नयाँदिल्ली- भारतको गुजरात राज्यको सुरतस्थित एक सपिङ कम्पलेक्समा आगलागी हुँदा १९ विद्यार्थीको मृत्यु भएको छ ।
शुक्रबार अपराह्न सपिङ कम्पलेक्समा सञ्चालित कोचिङ सेन्टरबाट सुरु भएको आगोमा परि त्यहा पढिराखेका १९ विद्यार्थीको मृत्यु भएको हो । भवनको दोस्रो तलामा रहेको कोचिङ सेन्टरमा अचानक आगो सल्किएपछि विद्यार्थीहरुबीच भागाभाग मच्चिएको थियो । तीन तले भवनको छतसमेत आगोको लप्काले ढाकेपछि विद्यार्थी र भवनका अन्य मानिस झ्यालबाट हाम्फालेका थिए ।
आगाको मुस्लो र धुवाँबाट निस्सासिनबाट बच्न भुइँमा हाम्फालेका विद्यार्थीमध्ये १० को मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । आगलागीको कारण अझै खुल्न सकेको छैन् ।
घटनाप्रति दुःख प्रकट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले घाइतेलाई तत्काल सबै आवश्यक सहयोग उपलब्ध गराउन पनि गुजरात सरकार र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । गुजरातका मुख्यमन्त्री विजय रुपानीले घटनाको छानबिन आदेश दिँदै प्रत्येक मृतकका परिवारलाई ४ लाख भारु दिने घोषणा गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४