जनकपुरधाम – नेपाली सेनाका जवानलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सिरहाबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टीका मंगला भनिने मंगल साह रहेका प्रहरीले जनाएको छ।
सिरहाको बरियारपट्टी गाउँपालिका–४ तेनुवापट्टीमा एक महिने घर बिदामा आएका एक सैनिकलाई कुटपिट गरेको आरोपमा साहलाई पक्राउ गरिएको हो।
गाउँलेको कुटपिटबाट घाइते भएका छिमेकी गाउँ सोहपुरका २५ वर्षीय सैनिक जवान अनिशकुमार सिंहको जेठ २ गते काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
कुटपिटबाट मृत्यु भएपछि अनिशका बुबा नरेन्द्र सिंहले घरबाट अपहरण गरी आफ्नो छोराको हत्या गरिएको भन्दै २५ जनाभन्दा बढीमाथि किटानी जाहेरी दिएका थिए।
तेनुवापट्टीका विलेक्षण यादवको घरमा चोरी गरेको आरोप लगाउँदै स्थानीयहरुले बिजुलीको पोलमा हातखुट्टा बाँधेर अनिशलाई निर्घात कुटपिट गरेका थिए। विलेक्षण यादव घरमा ताल्चा लगाएर फरार रहेको प्रहरीले जनाएको छ। सैनिक जवान अनिशको मृत्यु भएलगत्तै गाउँका अधिकांश युवा तथा पुरुषहरु फरार भएका छन्।
यता तेनुवापट्टीका स्थानीयले भने अनिशसहितका युवा चोरी गर्न आएको भन्दै कुटपिट गरी इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए। घटनाका फरार अन्य अभियुक्तहरुको खोजी भइरहेको सिरहाका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४