जनकपुरधाम – जनकपुरसहित पछिल्लो केहि दिनयता तापक्रम बढेपछि जनीवन कष्टकर बनेको छ। अत्याधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कार्यालयमा कामकाजसमेत प्रभावित हुन थालेको छ।
वायुमण्डलीय तापक्रम बढी रहँदा शुक्रबार जनकपुरमा यस वर्षकै सबैभन्दा बढी ४० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ। जनकपुर विमानस्थलस्थित जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयले दिएको जानकारीअनुसार अहिलेसम्म यस वर्षको सबैभन्दा बढी उच्च तापक्रम शुक्रबार मापन गरिएको हो।
कार्यालयका अनुसार शनिबारको अधिकतम तापक्रम ३९.५ डिग्री सेल्सियस मापन गरिएको छ। गत वर्ष अषाढ महिनामा सबैभन्दा बढी ३९.२ डिग्री सेल्सियस तापकक्रम मापन गरिएको थियो। गत वर्षको तुलनामा जेठ महिनामै तापक्रम बढ्न थालेपछि यस पटक गर्मी बढी हुनसक्ने अनुमान गरिएको छ।
चर्को गर्मीका कारण बजार सुनसान छ, सडकमा हिँडडुल गर्ने कमै देखिएका छन्। गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुस, लस्सीको व्यापार बढेको छ। मध्यान्ह र अपरान्ह सरकारी कार्यालयसहित बजारमा सर्वसधारणको उपस्थिति पातलिएको छ। गर्मी छल्न पेयपदार्थ पिउनेसँगै सर्वसाधारणले अन्य उपाय अपनाउँदै आएका छन्।
गर्मीको मार सबै भन्दा बढी विद्यालय जाने बालबालिका माथि परेको छ। पछिल्लो केहिदिनयता तापक्रम निरन्तर बढ्दै गएपछि बालबालिकाहरुलाई विद्यालय पुग्न समस्या भोग्नु परेको छ। अत्याधिक गर्मीका कारण बालबालिकाहरु बिरामीसमेत पर्न थालेका छन्। विद्यालयहरुमा भौतिक पूर्वाधारको कमी र अत्याधिक गर्मीले बालबालिकाहरु ठुलो मारमा परेका छन्।
अत्यधिक गर्मी छल्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्ने गरेका छन्। यद्यपि विद्यालयबाट फर्किने समय मध्यान्ह पर्दा गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ।
छाला ढाक्ने कपडा लगाउन, घाममा हिँड्दा नियमित अन्तरालमा बसेर शीतल पानीले हात मुख धुने जस्ता सुझाव चिकित्सकको छ। उनीहरु पानी बढी पिउने, सक्दो प्राकृतिक हावा अथवा छहारीमा बस्ने, घाममा निस्कँदा छाता लगाएर निस्किन सुझाउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४