सुर्खेत - कांग्रेस युवा नेता गगन थापाले प्रदेशका मुख्यमन्त्रीहरु प्रधानमन्त्रीका फोटोकपी भएको बताएका छन्। ‘संघीयता कार्यान्वयनको सम्बन्धमा सबै प्रदेशका मुख्यमन्त्रीहरु प्रधानमन्त्रीका फोटोकपी जस्ता भए।’ कांग्रेस सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटकाट कार्यक्रममा नेता थापाले भने, ‘वर्तमान सरकारकै कारण संघीयता कार्यान्वयनमा समस्या देखियो।’
‘प्रधानमन्त्री संघीयतामा चरम अरुचि राख्ने व्यक्ति हुनुहुन्थ्यो, पटक–पटक नेपालमा संघीयता चल्दैन पनि भन्नुभएको छ’, थापाले थपे, ‘प्रदेशका मुख्यमन्त्रीहरु पनि प्रधानमन्त्रीका फोटोकपी जस्तै भए।’ ओली नेतृत्वको सरकारले संघीय व्यवस्था असफल गराउने अभ्यास गरिरहँदा पनि प्रदेशका मुख्यमन्त्रीहरु मौन बसेको उनको आरोप थियो।
‘प्रधानमन्त्रीले संघीयताका आधारभूत कुरा स्वीकार गर्न मान्नुभएन, जसले गर्दा प्रदेशहरु पंगु भएको अवस्था छ’, थापाले भने, ‘केन्द्रले प्रदेशलाई काम, स्रोत र अधिकारविहीन बनाउँदै छ तर आफ्नो नेतासँग बोल्न सक्ने हिक्मत मुख्यमन्त्रीहरुसँगै छैन।’ प्रदेश र स्थानीय तहका अधिकारहरु केन्द्र सरकारले एकपछि अर्काे गर्दै खोसिँदा बोल्ने हिक्मत नहुँदा संघीयता कार्यान्वयनमा समस्या देखिएको उनको धारणा थियो। ओली नेतृत्वको सरकारले संघीयता चलाउन नसकेको आरोप लगाउँदै संविधान कार्यान्वयन र संरचना निर्माणमा सरकार असफल भएको बताए। ‘संघीय र एकात्मक नेपाल एउटै होइन तर एक वर्षको अवधिमा सरकार संघीयतालाई ठिक ढंगले सञ्चालन गर्न सकेन। संघीयता बलियो बनाउन र टिकाउन केन्द्र भन्दा ७ सय ५३ स्थानीय र सात वटै प्रदेश सरकार अधिकार र स्रोतसाधनले बलियो हुनुपर्ने थापाको तर्क छ।
‘संसद् प्रधानमन्त्रीको आदेशमा चल्न थाल्यो’
सभामुख र प्रधामनमन्त्रीको सम्बन्ध चिसिरहेका बेला नेता थापाले संसद् कार्यकारी अर्थात् प्रधानमन्त्रीको आदेशमा चल्न थालेको आरोप लगाए। गत वैशाख २४ गते प्रधानमन्त्री ओलीले असंसदीय शब्द र व्यवहार प्रयोग गर्दा पनि सभामुखले तत्काल उचित कदम लिन नसक्नुले संसद् कार्यकारीले चलाउन खोजेको पुष्टि हुने थापाले बताए। भियतनाम र कम्बोडिया भ्रमणबाट फर्केलगत्तै प्रधानमन्त्रीले संसद्मा कांग्रेसले निम्छरो कुरा गरेर रेकर्ड अभिव्यक्ति दिएको भन्दै त्यसलाई पुष्टि गर्न सभामुखलाई चुनौतीसमेत दिए। ‘सभामुख प्रधानमन्त्रीले गलत कुरा गरे भनेर बोल्न सक्नु हुन्न’, थापाले भने, ‘किनकि सभामुखको जागिर जान्छ।’
संवैधानिक अधिकार खोसिँदै
नेता थापाले वर्तमान सरकारकै कारण संवैधाधिनक अधिकार प्राप्त विभिन्न आयोगहरुको अधिकार खोसिन थालेको बताए। सेना, प्रहरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग र मानवअधिकार आयोगलगायतका विभिन्न आयोगहरुको अधिकार खोस्न थालेको उल्लेख गरे। ‘प्रधानमन्त्रीमा म मात्रै देशमा काम लाग्ने व्यक्ति हुँ भन्ने अहम् पलाएको छ। यही अहम्का कारण विभिन्न आयोगलाई प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउने प्रयास भएको छ।’ सरकारको यस्तो कदमले लोकतान्त्रिक व्यवस्थालाई चुनौती दिँदै न्याय, मानवअधिकार र नागरिक स्वतन्त्रता खोस्न थालेको समेत आरोप लगाए।
एक अर्काे प्रसंगमा नेता थापाले भ्रष्टाचार हुनै दिन भन्ने प्रधानमन्त्री भ्रष्टाचारीले नै घेरिएर बसेको आरोप लगाए। संसद्मा भ्रष्टाचार, गर्दिनँ, सहन्नँ र गरेपछि विद्या नास भनेर कसम खाने प्रधानमन्त्री वरिपरि बिजुलीको पोलदेखि, जहाज जग्गा र बालुवाटारको जग्गा खानेले घेरिएको उनको भनाइ थियो।
‘नेकपा’ पार्टी होइन
नेता थापाले नेकपा दलगत पार्टी नभएको बताए। चुनाव जित्नकै लागि एमाले र माओवादी एक ठाउँमा आएर नामको मात्रै पार्टी भएको उनको टिप्पणी थियो। हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ईश्वर पोखरलेबीच भएको घोचपेचबाट विषयले एकता नै चुनाव जित्नकै लागि भएको पुष्टि भएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४