धनगढी – कैलालीको चुरे क्षेत्रको जमगलमा भिषण आगलागी भएको छ। गोदावरी नगरपालिका–४ र चुरे गाउपालिकाको वन क्षेत्रमा केही दिन यता भयानक आगलागि भएको हो। चुरे क्षेत्रका वनहरुमा एक दशक यताकै ठुलो आगलागी भएको स्थानीयले बताएका छन्।
गोदावरी नगरपालिका– ४ मा पर्ने सेती सामुदायिक वन खण्ड ‘क’ र ‘ख’का विभिन्न ठाउँमा आगलागी भएको हो। वनको तराई क्षेत्र पट्टीबाट र पहाड क्षेत्रबाट आगलागी सुरु भएको हो। विगत केहि वर्ष यता उक्त वनमा संरक्षणमा रहेका ठुला झाडीहरु आगोले सखाप बनाएको बुढीतोलाका हरी बहादुर खनालले जानकारी दिएका छन्।
आगलागिका कारण वनमा रहेका साना ठुला सबै रुखहरु जलेर नस्ट भएका छन्। आगो लागेर जंगल जलेपछि हरिया डाँडाकाँडा पुरै खरानीले काला बनेका छन्। उक्त वन आसपासमा रहेका वस्तिका स्थानीयहरु आगलागीका कारण त्रसित बनेका छन्। खनालले अहिलेसम्म यस्तो आगलागी भएको आफूले कहिल्यै नदेखेको बताए। वनको दूबै पट्टीबाट आगो लागेको छ। आगलागीको धुँवाले आफूहरुलाई बस्न गाह्रो भइरहेको स्थानीयले बताएका छन्।
स्थानीयहरु रातभर आफ्नो घर जोगाउन जाग्राम बस्ने गरेका छन्। वडा नं. ४ का स्थानीय मुक्त अधिकारीले रातभर घर गोठ जोगाउन लागि परेको बताए। ‘वनमा लागेको आगो त नियन्त्रण गर्न सकिएको छैन, रातभर आफ्नै घर जोगाउन हम्मे–हम्मे परेको छ’, अधिकारिले भने, ‘वन क्षेत्रमा आगलागी संगै हावा हुरि चल्ने भएकाले नियन्त्रण हुन गाह्रो छ।’
आगलागीकै कारण वनमा रहेका वन्यजन्तुहरु समेत समस्यामा परेका छन्। स्थानीयका अनुसार उक्त वन क्षेत्र भित्र ठुलो संख्यामा बन्यजन्तु मरेका छन्। वडा नम्बर ४ का वडा सदस्य शेर बहादुर घर्ती मगरले सयौं हेक्टर बन आगलागीले सखाप पारेको बताए। उनले बनमा आगो आफै नलागेको कसैले लगाएको हुन सक्ने बताए।
वनमा लागेको आगो नियन्त्रणका लागि सरकारी निकाएबाट कुनै पहल नभएको स्थानीयको गुनासो छ। आगलागी नियन्त्रणका लागि दिर्घकालीन भरपर्दो संयन्त्र निमार्ण गर्नुपर्ने उनीहरुको माग छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४