जनकपुरधाम - प्रदेश २ सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ। प्रदेश सरकारले १९ जेठमा प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ। १९ जेठमा बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ।
यसअघि चालु आर्थिक वर्षका लागि कृषिलाई पहिलो प्राथमिकतामा राखेको प्रदेश सरकारले आगामी आर्थिक वर्षमा समेत कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताइएको छ। गत वर्ष कृषि तथा सिँचाइलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले ‘हरेक खेत मे पानी, हरेक हाथ मे काम’ भन्ने नारा दिँदै नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो।
यसैगरी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ। नीति तथा कार्यक्रममा कृषि र शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्न आफूहरुले सुझाव दिएको नीति आयोगका अध्यक्ष डा.हरिवंश झाले जानकारी दिए।
कृषि र शिक्षाका साथै प्रदेशभित्र पर्यटन व्यवसाय, उद्योग कलकारखानाको स्थापना तथा लगानी भित्र्याउने वातावरणको निर्माण गर्ने विषय विशेष प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समावेश गरिने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४