काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ। सहमति कार्यान्व्यनका लागि नेकपा एमालेले मंगलबारका लागि स्थायी कमिटीको बैठक बोलाएको छ।
सहमति कार्यान्वयनमा जाने भएसँगै एमालेमा लामो समय माधवकुमार नेपालसँग रहेका, तर उनको नेतृत्वको नयाँ दलमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेताहरु एमालेमै बस्ने संकेत गरेका छन्। मंगलबार भोलिका लागि बोलाइएको बैठकमा माधवकुमार नेपाल समूहसँग गएका नेताहरु पनि सहभागी हुने प्रवक्ता प्रदीप ज्ञवालीले बताए। उनका अनुसार बैठक बिहान ११ बजे बस्नेछ।
बैठकमा अध्यक्ष ओलीले पार्टी एकताका लागि विगतमा कार्यदलमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्न र १४ जना सांसदमाथि गरिएको कारबाही फिर्ता लिन तयार रहेको बताएका थिए। एकतामा सामेल हुने सन्दर्भमा विगतका कमीकमजोरी सच्याउन पनि ओली तयार भएको छलफलमा सहभागी नेता योगेश भट्टराईले जानकारी दिए। भोलिको बैठका एमालेको केन्द्रदेखि वडा तहसम्मको कमिटी २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनको लागि कार्ययोजना प्रस्तुत हुने उनले जानकारी दिए।
अन्तिम समयमा माधव नेपालको साथ छाडेका एमालेका तेस्रो धारका नेताहरुले ओलीले सहमति कार्यान्वयन नगरे ठूलो विद्रोह हुने चेतावनी दिएका थिए। सोही चेतवनीपछि आज सोमबार उनीहरुले बालकोट पुगेर पार्टी अध्यक्ष ओलीसँग छलफल गरेका हुन्। उनीहरुले माधव नेपाल नेतृत्वको नयाँ पार्टीले आधिकारिकता पाउनु अघि नै १० बुँदे सहमति कार्यान्व्यन गर्न माग गरेका थिए।
उता नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्।
शीतल निवासमा झन्डै २ घण्टा भएको भेटमा पार्टी विभाजनको अवस्थामा कसरी पुग्यो भन्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ। शिलत निवास स्रोतका अनुसा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली समझदार नभएकै कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताएका थिए।
अध्यक्ष ओली स्वेच्छाचारी भएको र पार्टीमा एकलौटी हक जमाएर आफूहरुलाई अपमानित गरेको भन्दै नेता नेपालले भदौ २ गते एमाले फुटाएर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए। निर्वाचन आयोगले भदौ ९ गते सनाखत गराएर नेकपा एकीकृत समाजवादीको प्रमाणपत्र दिने तयारी गरेको छ।
एमालेबाट विभाजित भएको प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरू आवासीय भेलाका लागि चन्द्रागिरी रिसोर्ट पुगेका छन्। अध्यक्ष माधव कुमार नेपाल आफू पक्षिय केन्द्रीय सदस्य र सांसदहरु लिएर एकान्तवासका लागि चन्द्रागिरी रिसोर्ट पुगेका हुन्। बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू दायाँबायाँ नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको हो। रिसोर्टमा झन्डै सय जनाका लागि आज कोठा बुक गरिएको एक नेताले जानकारी दिए।
सोमबार ओली र तेस्रो धारका नेताहरूबीच पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोटमा सहमति भएको थियो। तेस्रो धारका नेताहरूले आफू पक्षकालाई प्रभावित पार्न सक्नेसमेत भएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँबायाँ हुन नदिन रिसोर्टमा पुर्याएका हुन्।
000
यता सत्तारुढ गठबन्धनले सभामुख अग्नीप्रसाद सापकोटाविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेको छ।
सत्तारुढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक, सचेतकहरुसहितको सोमबार सिंहदरबारमा बसेको बैठकले सभामुख सापकोटामाथि प्रमुख प्रतिपक्ष दलका नेता ओली र सोही दलका सांसदहरुले उहाँकै कार्यकक्षमा सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएको हो।
प्रमुख प्रतिपक्ष दलका नेता र सांसदहरुले सभामुखविरुद्ध दिएको धम्कीपूर्ण अभिव्यक्ति संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध भएकाले त्यसप्रति आपत्ति जनाउँदै संवैधानिक मर्यादाको ख्याल गर्न आग्रह गरिएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए।
बैठकपछि सत्तारुढ गठबन्धनले जारी गरेको संयुक्त वक्तव्यमा नेकपा (एमाले)का सांसदहरुले सभामुखको कार्यकक्षमा संसदीय मर्यादा विपरितका गतिविधि गरेको दावी गर्दै निन्दा र भत्सर्ना समेत गरिएको छ। नेकपा एमालेका सांसदहरुले गत भदौ ३ र ४ गते सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा पुगेर पार्टीको तर्फबाट कारबाही गरिएका माधव नेपालसहितका सांसदहरुलाई पदमुक्त गर्न ढिलाइ गरेको भन्दै आक्रोश ब्यक्त गरेका थिए।
000
यस्तै सत्तारुढ दल नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिन भित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले अबको केही दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने बताएका हुन्। सबै पार्टीहरुलाई मिलाएर सरकार बनाउनु पर्ने भएकाले मन्त्रिपरिषदले पूर्णता पाउन ढिलाई हुन गएको उनको स्पष्टिकरण थियो। सहमहामन्त्री महतले सरकारले जनताको आर्थिक र सामाजिक जीवनमा भएका अस्तव्यस्ततालाई ध्यानमा राखेर काम गर्ने योजना पनि सुनाए।
सहमहामन्त्री महतले नेपाली कांग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रुपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताए। साथै उनले पार्टी महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्नु नहुने समेत बताए। सहमहामन्त्री महतले आउँदो आम निर्वाचन महत्वपूर्ण भएकोले पार्टीको महाधिवेशनमा नलडी अगाडि बढ्नुपर्ने धारणा राखे।
000
लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन्। सोमबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेपछि भएको मतदानमा उनले बहुमत प्राप्त गर्दै विश्वासको मत प्राप्त गरेका हुन्। मुख्यमन्त्री केसीको पक्षमा ४२ सांसदले मत दिएका थिए। उनको विपक्षमा कसैले पनि मत दिएनन्। मतदानमा जम्मा ४३ थिए। तर एक जना तटस्थ बसेका थिए।
हाल प्रदेशसभामा ८० जना सांसद छन्। केसीको पक्षमा परेको ४२ मत कुल सांसद ८० को बहुमत भएकाले केसीले विश्वासको मत पाएको सभामुखले घोषणा गरेका छन्। विश्वासको मत कार्यक्रमलाई प्रमुख प्रतिपक्षी दल एमालेले भने बहिष्कार गरेको थियो। एमाले नेतृत्वको सरकार ढलेपछि केसी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
000
अफगानिस्तानबाट उद्धार गरेर ल्याइएका नेपाली नागरिकलाई त्रिभुवन विमानस्थलमा पोलियो खोप लगाइने भएको छ।
अफगानिस्तानबाट उद्धार गरिएका नागरिकलाई सोमबारदेखि पोलियो खोप लगाउने व्यवस्था मिलाइएको स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाले जनाएको छ। नेपालमा ५ वर्षमुनिको बालबालिकालाई मात्र पोलियो खोप लगाइने गरेकामा अफगानिस्तान पोलियोको जोखिम रहेको देश हुनाले त्यहाँबाट उद्धार गरिने सबै नागरिकलाई पोलियो खोप लगाउन लागिएको महाशाखाले जनाएको छ।
विद्रोही समूह तालिबानले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि नेपाल लगायत विभिन्न मुलुकका नागरिकहरु अहिले स्वदेश फर्किरहेका छन्। गृहमन्त्रालयका अनुसार गत भदौ १ गतेयता ५ सयभन्दा बढी नेपाली अफगानिस्तानबाट नेपाल फर्किएका छन्।
000
जिल्ला प्रहरी कार्यालय, रौतहटले निर्दोष व्यक्तिलाई लागूऔषधसहित पक्राउ गरिएको स्वीकारेको छ। तर यसमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाकै एक जना पदाधिकारीको पनि संलग्नता रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहका अनुसार नेपाल पत्रकार महासंघ, रौतहटका सह–सचिव सञ्जय शहनीद्वारा धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोजिबुल्लाह चढ्ने मोटरसाइकलमा लागूऔषध राख्न लगाएको पाइएको छ। उनको दाबीअनुसार त्यसपछि शहनीले प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज शाहलाई बोलाएर पक्राउ गर्न लगाएका थिए।
अनुसन्धानबाट फरक तथ्य खुलेपछि यादवद्वयलाई पक्राउ गरिएको शाहले बताए। उनका अनुसार गैरव्यवसायिक काम गर्ने दुई प्रहरीलाई निलम्बन गरिएको छ। रौतहट प्रहरीले ३२ साउनमा पत्रकार मोहम्मद मोजुबुल्लाहलाई लागूऔषध नाइट्राभेटसहित पक्राउ गरेको जनाएको थियो। हालै सार्वजनिक एक सीसी टीभी फुटेजमा लागूऔषध राखिदिएर पक्राउ गराइएको देखिएपछि अनुसन्धान थालिएको थियो।
000
नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ जना र २ हजार ६२२ एन्टिजेन परीक्षण गर्दा २५३ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै गत २४ घण्टामा देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ। सोमबार १ हजार ९२४ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३८ हजार ३५१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अब अन्तर्राष्ट्रिय समाचार
अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार नजिक गोली हानाहान भएको छ। भिडन्तमा एक अफगान सुरक्षाकर्मीको ज्यान गएको छ। अरु तीनजना घाइते भएका छन्। पहिचान नखुलिएका बन्दुकधारी र विमानस्थलको प्रवेशद्वारमा रहेका सुरक्षाकर्मीबिच सोमबार गोली हानाहान भएको जर्मन आर्मीका अधिकारीले बताएका छन्। गोली हानाहानमा अमेरिकी र जर्मन सुरक्षाकर्मी पनि सामेल भएका थिए।
गएको हप्ता (अगस्ट १५) मा तालिबानले काबुलमा नियन्त्रण कायम गरेसँगै विमानस्थल क्षेत्र अस्तव्यस्त देखिएको थियो। आइतबार केही व्यवस्थित देखिएको विमानस्थल आसपासको क्षेत्रमा सोमबार गोली हानाहान भएको हो। नेटोका आधिकारीले विमानस्थल आसपासको क्षेत्रमा गत हप्ताभरमा गोलीकाण्ड तथा भागदौडका कारण कम्तीमा २० जनाको ज्यान गएको समाचार संस्था रोयटर्सलाई बताएका थिए।