काठमाडौं- विभागीय टोली त्रिभुवन आर्मीले तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णाली प्रदेशलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले लगातार तेस्रो जित निकालेको हो ।
आर्मीले दिएको २ सय ९१ रनको लक्ष्य पछ्याएको कर्णालीले ३५.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ७घ रन बनाउन सक्यो । कर्णालीका लागि सुशान्त थापाले सर्वाधिक ३१ रन जोडे । उनले ३५ बलमा ५ चौका प्रहार गर्दै ३१ रन जोडेका हुन् ।
त्यस्तै २८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ललित प्याकुरेलले अविजित २८ रन जोडे । ३३ बलमा ३ चौका सहित दिवान पुनले २६, युनिश सिंहले २०, रविन्द्र शाहीले १३ र दिनेश अधिकारीले ११ रन जोड्न बाहेका अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् । आर्मीका लागि सुशन भारीले ४ विकेट लिए । त्यस्तै साहब आलम र करण केसीले २-२ तथा हरी चौहान र कुसल मल्लले समान एक एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन जोडेको थियो । आर्मीको विशाल लक्ष्यका लागि राजु रिजाल, हरिकृष्ण झा र रोहित पौडेलले अर्धशतकीय पारी खेले । राजुले ७८ बलमा १० चौका प्रहार गर्दै ६६ रनको अर्धशतकीय पारी खेलेका हुन् । त्यस्तै रोहितले ५१ बलमा ४ चौकाको मद्दतमा ५६ रन जोड्दा हरिकृष्णले १०० बल खेल्दै ४ चौका सहित ५२ रनको योगदान दिए ।
करण केसीले २८, साहब आलम र लोकेन्द्र चन्दले १६-१६ तथा हरि चौहानले ११ रनको योगदान दिएका थिए । कर्णाली प्रदेशका लागि ललित प्याकुरेलले ५, रबिन्द्र शाहीले २ र प्रकाश जौशीले एक विकेट लिए । यस जितसँगै आर्मीले समूह ‘बी’ मा ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४