शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भारतीय कम्पनीसँग प्राधिकरणले तोड्यो प्रसारण लाइनको ठेक्का

भारतीय कम्पनीसँग प्राधिकरणले तोड्यो प्रसारण लाइनको ठेक्का

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - नेपाल विद्युत प्राधिकरणले हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गत हेटौंडा–भरतपुर खण्डको ठेक्का तोडेको छ। कामको प्रगति सन्तोषजक नभएपछि प्राधिकरणले भारतीय कम्पनी आईकम टेलसँग ठेक्का केही दिनअघि तोडेको हो।
   
कम्पनीले कार्यसम्पादन जमानत वापत राखेको ३० लाख ५७ हजार अमेरिकी डलर पनि जफत गरिएको छ। यसैगरी प्राधिकरणले काम ढिला गरे वापत करिब १६ लाख डलर बिलम्व जरिवाना पनि लगाउने निर्णय गरेको छ।
  
प्राधिकरणले यस अघि आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट खण्डको सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी) सँगको ठेक्का तोडेको थियो। प्राधिकरणको सिफारिसमा केही दिनअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सिसिपिजी कालोसूचीमा राख्ने निर्णय गरिसकेको छ।
 
ठेक्का तोडेपछि कार्यकारी निर्देशक घिसिङ, दातृ निकाय विश्व बैंकका नेपाल कार्यालयका देशीय प्रवन्धक फारिस हढाढ जर्भोस सहितको टोलीले आइतबार र सोमबार मकवानपुरको हेटौडामा पर्ने आयोजना निर्माणस्थलको निरीक्षण गरेका छन्।
 
कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीले निर्माण कार्य ठप्प पारी ठेक्का सम्झौताको उल्लघंन गरेकाले ठेक्का तोडिएको जानकारी दिए।‘साइटमा काम गर्न कुनै समस्या छैन, काममा सुधार गर्न पटक पटक निर्देशन दियौं, तर ठेकेदार कम्पनीले हामीले दिएको निर्देशन पालना नगर्ने, गल्ती नसुधार्ने, निर्माणस्थल छोडेर कामलाई अलपत्र पार्ने, हामीले गरेको पत्रचारको कुनै जवाफ नदिने लगायतका क्रियाकलाप गरी सम्झौता उल्लघंन गर्यो, कम्पनीको काम सुरुबाटै सन्तोषजनक थिएन, त्यसैले  ठेक्का तोडिएको हो’, घिसिङले भने। नयाँ ठेक्कापट्टको प्रक्रिया अन्तिम चरणमा रहेको र छिट्टै टेण्डर आह्वान गरिने घिसिङले बताए।

प्राधिकरण र कम्पनीबीच ७४ किलोमिटर हेटौडा–भरतपुर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका लागि ०६५ को फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र १९ करोड ७३ लाख १५ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। यस खण्डमा पर्ने २२६ टावरमध्ये १६८ को जग हालिएको छ भने ११९ वटा खडा गरिएको छ। १२ किलोमिटर मात्रै तार तानिएको छ।
 
आयोजना अन्तर्गतको भरतपुर–बर्दघाट निर्माणका लागि नयाँ टेण्डर गरी चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो। यो खण्डमा पर्ने २४६ टावरमध्ये १३७ को जग हालिएको, १०१ खडा गरिएको छ। तार भने तानिएको छैन। निर्माण २०७६ को माघभित्रमा सक्ने लक्ष्य राखिएको छ।
 
कार्यकारी निर्देशक घिसिङले ठेकेदार कम्पनीका आयोजना प्रमुखसँग छलफल गरी तोकिएकै समयमा काम सम्पन्न गर्न निर्देशन दिए। प्राधिकरणकातर्फबाट गर्नुपर्ने रुख कटान तथा निजी जग्गा प्राप्तिको समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै उनले महत्वपूर्ण यस आयोजनाको कामलाई तिब्रता दिन श्रमिकको संख्या थप्न निर्देशन दिए।
 
नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण गर्न लागिएको हो। नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैकको सहुलितपूर्ण कर्जामा आयोजनाको निर्माण भइरहेको छ। 

सबस्टेसनको निरीक्षण

कार्यकारी निर्देशक घिसिङ, दातृ निकाय विश्व बैकको टोलीले हेटौडामा निर्माणाधीन सबस्टेसनको निर्माण प्रगतिको निरीक्षण गरेको छ। हेटौडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजना अन्तर्गत हेटौडा, भरतपुर र बर्दघाटमा १३२ केभी सबस्टेसनको निर्माण भइरहेको छ।
 
चिनियाँ ठेकेदार कम्पनी जोन्डिङ इन्टरनेशनलको लापरबाही र कमजोर कार्यसम्पादनका कारण आयोजना रुग्ण बनेको छ। कुलेखानी तेस्रोमाजस्तै चिनियाँ कम्पनीको नेपाली साझेदार हुलास इन्जिनियरिङका कारण सबस्टेसन निर्माण रुग्ण बनेको हो। तीन वटै सबस्टेसन निर्माणको समग्र प्रगति ९३ प्रतिशत छ।
 
हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौडामा २२० र  ४०० केभी सबस्टेसनको पनि निर्माण भइरहेको छ। प्राधिकरणले हैटौडा, ढल्केबर र इनरुवामा २२० केभी सबस्टेसन निर्माणको ठेक्का पाएको सिसिपिजीसँगको ठेक्का तोडी नयाँ ठेकेदार नियुक्त गरेको छ। ढल्केबरमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ। हेटौडा र इनरुवामा सबस्टेसन निर्माणको जिम्मा भारतीय कम्पनीसँग ठेक्का सम्झौता भएको छ। कम्पनीले काम सुरु गरिसकेको छ। हेटौडा, ढल्केबर र इनरुवमा ४०० केभी सबस्टेसन पनि निर्माणाधीन छ। 

प्रसारण लाइन र सबस्टेसनको निर्माण सम्पन्न भएपछि पूर्व पश्चिमको विद्युत् प्रवाह सहज बनाउने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।