जनकपुरधाम – पत्रकारहरुले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरभित्र विरोध प्रदर्शन गरेका छन्। प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी संघीय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक र प्रदेश सरकारले ल्याएको प्रदेश सञ्चार विधेयकविरुद्ध पत्रकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरभित्र विरोध प्रदर्शन गरेका हुन्।
संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेपनि त्यसको बर्खिलाप हुने गरी संघीय सरकार र प्रदेश सरकारले विधेयक ल्याएको भन्दै सञ्चारकर्मीले सञ्चार उपकरणसहित प्रदर्शन गरेका छन्। विधेयकविरुद्ध आन्दोलनमा होमिएका सञ्चारकर्मीले क्यामेरा, ल्यापटप, कलमलगायतका सञ्चार उपकरणसहित प्रदर्शन गरेका हुन्।
संघीय सरकारले पत्रकारलाई १० लाखसम्म जरिवाना र १५ वर्षसम्म जेल हुनेगरी प्रतिनिधिसभामा दर्ता गराएको मिडिया काउन्सिलविरुद्ध नेपाल पत्रकार महासंघले आन्दोलनको घोषणा गरेको छ। महासंघको केन्द्रीय समितिले शुक्रबार सञ्चार उपकरणसहित विधेयकविरुद्ध प्रदर्शन गर्न आह्वान गरेको छ।
जनकपुरका साथै प्रदेश २ का सञ्चारकर्मीहरुले आ–आफ्नो जिल्लास्थित सदरमुकाममा सञ्चार उपकरणसहित प्रदर्शन गरेका छन्। सिरहा, सप्तरी, बारा, पर्सा, महोत्तरी, सर्लाही, रौतहटलगायतका जिल्लाहरुमा सञ्चारकर्मीहरुले विधेयविरुद्ध प्रदर्शन गरेका छन्।
पत्रकारको दबाब थेग्न नसकेपछि दर्ता गराएको भोलिपल्ट प्रदेश २ सरकारले विधेयक संशोधन गर्न तयार भएपनि संघीय सरकारका सञ्चारमन्त्री गोकुल बाँस्कोटा भने विधेयक कुनै हालतमा फिर्ता नहुने अडानमा देखिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४