ललितपुर – भुटानको फुन्चुलिङ नगरपालिकाका मेयर उत्तरकुमार राईसहितको प्रतिनिधिमण्डलले ललितपुर महानगरपालिकाको अवलोकन भ्रमण गरेको छ। मंगलबार मेयर उत्तरकुमार राईसहितको टोलीलाई कार्यवाहक मेयर गीता सत्यालले ललितपुर महानगरपालिकामा स्वागत गरिन्।
ललितपुर महानगरपालिकाको अवलोकन भ्रमणमा आएका फुन्चुलिङ नगरपालिकाका मेयर उत्तरकुमार राई सहितको प्रतिनिधि मण्डललाई विपद् व्यवस्थापनका सम्बन्धमा ललितपूर महानगगरपालिकाले हालसम्म गरेका कामहरु, अपनाएका नीति तथा योजनाहरुको वारेमा समेत जानकारी गराइएको थियो।
फुन्चुलिङ नगरपालिकाका मेयर उत्तरकुमार राईले ललितपुर महानगरपालिकामा आएर यो महानगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा गरेका कामहरुको बारेमा अवगत हुन पाउँदा खुसी लागेको बताए।
ललितपुर महानगरपालिकाका कार्यवाहक मेयर गीता सत्यालले यो अध्ययन तथा अवलोकन भ्रमणले दुई देश बीचको सामिप्तया बढेको बताइन्। उनले भनिन्, ‘तपाईहरुसंग भेटघाट गरेर, अनुभवहरुको आदानप्रदान गर्न पाउँदा अत्यन्तै खुसी लागेको छ।’ अनुभवहरुको आदानप्रदानले जनताको सेवामा थप बल पुग्ने बताउँदै कार्यवाहक मेयर सत्यालले भनिन्, ‘यो अवलोकन भ्रमणले हाम्रो आपसी सामिप्यतालाई थप मद्दत पुर्याउन बल मिलेको छ।’
कार्यवाहक मेयर सत्यालले ललितपुर महानगरापलिकाले विपद व्यवस्थापनका लागि हाल ५० लाखको कोष खडा गरेको र प्रत्येक वडाहरुमा समेत १/१ लाखको व्यवस्था गरेको बताइन्। कार्यवाहक मेयर सत्यालले यो कोषमा प्रत्येक वर्ष सोही बराबर रकम थप गर्दै कोष अभिबृद्धि गर्ने महानगरपालिकाको नीति रहेको पनि अवलोकन भ्रमणमा आएका फुन्चुलिङ नगरपालिकाका मेयर उत्तरकुमार राईसहितको टोलीलाई जानकारी गराइन्।
२०७२ सालको भूकम्पले क्षतविक्षत भएका ८० प्रतिशत सम्पदाहरुको पुनः र्निमाण सम्पन्न भएको र बाँकी २० प्रतिशत काम अबको तीन वर्षभित्रै सम्पन्न हुने पनि कार्यवाहक मेयर सत्यालले वताइन्।
अवलोकन भ्रमणमा आएका फुन्चुलिङ नगरपालिकाका मेयर उत्तरकुमार राईसहितको टोलीलाई स्वागत गर्दै ललितपुर महानगरपालिकाका कार्यकारी प्रमुख प्रेमप्रसाद भट्टराईले उस्तैउस्तै भूगोल भएका भुटान र नेपाल बीचको अध्ययन र अवलोकन र अनुभवहरुको आदानप्रदानले विपद व्यवस्थापनका सन्दर्भमा थप सहयोग पुग्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४