बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ठेकेदारको चरम लापरवाही : थपिएको म्यादमा समेत उठ्न सकेनन् पुलका पिलर 

ठेकेदारको चरम लापरवाही : थपिएको म्यादमा समेत उठ्न सकेनन् पुलका पिलर 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी – कञ्चनपुरको सीमामा निर्माणाधीन मोहना–राजघाट पुल थप गरिएको समयावधिमा पनि नबन्ने देखिएको छ।  

असार मसान्तमा म्याद सकिने यो पुलको अहिलेसम्म ढलानसमेत हुन सकेको छैन। म्याद सकिन करिब दुई महिना बाँकी रहँदा एक सय ७० मिटर लामो बन्ने तीन स्पान पुलको हालसम्म एक स्पानको काम पनि पूरा भएको छैन। 

‘अब समय नरहेकाले निर्माण कम्पनीले हर्जाना भरेर पनि काम गर्नुको विकल्प छैन’, सडक डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख अर्जुन बमले भने ‘जसरी पनि पुल निर्माण हुनुपर्छ।’ अब कुनै हालतमा म्याद थप नगरिने उनले उल्लेख गरे। 

आर्थिक वर्ष २०७०/०७१ मा ठेक्का पाएर एलाइट एडभेञ्चर जेभीले पुल निर्माणको काम थालेको थियो। तर, तीन वर्षको निर्माण अवधि पिलर ठड्याउने कार्यमामात्रै सकियो। आर्थिक वर्ष २०७२/०७३ को मसान्तसम्म रहेको समयावधि पिलर निर्माणमै सकिएपछि दुई वर्षको लागि पुनः म्याद थप गरिएको छ। थपिएको समयमा पनि पुल निर्माणको कार्यले आशलाग्दो गती लिन सकेन। निर्माण कम्पनीले अलमलमै समय गुजारेको छ। 

अब पनि पुल निर्माणको कार्यले गती नलिए प्राविधिक रुपमा खतरा हुन सक्ने सडक डिभिजन कार्यालयको ठहर छ। उक्त कार्यालयका इञ्जिनीयर महेन्द्रराज पन्तका अनुसार ‘प्रि स्टेज ब्रिज’ मा केबुल हालेरमात्रै ढलान गर्नु पर्दछ। ढलान गरेको २८ दिनपछि केबुल तान्नु पर्दछ। केबुल तान्न सकिएन भने संरचना नै भत्किने सम्भावना प्रबल हुन्छ।  

‘असारमा नदी बढेमा केबुल तान्नमा ढिलाइ हुने र निम्तिन सक्ने दुर्घटनाका बारेमा हामीले निर्माण कम्पनीलाई पटक–पटक सतर्क गराएका छौं’, डिभिजन प्रमुख बमले भने, ‘त्यसैले, चाँडै ढलान गर भनेर भन्दै आएका छौं।’ भोली गएर पुल भत्किएमा त्यसको सम्पूर्ण जिम्मेवारी ठेकेदारले लिनुपर्ने सडक डिभिजन कार्यालयले जनाएको छ। ‘यसको बारेमा मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराइसकेका छौं’, बमले भने, ‘निर्माण कम्पनीलाई पनि लिखित पत्र पठाउने तयारी गरेका छौं।’ 

एकातिर पुल निर्माणको म्याद सकिँदै छ भने अर्कोेतिर वर्षातको सिजन नजिक आउँदैछ। म्याद कुनै पनि हालतमा थप नहुने भएकाले मनसुन सुरु हुनु अगावै काम गर्नु पर्ने दबाब बढेको छ। यसैगरी, ढलान गर्दा राखिएको केबुल पनि समयमै तान्नु पर्नेछ। ‘अब रातदिन काम गरेरमात्रै पुल बनाउन सकिने हामीसँग एकमात्र विकल्प छ’, पुल निर्माण कम्पनीका इञ्जिनीयर दिनेश बटालाले भने, ‘तर, त्यसरी काम गर्नका लागि पनि थुप्रै समस्या छन्।’
 
उनले योजनाअनुसार काम नभएको, काम गर्ने व्यक्ति नमिलेको, पैसा अभाव जस्ता समस्या दर्शाए। जसरी भए पनि एक स्पानको काम असार मसान्तभित्र सक्ने जमर्को गरिने उनले बताए। सडक डिभिजन कार्यालयले भने तोकिएको समयावधिमा एउटा स्पानमात्र नभइ पुल नै बन्नु पर्ने जोड दिदैं आएको छ। काम नगरी ठेकेदार कम्पनी भागेमा कानून अनुसार कारबाही गरिने डिभिजन प्रमुख बमले चेतावनी दिए। ‘हर्जाना लगाएर पनि निर्माण कम्पनीलाई काम गराउँछौं’, उनले अगाडि थपे, ‘काम छोडेर भागेमा कानूनी कारबाही हुन्छ।’

आठ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त पुलको हालसम्म ६५ प्रतिशत काम पूरा भएको निर्माण कम्पनीको दाबी छ। ६ वर्षसम्म पुल नबन्दा स्थानीय निराश छन्। नदीमा पुल नहुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिकाका स्थानीयलाई धनगढीसम्म आउजाउ गर्नका लागि समस्या छ। दिनहुँ धनगढीसम्म आउने स्थानीयले थुप्रै समस्या खेप्नु परेको सुनाउने गरेका छन्। ६ वर्षदेखि पुल नबन्दा दैनिक ओहोर दोहोर गर्ने आफूहरु निराश बन्ने गरेको राजघाटका स्थानीय राजकुमार चौधरी बताउँछन्। ‘यो पुल बन्न थालेपछि सहज हुने भन्दै हामी निकै खुशी थियौं’, उनले भने, ‘तर, समयमा नबन्दा दुःखी भएका छौं ।’ 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।