चितवन- एकपछि अर्को विवादमा तानिँदै आएका सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले फेरि विवादास्पद अभिव्यक्ति दिएका छन् । उनले घुमाउरो रुपमा पत्रकारलाई मृत्युदण्डसमेत हुनसक्ने धम्की दिएका छन् ।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइबर टु द होम सेवाको मंगलबार उद्घाटन गर्दै बास्कोटाले प्रेसका नाममा भएका जथाभावि गतिविधि रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने बताए ।
उनले अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको भन्दै आतंकवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्डसमेत दिइने गरेको बताए । अमेरिकाको उदाहरण दिएर मन्त्री बास्कोटाले नेपाली पत्रकारहरुलाई घुमाउरो शैलीमा मृत्युदण्डको धम्की दिएका हुन् ।
सरकार प्रेसप्रति पूर्वाग्राही नभएको दाबी गर्दै उनले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको जिकीर गरे । सामाजिक न्यायको हिसाबले पनि विषयलाई हेर्नुपर्नेछ भन्दै उनले पेश गरिएका र पेश गर्न लागेका कानूनी कुरा स्वस्थ, मर्यादित र जिम्मेवार भएर अन्तरराष्ट्रिय प्रचलन हेरेर पेश गरिएको र यो आवाश्यक भएको बताए ।
अनेकन होहल्लाबाट प्रभावित हुन नसक्ने बताउँदै मन्त्री बाँस्कोटाले भने, ‘बहिष्कार आदि इत्यादिको अर्थ छैन । सत्ता लुछेर, कु गरेर आएको चिज होइन। यो जनताद्वारा निर्वाचित सरकार हो ।’ संवाद भने जरुरी रहेको र गर्नुपर्ने उनले बताए। उनले भने, ‘सत्ता हेरेर कानून बन्दैन, लोकतन्त्र हेरेर कानून बन्नुपर्छ, संविधान हेरेर कानून बन्नुपर्छ।’
शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थिरतालाई भत्काउने केही तत्व सक्रिय छन् भन्दै बास्कोटा प्रश्न गरे, ‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?’ यस्तो पत्रकारिता हो कि पत्रकारिताको खोल ओढेको आतङ्कवादको संरक्षक हो ? वा प्रचारक हो भनी प्रश्न गरे ।
मन्त्री बास्कोटाले भने ,‘के संसारमा आतङ्कवादी गतिविधिलाई प्रेस स्वतन्त्रताको ढालले रोक्न सक्छ, छेक्न मिल्छ ?’ समाचार लेखेर कोही पनि पक्राउ पर्दैन भन्दै उनले गलत मिशनमा लागेर शान्ति र न्यायलाई चुनौती दिने हकमा कानून सक्रिय हुने बताए ।
अधिकार पानामा लेखेर नहुने बताउँदै मन्त्री बास्कोटाले भने, ‘आर्थिक सुनिश्चितता त्यसको पहिलो आधार बन्छ, अनि मात्र स्वतन्त्र प्रेस हुन्छ, सम्पादकीय स्वतन्त्रता बाँकी रहन्छ। हामीले गर्न खोजेको त्यत्ति हो’, उनले थपे, ‘नियमन हामी गछौंँ, संसारभरि नै यो हुन्छ।’
संविधानभन्दा बाहिर कुनै पनि कानून नबन्ने बताउँदै उनले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने बताए । कोही साथी कुरै नबुझी दौडिरहेको बताउँदै उनले भने, ‘तपाईंले लेखेपछि जवाफदेहिता बोक्नुपर्छ, पुष्टि गर्नुपर्छ । त्यत्तिकै आरोप लगाउन पाइँदैन ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४