अनुसन्धान अधिकृत ।
जिल्ला, क्षेत्र र केन्द्रमा चारै सुरक्षा निकायको संयुक्त अनुसन्धान र विश्लेषण गर्ने निकाय छ । जिल्लामा जिल्ला सुरक्षा समिति छ । प्रदेशमा प्रदेश समिति छ र केन्द्रमा कार्यकारी प्रमुखसहितको सुरक्षा परिषद् छ । तर सुरक्षा निकायमा सूचना संकलन गर्ने तरिका जति कमजोर छ त्यति नै समन्वय अभाव छ । पूर्वएआइजी राजेन्द्रसिंह भण्डारी भन्छन्, 'नेपालमा गुप्तचरी निकाय त छ तर बेकम्माको छ । चारै निकायका सूचना संकलन गर्ने निकाय राजनीतिक दुष्चक्रमा परेका छन् ।'
विकसित मुलुकमा सुरक्षा व्यवस्था मजबुत हुनुमा गुप्तचरी निकाय सक्षम भएर नै हो । राज्यले गुप्तचरी निकायलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराएको हुन्छ । भारतको रअ र अमेरिकाको सिइआएको बलियो पक्ष भनेको गोप्य सूचना संकलन नै हो । सिआइएले विभिन्न आवरणमा संसारभर जासुसी फैलाएको हुन्छ तर त्यसको पत्तो कसैलाई पनि हुँदैन ।
पूर्वएआईजी भण्डारी भन्छन्, 'नेपालको गुप्तचरी निकाय पद बाँड्ने निकाय बनेको छ । कोही एआइजी छन्, कोही आइजिपी छन् । कोहीलाई एसएसपी वा एसपी भनिएको छ । गुप्तचरी यस्तो हुँदैन । गुप्तचरीमा विशेष अनुभव भएका व्यक्ति परिचालन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, 'यस्तो जासुसी निकायलाई साधनस्रोत सम्पन्न बनाउनुपर्छ ।'
यस्तै महत्त्वपूर्ण सूचना संकलन गर्ने रणनीति र कार्यदिशासमेत स्पष्ट पार्नुपर्ने उनले बताए । गृह मन्त्रालयअन्तर्गतको अनुसन्धान विभाग पछिल्लो समय प्रधानमन्त्री मातहत राखिएको छ । भण्डारी भन्छन्, 'केही भिन्नता त आउनुपर्यो नि । यो निकाय त हिजोको भन्दा झन् कमजोर बनेका घटनाक्रमले देखाएको छैन।'
अनुसन्धान विभागमा रहेका पार्टीका कार्यकतासँग न त सूचना संकलन गर्ने अनुभव छ न क्षमता ।
नेपालमा जासुसी संयन्त्र प्रभावकारी र चुस्त बनाउनु आवश्यक छ । विगतमा केन्द्रमा रहेका अधिकार अहिले प्रदेश र स्थानीय तहमा पुगेका छन् । अधिकार प्रत्यायोजनसँगै प्रदेश र स्थानीय निकायलाई अधिकार सम्पन्न बनाइएको छ । तिनका आफ्नै स्वार्थ छन् । यस्तो अवस्थामा ती निकायमा भइरहेका गतिविधिको पूर्वसूचना केन्द्रले पाएन भने कुनै पनि बेला केन्द्र सरकारलाई अप्ठ्यारो पर्न सक्छ ।
आतंकवाद, प्रतिआतंकवाद र तिनले प्रयोग गर्ने प्रविधि विकसित मुलुकका लागि पनि टाउको दुःखाइ बनेको छ । त्यसैले नेपालका लागि थप चुनौतीपूर्ण हुने बताउँछिन् सुरक्षाविद इन्द्र अधिकारी । उनले भनिन्, 'हाम्रो देशबाट विमान अपरहण भएको छ । विदेशी सेना अपहरणमा परेका छन । नेता र उद्योगी आतंककारी समूहबाट मारिएका छन् । यस्तो अवस्थामा जासुसी संयन्त्रलाई चुस्त रुपमा परिचालन गर्न नसके अप्ठ्यारो पर्न सक्छ ।'
हाम्रो सुरक्षा सुचना संयन्त्र कति कमजोर छ भन्ने कुरा सोलुखुम्बुको छेस्काम घटनाले पनि पुष्टि गरेको छ। सुचना संयन्त्रबलियो भएको भए पहिले नै सम्भावित घटना विश्वसनिय सुचना प्राप्त हुन्थ्यो र त्यसको विश्लेषण गरेर सोहीअनुसारको तयारी हुन्थ्यो ।
तर, बतासे सुराकीको आधारमा प्रहरीले चौकी नै छाडेर हिड्ने अवस्था आउने थिएन । यसरी घटना नहुँदै चौकी नै छोडेर हिड्नु पर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण मात्रै होइन लाजमर्दो बनेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४