शुक्रबार, वैशाख ७, २०८१

सुरक्षामा चुनौती : जनकपुरसम्म कसरी भित्रियो हतियार ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - डकैती गर्न जनकपुर आएका आठ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका ६ जना भारत विहार समस्तीपुरका र दुईजना मधुबनी जिल्ला साहरघाटका हुन्।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित विहारकुण्डका महन्त नारायण शरणको निवासमा बुधबार राति डकैती गर्न पुगेका उनीहरुलाई प्रहरीले घेरा हाली पक्राउ गरेको हो। पक्राउ परेकामध्ये २० वर्षीय रवि मलिक डोम प्रहरीको गोली लागेर घाइते भएका छन्। खुट्टामा गोली लागेका मलिकको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरेर बिहीबार सार्वजनिक गरेको छ।

उनीहरुकै समूहमा रहेका मधुबनी सहरघाट बस्ने ३८ वर्षीय पप्पु भनिने सञ्जयकुमार सुमनलाई भाग्दै गरेको अवस्थामा महोत्तरीको मठिहानीबाट प्रहरीले बुधबार राति पक्राउ गर्‍यो। मठिहानी सीमा क्षेत्रमा पर्दछ भने पक्राउ परेका सञ्जयको गाउँ सहरघाट त्यहाँबाट केही किलोमिटरको दुरीमा छ। प्रहरीले थोरै पनि ढिला गरेको भए उनी सीमा कटेर जोगिन सफल हुन्थे।

डाँका समूहमा रहेका २० वर्षीय साहिल रजक, २४ वर्षीय अजितकुमार सिंह, २८ वर्षीय सुजितकुमार राय, ३० वर्षीय अमितकुमार सिंह, २० वर्षीय  अमितकुमार यादव र मधुबनी साहरघाटका ३२ वर्षीय रञ्जितकुमार भगतलाई प्रहरीले घेरा हाली तत्काल पक्राउ गरेको थियो।

आठजना भारतीय डाँका पक्राउ पर्नु प्रहरीको ठूलो सफलता रहेको धनुषाका एसपी शेखर खनालले दाबी गरे। महन्तको घरमा डाँका गर्ने उद्देश्यले जनकपुर छिरेका उनीहरुलाई घटनापूर्व पक्राउ गर्नु प्रहरीको सफलता रहेको उनको भनाइ छ। 

कसरी भित्रियो हतियार ?

डकैती गर्ने उद्देश्यले जनकपुर पुगेका उनीहरूको साथबाट प्रहरीले ठूलो परिमाणमा हतियार फेला पारेको छ। एसपी खनालका अनुसार उनीहरुको साथबाट मेड इन युएसए लेखिएको पेस्तोल १ थान, त्यसमा प्रयोग हुने म्यागजिन एक थान, पेस्तोलको गोली २ थान, खोका १ थान, गोली लोड भएको कटुवा पेस्तोल १ थान, कटुवा पेस्तोलको गोली १ थान, खुकुरी १ थानलगायतका हतियार फेला परेको थियो।

दुई मोटरसाइकल र एक स्कुटी चढेर भारतबाट जनकपुरसम्म पुगेका उनीहरुले यति परिमाणमा हतियार बोकेर भित्रिएको घटनाले शान्ति सुरक्षामाथि प्रश्नचिह्न खडा गरेको छ। भारतीय सीमा क्षेत्रबाट जनकपुरसम्म पुग्न कम्तीमा पनि १५/१६ किलोमिटर बाटो हिँड्नुपर्छ। यसबीचमा विभित्र स्थानमा प्रहरीको चेकजाँच टोली खटिएका हुन्छन्। सीमामै पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी चौबीसै घन्टा तैनाथ हुन्छन्। तर उनीहरुले समेत हतियार बोकेर नेपाल छिरेको किन सुइँको पाएनन् ? तीनवटा मोटरसाइकलमा हतियार बोकेर आएका उनीहरुलाई प्रहरीले बाटोमा समाउन नसक्नु सुरक्षा चुनौती बढाएको विश्लेषण हुन थालेको छ।

यद्यपि एसपी खनालले हतियार कसरी भित्रियो भन्नेबारे अनुसन्धान भइरहेको जानकारी दिए। ‘जनकपुरसम्म हतियार बोकेर उनीहरु कसरी पुगे, कुन नाकाबाट उनीहरु यहाँसम्म आइपुगेका हुन। यसबारे हामी अनुसन्धान गरिरहेका छौं,’ उनले भने।

डाँका पुग्नुअघि नै प्रहरी घटनास्थलमा

आठजनाको समूहमा रहेका उनीहरु बुधबार दिउँसो जनकपुर पुगेका थिए। जनकपुरधाम–४ महावीर चोकस्थित लवली होटलमा दिनभर बसेका उनीहरु राति करिब सवा ९ बजेतर्फ डकैती गर्न विहारकुण्ड मन्दिर पुगे। तर उनीहरु पुग्नुअगावै प्रहरी पुगेपछि डाँका हाल्ने योजना सफल हुन सकेन। 

‘डाँका पुग्नसाथ प्रहरीले घेरा हालेपछि उनीहरुमध्ये एकजनाले फायर खोल्यो। प्रहरीले जबाफी कारबाही गर्दा एकजनाको खुट्टामा गोली लाग्यो,’ एसपी खनाल भन्छन्, ‘त्यसपछि प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गर्न सफल भयो।’

उनीहरु बसेकै होटलमा किन पक्राउ नगरिएको प्रश्नको जबाफमा एसपी खनालले भने, ‘उनीहरु दिउँसै आएर होटलमा बसेका सूचना हामीले पाउन सकेनौं। तर राति डकैती गर्नु केहीबेरअघि हामीलाई सूचना आएको थियो। सोही सूचनाका आधारमा उनीहरु पुग्नुअगावै प्रहरी टोली घटनास्थल पुगेको थियो।’ एसपी खनालका अनुसार उनीहरु यसअघि पनि जनकपुर पुगेर त्यही होटलमा खाजा खाने गरेको अनुसन्धानबाट खुलेको छ।

स्थानीयको संलग्नता हुन सक्ने प्रहरी आशंका

यस घटनामा स्थानीयको समेत संलग्नता हुनसक्ने प्रहरीको आशंका छ। मन्दिरका महन्तसँग रहेको रुपैयाँ र गरगहनाबारे उनीहरुलाई कसले खबर गर्‍यो त्यसतर्फ समेत आफूहरु अनुसन्धान भइरहेको एसपी खनाल बताउँछन्। घटनामा स्थानीयको संलग्नता पाइए चाँडै सार्वजनिक गरिने उनले बताए। 

मन्दिरका महन्तले जग्गा बेचेको पैसा आफूसँग राखेको सूचनाका आधारमा उनीहरु डाँका हाल्न जनकपुरसम्म पुगेको बताइएको छ। पक्राउ परेकाहरु नेपालभित्र कुनै आपराधिक घटना नघटाएपनि भारतको विभित्र स्थानमा लुटपाट, डाँकाजस्ता घटनाहरुमा संलग्न रहेको पाइएको खनालले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।