बीबीसी- स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट नेसन्स लिग खेल्ने भएका छन् । रुस विश्वकप पछि राष्ट्रिय टोली बाहिर रहेका रोनाल्डोले नेसन्स लिग क्वालिफायर्स सहित ६ अन्तर्राष्ट्रिय खेल गुमाएका थिए ।
पोर्चुगलको घरेलु मैदानमा आयोजना हुने नेसन्स लिगको सेमिफाइनल र फाइनल खेलमा उनी सहभागी हुने प्रशिक्षक फेर्नान्डो सान्तोसले बताएका हुन् । पोर्चुगलले ५ जुनमा स्विजरल्यान्डको सामना गर्ने छ । उक्त खेलमा विजयी भए पोर्चुगलले इंग्ल्यान्ड वा नेदरल्यान्डसँग खेल्ने छ ।
‘उनी आफ्नो देशका लागि खेल्न सधै तयार छन् ।’ प्रशिक्षक सान्तोसले भने, ‘टोलीको नामावली २३ मे मा सार्वजनिक गरिने भएपनि उनी सधै टोलीमा छन् ।’ शीर्ष गोलकर्ता रोनाल्डो क्वालिफायर चरणमा अनुपस्थिती थिए ।
फाइनल खेल ९ जुनमा पोर्टोमा हुने छ । सन् २००३ देखी राष्ट्रिय टोलीमा डेब्यु गरेका रोनाल्डोले हाल सम्म राष्ट्रिय टोलीका लागि सबै खाले १५६ खेल खेलेका छन् । जहाँ उनले ८५ गोल गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४