एजेन्सी- डच क्लब आयाक्सले नेदरल्यान्डको शीर्ष डिभिजनको घरेलु लिगको उपाधि जितेको छ । बुधबार राति भएको लिग चरणको अन्तिम खेलमा डी ग्राफ्सचापलाई ४-१ गोल अन्तरले पराजित गर्दै पाँच बर्ष पछि लिगको उपाधि जितेको हो । पछिल्लो पटक आयाक्सले सन् २०१४ मा लिग उपाधि उचालेको थियो ।
च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको आयाक्सको यो घरेलु लिगमा ३४ औं लिग उपाधि हो । आयाक्सको जितका लागि टाडिके दुई तथा लासे शान र निकोलसले एक एक गोल गरे । यता ग्राफ्सचापका लागि युसुफले एक गोल फर्काएका थिए ।
खेलको ३७ औं मिनेटमा लासे शानले गोल गर्दै सुरुवाती अग्रता दिलाए । तर, ४० औं मिनेटमा ग्राफ्सचापका युसुफले गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफ सकिन एक मिनेट बाँकी रहदाँ निकोलसले गोल गर्दै पुनः आयाक्सलाई २-१ को अग्रता दिलाए ।
दोस्रो हाफमा थप दुई गोल गर्ने क्रममा दुबै गोल टाडिकेले गरे । उनले खेलको ६७ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दा ८७ औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गर्दै आयाक्सलाई ४-१ को फराकीलो जित दिलाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४