फाइल तस्बिर
ताप्लेजुङ- तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियागिताको उपाधि विभागिय टोली नेपाल पुलिसले उचालेको छ ।
बिहिबार भएको फाइनल खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई ३-० को साझो सेटमा पराजित गर्दै पुलिसले उपाधि उचालेको हो । पहिलो सेट २५-१७ ले गुमाएको आर्मीले दोस्रो सेट पनि २५-१३ ले गुमाउन पुग्यो ।
त्यस्तै तेस्रो सेटमा २५-१९ ले पराजित हुँदै आर्मी उपविजेता बन्यो । च्याम्पियन बनेको पुलिसले नगद ३ लाख ५१ हजार ५ सय प्राप्त गरेको छ । उपविजेता आर्मीले १ लाख ७६ हजार २५१ नगद प्राप्त गर्यो ।
यस्तै प्रतियोगितामा व्यक्ति विधातर्फ पुलिसको वर्चश्व रह्यो । नेपाल पुलिस क्लबका कुल बहादुर थापा उत्कृष्ट खेलाडी बन्दै नगद १५ हजार प्राप्त गरे । उत्कृष्ट सर्भरमा पुलिसका विशाल बिक, सेटरमा कप्तान ईम बहादुर राना, डिफेन्डरमा भिम गाहा, ब्लकरमा दिपक राज जोशी र उत्कृष्ट प्रशिक्षक पुलिसकै सरोज श्रेष्ठ चुनिए ।
उत्कृष्ट स्पाइकरमा आर्मीका धन बहादुर भट्ट चुनिए । उत्कृष्ट हुनेले जनही ७/७ हजार नगद प्राप्त गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४