शुक्रबार, वैशाख १४, २०८१

नरेन्द्र मोदीको मायावी आँधीको अर्थ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
भारतीय लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी र उसको गठबन्धनले झन्डै दुई तिहाइ सिटको बराबर संख्यामा विजय हासिल गरेको छ। कुल ५ सय ४२ सिट संख्या रहेको भारतीय संसद्को तल्लो सदन लोकसभामा भारतीय जनता पार्टी र उसको गठबन्धनले कुल ३ सय ५२ सिट जितेको छ। यो संख्या दुई तिहाइ बहुमतका लागि जम्मा ९ सिटको कमी हो। यसभन्दा अघिल्लो सन् २०१४ को निर्वाचनमा भाजपा गठबन्धनले ३ सय ३६ सिट प्राप्त गरेको थियो। भाजपा गठबन्धनले दुई तिहाइ बहुमत प्राप्त नगरे पनि भाजपा एक्लैको सिट संख्याले सरकार बनाउन स्पष्ट बहुमत प्राप्त गरेको छ।

भारतीय इतिहासमा सन् १९६७ मा भएको लोकसभा निर्वाचनमा इन्दिरा गान्धीको नेतृत्वमा कांग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको थियो। र, सन् १९७१ मा भएको अर्को निर्वाचनमा समेत कांग्रेसले पुनः बहुमत प्राप्त गर्‍यो। यसरी करिब ४८ वर्षपछि लगातार दुई कार्यकालसम्म एउटै पार्टीले बहुमत प्राप्त गरेको हो। त्यसैले नरेन्द्र मोदीको मायावी विजयको आँधीलाई भारतमा गम्भीरतापूर्वक हेरिएको छ। भारतीय लोकतन्त्र, धर्म निरपेक्षता तथा विदेश सम्बन्धलाई भारतमा मोदीको आँधीमय विजयको बन्धनभित्र पर्न सक्ने आँकलन गरिँदैछ। र, त्यसका कूटनीतिक र राजनीतिक बाछिटाको प्रभाव नेपालमा पनि पर्न सक्ने अनुमान गरिएको छ।

भारतीय लोकतन्त्रको इतिहास लामो मात्र छैन, राजनीतिक स्थिरताको कोणबाट पनि बलियो छ। सन् १९४७ मा बृटिस उपनिवेशबाट स्वतन्त्र भएको भारतले बेलायतको जस्तै संसदीय व्यवस्था अपनायो। तर त्यतिबेला भारतीय समाज, अर्थव्यवस्था र संस्कृतिले संसदीय व्यवस्थाको निरन्तरतालाई धान्न नसक्ने आशंका व्याप्त थिए। भारतले संविधानसभाका माध्यमबाट नयाँ संविधान निर्माण गर्‍यो। ‘वेस्टमिन्स्टर सिस्टम’ मा आधारित संसदीय व्यवस्थालाई विधिवत् रुपमा संस्थागत पनि गर्‍यो। लोकतन्त्र संस्थागत गर्ने लोकतान्त्रिक संस्थाहरुले हो। त्यसकारण भारतले शक्ति पृथकीकरणमा आधारित लोकतन्त्रको अभ्यासलाई वलियो बनायो।

नागरिक स्वतन्त्रता, सामाजिक न्याय र भुइँ तहका जनतामा आधारभूत आवश्यकताको प्रत्याभूतिका हिसाबले भारतीय लोकतन्त्र अहिले पनि निकै कमजोर मानिन्छ। तर व्यवस्थाको स्थायित्व र संस्थागत विकासका हिसाबले भने भारतीय लोकतन्त्रको इतिहास बलियो र समृद्ध छ। विगत निर्वाचनमा भाजपाको राजनीतिक विजय र नरेन्द्र मोदीको केन्द्रीय राजनीतिमा स्थापित वर्चस्वलाई भारतीय लोकतन्त्रको मार्गचित्रमा आएको दक्षिणपन्थी वहकावका रुपमा विश्लेषण गरिएको थियो। त्यतिबेला भारतीय लोकतन्त्रको विकासमा मोदीको उदयलाई ‘विकासको प्रेममा लोकतन्त्रको आहूति’ का रुपमा समेत टिप्पणी भए।

निकै लामो समय गुजरातमा मुख्यमन्त्री रहेका नरेन्द्र मोदीले त्यहींबाट विकासप्रेमी नेताको छवि निर्माण गरे। उनको विकासवादी छवि लोकतान्त्रिक उदारवादमा भन्दा बढी प्राधिकारवादमा आधारित विकास मोडेल थियो। जसलाई भारतीय जनताले मन पराए। चीनको कम्युनिस्ट व्यवस्थाले गरेको आर्थिक प्रगतिलाई हेरेर दक्षिण एसियामा लोकतान्त्रिक विकास मोडेल असफल भएको आँकलन गर्ने पनि धेरै छन्। त्यसकारण भारतको विकासका लागि प्राधिकारवादी विकास मोडेल आवश्यक छ र त्यसको नेतृत्व मोदीले गर्न सक्छन् भन्ने विश्वासमा भारतीय नागरिकले मोदीलाई अझ बढी प्राधिकारको प्रयोग गर्न सक्ने ठाउँमा पुर्‍याइदिएका छन्। यसबाट भारतीय विकास र लोकतन्त्र दुवै खतरामा परेको अनुमान गर्ने भारतीय बौद्धिक जगत् पनि सानो छैन।

अत्यधिक आर्थिक प्रगति गरेका एसियाली राष्ट्रहरु दक्षिण कोरिया, सिंगापुर, मलेसिया, भियतनाम, कम्बोडिया आदिको प्रगतिबाट पनि भारतीय लोकतन्त्रको दक्षिणावर्त ‘सिफ्ट’ देखिएको हो। तर भारतीय लोकतन्त्रको संस्थागत विकासको इतिहासलाई गहिरोसँग केलाउने हो भने भारतीय विकासको मोदी रणनीति दीर्घकालीन रुपमा अगाडि बढ्ने देखिन्न। एकातिर, लोकतन्त्रको संकुचित घेराभित्र भारतीय समाज लामो समय खुम्चिएर बस्ने आधार कमजोर छन्। अर्कोतिर, भारतजस्तो विशाल विविधता रहेको मुलुकमा हिन्दुत्वले सधैंभरि एकतामा बाँधेर राख्न कठिन छ। विगतमा भाजपालाई धार्मिक असहिष्णुताका लागि आलोचना हुँदै आएको थियो। भारतीय संविधान, धार्मिक विविधता र सामाजिक विविधताका कोणबाट तात्कालिक रूपमा निर्वाचन जित्न सहयोगी सिद्ध भएको भए पनि दीर्घकालीन रुपमा हिन्दुत्वको नाराले भारतीय समाजलाई एकतामा बाँध्न कठिन मात्र होइन, असम्भव नै हुनेछ।

दक्षिण एसियाली राष्ट्रहरुमा भारतीय विदेश नीतिको व्यापक आलोचना हुँदै आएको छ। मोदीको पुनरागमनले विदेश नीतिको सन्दर्भमा समेत उग्र राष्ट्रवादी सोच राख्ने अनुमान छ। पाकिस्तान, श्रीलंका, नेपाल आदि राष्ट्रहरुले मोदीको पहिलो कार्यकालबाट कुनै न कुनै समस्या बेहोरिसकेका छन्। पाकिस्तानको त के कुरा भयो र ? सदीयौंदेखि उनीहरुको सम्बन्ध तिक्ततापूर्ण छ। नेपालले समेत मोदीको कार्यकालमा नाकाबन्दीको सामना गरिसकेको छ। मोदीको दोस्रो कार्यकालमा पनि नेपाल–भारत सम्बन्धमा कुनै सकारात्मक सुधारको संकेत देखिएको छैन। यहाँसम्म कि भारत र नेपालबीच हुने द्विपक्षीय सम्बन्धबारे छलफल गर्न गठित नेपाल–भारत ‘प्रबुद्ध व्यक्ति समूह’ को संयुक्त प्रतिवेदन बुझ्न समेत भारतीय पक्षले समय उपलब्ध गराएको छैन। यसबाट नेपाल–भारत सम्बन्धको वर्तमान स्थिति बुझ्न सकिन्छ। नेपाल–भारत सम्बन्धको आयामबाट मोदीको पुनरागमनबाट उत्साहित हुने अवस्था देखिन्न।

नरेन्द्र मोदीको दोस्रो विजयको एउटा महत्त्वपूर्ण पक्षमा भने खासै बहस भएको देखिन्न। त्यो हो, लामो समयदेखि भारतीय हिन्दु धर्मालवम्बीको हीनताबोधलाई मोदीले पुनर्ताजगी प्रदान गरेका छन्। भारतीय समाजको हिन्दुले आफ्नो सामाजिक प्रभुत्व गुमेको महसुस गर्दै निकै हीनताबोध सामना गरेको थियो। उक्त हीनताबोधलाई ‘चायवाला’ र ‘चौकीदार ’को संकथन निर्माण गरेर मोदीको ‘हिन्दु–हेजेमोनी’ को महत्त्वाकांक्षालाई निकै माथि उठाइदिएका छन्। उनको दिग्विजयको केन्द्रमा यही आफूलाई अपहेलित ठानेको हिन्दु समाजको मनोविज्ञान रह्यो। भारतीय लोकतन्त्रको आलोकमा यो मनोविज्ञानको आयु भने धेरै लामो नदेखिएला। किनकि आमनागरिकमा विकासको प्रत्याभूति समावेशी र सहभागिताले प्रदान गर्छ। भाजपा र मोदीको अनुदारवादी सोचले ढिलोचाँडो अन्तरविरोधको सामना गर्नुपर्ने निश्चित छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।