काठमाडौं- नेत्रविक्रम चन्द विप्लव समूहले गरेको नेपाल बन्दसँगै ठाउँ ठाउँमा बम भेटिएपछि स्थानीय त्रसित बनेका छन् ।
बन्दले देशका अधिकांश ठाउँको जनजीवन प्रभावित भएको छ । सवारी साधन अत्यन्त कम चलेका छन् भने बजार र कलकारखाना खुल्न सकेका छैनन् । स्कूल र कलेजहरु ठप्प छन् । ठाउँ ठाउँमा बम भेटिएपछि बन्दको प्रभाव अझै बढि देखिएको छ ।
काठमाडौंमा आइतबार भएको शृंखलावद्ध बम विस्फोटमा परेर ४ जनाको मृत्यु भएपछि राजधानीबासी त्रसित छन् भने ठाउँ ठाउँमा भेटिएको बमले अझै बढि त्रास बढाएको छ । सोमबार बिहानै पनि राजधानीका विभिन्न स्थानमा बम फेला परेको छ । ललितपुरको सातदोबाटो, भैसेपाटी र हात्तीबनमा बम फेला परेको हो । बम सेनाको टोलीले डिस्पोज गरेको छ ।
यस्तै भक्तपुरको च्यामासिंहस्थित मालपोत कार्यालय नजिकै बम भेटिएको छ । बिहान करिब पौने तीन बजे प्रहरीको मोबाइल गस्ती टोलीले सेतो झोलामा फेला पारेको उक्त बमलाई सेनाले निस्किृय पारेको छ ।
त्यसैगरि पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेंशी पुलमा पनि बम भेटिएको छ । आइतबार राति साढे १ बजेतिर फेला परेको विष्फोटक पदार्थलाई नेपाली सेनाको टोलीले झण्डै चार घण्टापछि निष्कृय पारेको छ ।
मकवानपुरको हेटौडाका दुई स्थानमा बम भेटिएको छ । वुद्ध चोक र पशुपति चोकमा बम फेला परेको हो । बमलाई सेनाको डिस्पोजल टोलीले निष्कृय पारेको छ । त्यस्तै महोत्तरीको बर्दिवास नगरपालिकाको मूल गेटमा बम भेटिएको छ । यो बमलाई पनि सेनाको टोलीले निष्कृय पारेको छ ।
यस्तै अर्घाखाँचीको सन्धिखर्कका दुई स्थानमा पनि बम भेटिएको छ । सन्धिखर्कस्थित अर्घाखाँची आवसीय मावि र बागीखोलामा बम भेटिएको हो ।
सन्धिखर्क–२ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविको तारबारको पिलरमा झुण्डाइएको अवस्थामा बम भेटिएको थियो । दुबै स्थानको बम सेनाले निष्कृय पारेको छ।
यस्तै पोखराको विभिन्न तीन ठाउँमा आज बिहान शङ्कास्पद वस्तु भेटिएका छन् । सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका शङ्कास्पद वस्तु भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङका अनुसार ती शङ्कास्पद वस्तुलाई सुरक्षाकर्मीले डिस्पोज गरेको छ ।
यस्तै बैतडी दार्चुला सडकको दोगडाकेदार ३ भिटामोडमा शकांस्पद बस्तु भेटिएको छ । यस्तै बाग्लुङ, मोरङलगायतका विभिन्न स्थानमा पनि शंकास्पद बस्तु फेला परेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४