बिएचएम (होटल व्यवस्थापनमा स्नातक) सकाएका हरि पाण्डेसहित चार जना विद्यार्थी भविष्यको गन्तव्यबारे अन्योलमा थिए। योग्यता र क्षमताअनुसार जागिरको निश्चित थिएन। त्यसैले उनीहरू विदेश जाने कि यतै केही गर्ने भन्ने दोधारमा थिए। त्यही क्रममा उनीहरू उपत्यकाबाहिर निस्किए। ती युवक वीरगन्ज पुगे। त्यहाँ गएपछि उनीहरूबीच आफ्नो भविष्यबारे गहन छलफल भयो। तर के गर्ने भन्ने निष्कर्ष निस्कन सकेन।
वीरगन्ज भ्रमणकै क्रममा एक ठाउँमा उनीहरूले कटिया (माटाको भाँडामा पकाएको खसीको मासु) चाखे। उनीहरुलाई निकै मिठो मात्र लागेन, बिएचएमकै विद्यार्थी भएका कारण त्यसतर्फ आकर्षित भए। अनि यसलाई कसरी राजधानीमा व्यावसायिक रूप दिन सकिन्छ भनेर योजना बनाए। त्यसपछि उनीहरूले कटिया सिक्न थाले।
‘एक महिनासम्म रौतहटमा रहेर कटिया बनाउन सिक्यौं’, हरि पाण्डेले भने। उनले अहिले काठमाडौं डिल्लीबजारस्थित कालिकास्थानमा कटिया हाउस सञ्चालन गरिरहेका छन्। त्यहाँ खानाका धेरै पारखीहरू पुग्छन्। कटियाको आइडियाले नेपालमै रोजगारी सिर्जना गर्न सफल भएको पाण्डे बताउँछन्। उनले भने, ‘रौतहटको स्वाद काठमाडौँ ल्यायौं। अहिले यसप्रति धेरै मानिस आकर्षित छन्।’
माटाका भाँडामा पकाएर चिया व्यवसाय गरिरहेका अर्का व्यवसायी हुन् राजीव शाही। उनको भीमसेनगोलास्थित चिया घर मट्का चियाको ‘हब’ बनेको छ। उनको पसलमा दैनिक २ देखि ३ सय हाराहारीमा चिया पारखी आउँछन्। वीरगन्जमा प्रसिद्ध मट्का चिया अहिले काठमाडौँमा पनि पाइन थालेको छ। उनको पसलमा बिहान पाका व्यक्ति चिया खान पुग्छन् भने दिउँसो कलेजका विद्यार्थी बढी हुन्छन्। साँझमा भने कामबाट फर्केकाहरू बढी रहने शाहीले बताए।
चियाकै लागि अर्को गन्तव्य हो, थापागाउँस्थित अर्पण ब्याङ्केटसँगै रहेको मट्का चिया। यहाँ पनि माटोको कपमा चिया खानेको भीड लाग्छ। माटोको भाँडामा तताएको खानेकुराका लागि प्रसिद्ध अर्को रेस्टुराँ हो देवीनगरस्थित धाबीखोलातिरमा रहेको मटिया हाउस। यहाँको मटिया बिर्यानी निकै स्वादिलो मानिन्छ। यो रेस्टुराँ स्थापनाको चार महिनामै लोकप्रिय बनेको छ।
समस्या र चुनौती ?माटोका भाँडा एकपटक प्रयोगपछि फेरि गर्न मिल्दैन। त्यसैले माटाका भाँडा हरेक पटक नयाँ किन्नुपर्छ। अर्को कुरा माटाको भाँडामा खानेकुरा तताउन आगो नै चाहिन्छ। खाना तताउँदा तापक्रम नमिलेमा भाँडा फुट्ने सम्भावना हुन्छ। एउटा माटाका भाँडालाई कम्तीमा १० रुपैयाँ पर्छ। माटाको भाँडामा खाना पाक्न समय लाग्छ। त्यसैले कहिलेकाहीं ग्राहकले ढिला भयो भनेर गुनासो गर्ने व्यवसायी बताउँछन्। यस्तै माटोको भाँडामा खाना चाँडै सेलाउँछ। माटाका भाँडा प्रायः भक्तपुरमै बन्छन्। कटियाका हरि पाण्डेले भने कटियाका लागि भाँडा रौतहटबाटै ल्याउने गरेका छन्।
माटाको भाँडामा पकाउनु र खानु नेवारी संस्कृतिको मौलिकता हो। यसबाट माटाका भाँडा उद्यमीलाई केही राहत मिलेको छ। माटोसँग हाम्रो भावना जोडिएको हुनाले पनि माटोका भाँडासँगको निकटता बढेको हुनसक्ने मनोविद् गोपाल ढकाल बताउँछन्। माटाका भाँडाको प्रयोग ‘ब्याक टु नेचर अर्थात् प्रकृतितर्फ फर्क’ अभियान जस्तो पनि देखिन्छ।
यस कारण पनि अहिले निकै ठाउँमा फास्ट फुड, चिया र खाना माटोका भाँडामा बिक्री हुन थालेका छन्। स्वस्थ प्रतिस्पर्धा स्वस्थकर खानाको कायम गर्न सके यस्ता फास्टफुड र चिया पसल राम्रो चल्न सक्नेछ।