काठमाडौं - कुनै दिन भैरव ललितपुर लुभुबाट मनकामना मातालाई भेट्न बुङ्मती गएछन्। राति त्यहाँ पुगेका भैरव फर्किन लाग्दा बिहान भएछ। उज्ज्यालो भएपछि उनलाई सबैले देख्ने भएकाले फर्किन लाज लागेछ। अनि उनी बुङ्मतीमै अड्किए।
भैरव अड्किएपछि लुभुबासी जम्मा भएर बुङ्मती पुगेछन्। लुभुबासीले भैरवलाई फर्काउने प्रयास गरे।तर रातो मच्छिन्द्रनाथले अब भैरव नफर्किने र बरु बुङ्मतीको जात्रासँगै लुभु जात्रा गर्ने वचन दिएछन्।त्यसपछि लुभुबासी फर्केर जात्रा सुरु गरे। रातो मच्छिन्द्रनाथ रथको अगाडिको दायाँ पांग्रामा रहेका रण्डकुण्ड तीनै भैरव हुन्, जो लुभुबाट बुङ्मती पुगेर अड्किएका थिए।
यस्तो रोचक किंवदन्तीबाट सुरु भएको लुभु जात्रा अहिलेसम्म प्रचलनमा छ। रातो मच्छिन्द्रनाथ र महालक्ष्मी महाभैरवको जात्रा सधैं एकै दिन सुरु हुन्छ ।
वैशाख शुक्ल अक्षय तृतीयादेखि ८ दिनसम्म महालक्ष्मी र महाभैरवको जात्रा मनाइन्छ। अक्षय तृतीया लुभुवासीको मूल जात्रा मनाउने दिन हो।जात्रामा बाजागाजासहित महालक्ष्मी र महाभैरवको खट परिक्रमा गराइन्छ।एउटा खटमा गणेश, महालक्ष्मी र कुमारको मूर्ति हुन्छ भने अर्को खटमा गणेश, महाभैरव र कुमारीको मूर्ति हुन्छ।खटजात्रामा धिमे, धाँ र न्यासी बाजा बजाइन्छ।
जात्राबारे विभिन्न विश्वास र अनुमान छन्। देवमाला वंशावलीमा महालक्ष्मी महाभैरव मन्दिरको स्थापनाबारे उल्लेख छ। पाटनका राजा हरिहरसिंह देवले आफ्नो सन्तानलाई सुःख प्राप्त होस् भनेर पीठ स्थापना गरी महालक्ष्मी महाभैरवको स्थापना गरी तृतीयादेखि दशमीसम्म ८ दिन जात्रा चलाएको भन्ने देवमाला वंशावलीमा छ। नेपाल संवत् ७०६ र ७०७ देखि जात्रा चलेको भनिन्छ।
यसैगरी अर्को वंशावलीलाई आधार बनाउने हो भने अस्ट्रियाको एक काल पुरस्चा नामक विशेषज्ञले गंगा महारानी सिद्धिनरसिंहको नाति र हरिहरसिंहको छोरा काठमाडौंबाट लुभु सरेको र यता बस्ती बसालेको भन्ने इतिहासमा उल्लेख छ। यस्तै गंगा महारानीको शासन चल्नुअगाडि नै लुभुजात्रा मनाउने चलन चलेको विश्वास पनि छ।
जात्राको पहिलो दिन मूर्ति निकाल्नका लागि रानीको प्रतिनिधिले आदेश दिने प्रचलन छ। रानीको प्रतिनिधिले आदेश जारी नगरेसम्म जात्रा सुरु हुँदैन। गंगा महारानीको जो हुकुम अब मूर्ति निकाले हुन्छ नभनेसम्म मूर्तिलाई सिंहासनबाट निकाल्न मिल्दैन।
शासकहरुले आफ्नो हुकुम चलाउन आफू प्रवेश गरेलगत्तै यस्तो चलन चलाएको विश्वास छ। गंगा महारानीले आफ्नो शासन कालमा आदेश दिन थालेको अनुमान गरिन्छ।लुभुमा गंगा महारानीभन्दा अगाडि कुनै शासक भएको पाइँदैन। गंगा महारानीले लुभु बस्ती बसालेको विश्वास पनि छ।गंगा महारानीले सुनको थाल बेचेर जात्रा चलाउन सुरु गरेको भन्ने भनाइ छ। धेरैले यसलाई खण्डन गरेका छन्। महारानीले लुभु बस्ती बसाएको हैन, विस्तारमा उनको योगदान छ।
रातो मच्छिन्द«नाथको रथ जसरी टोलटोलमा घुमाइन्छ।त्यसैगरी महालक्ष्मी महाभैरवको खट टोलटोलमा घुमाउने गरिन्छ। महालक्ष्मी मन्दिरबाट विभिन्न पर्व चलाउन थकाली चाहिन्छ।त्यसका लागि ७ जना थकाली हुन्छन्। त्यसमध्ये उमेरले पहिलो वरिष्ठ व्यक्तिले महालक्ष्मीको मूर्ति र दोस्रोले महाभैरव गर्दै क्रमसँग मूर्ति बोक्ने गर्छन्।
जात्रा अवधिभर ‘दे गुठी’ का थकाली र थकाल्नीले अन्न नखाई, सफासुग्घर गरी, नुहाएर चोखो भएर बस्नुपर्छ।‘ दे गुठी’ भनेको उमेरले वरिष्ठ व्यक्ति व्यक्ति हो ।
लुभुबासीले जात्रा अवधिभर छालाको जुत्ता र बेल्ट लगाउन, छाता ओढ्न, छतमा, झ्यालमा र रुखमा चढ्न, विवाह वा व्रतबन्ध गर्न र नयाँ घर बनाउन हुँदैन।लुभुबासीले आफ्नो ठाउँ छाडेर अन्यत्र बस्नु हुँदैन भन्ने धार्मिक विश्वास पनि छ।
जात्रा सबै ठाउँ वा परिवारमा एकै दिन मनाइँदैन। घरको आँगनमा जुनबेला भगवान्को खट आइपुग्छ, त्यही बेला विशेष पूजा गरिन्छ। लुभु जात्राको अवसर पारेर आकाश भैरवको जात्रा पनि गरिन्छ।
जात्रा अवधिभर सबै घरमा पाहुना बोलाउने, खानपिन गर्ने र रमाउने गर्छन्। सरकारी पूजाको दिन भने विशेष प्रकारको खानपान हुन्छ।
कागजमा कोरिएको आकाश भैरवको चित्रलाई जात्राको तेस्रो दिन छुट्टै खटमा राखेर जात्रा गरिन्छ। यसरी सबै टोलमा महालक्ष्मी महाभैरवको खट घुमाई जात्रा मनाइन्छ। जात्राको अवधिभर थुप्रै पूजा सञ्चालन गरिन्छ। जात्राको अन्तिम दिन महालक्ष्मी महाभैरव कुमार गणेश सबै मूर्तिलाई बेहुली जसरी सजाएर खट जात्रा गरिन्छ। लुभुको परिक्रमा गराएपछि महालक्ष्मी मन्दिरअगाडि दुईवटै खट विसर्जन गरिन्छ।
नेवार परम्पराअनुसार बेहुली भित्र्याएको जसरी लसकुस गरी सम्पूर्ण विधि अपनाएर थकालीको श्रीमतीले मूर्तिहरु भित्र्याउँछन्। पूजा गरेर जात्रा समापन गरिन्छ।
यसरी जुर्यो लुभुलुभु नाम कसरी रहन गयो भन्नेबारेमा विभिन्न रोचक किंवदन्ती प्रचलनमा छन्। परम्परागत रुपमा लुभुमा गाइने दाफा भजनमा गीत ‘राजधानी छगु जुया’ भन्ने नेवारी गीतमा लुभुमा धेरै अन्न फल्ने कारण ‘लुँबुँ’ नाम हुन गएको भनिन्छ ।
किंवदन्तीअनुसार किराँतहरु बिहारबाट लुभु बाटो हुँदै काठमाडौं पसेका थिए। त्यहाँ गरेको खेतीबाट किराँतहरु सन्तुष्ट भए। यो सुन फल्ने खेत रहेछ, अन्न धेरै फल्ने रहेछ भनेछन् र यही अनुसार लुबु भन्न थालियो। लुभुमा सबैभन्दा पहिले खेतीपाती गर्ने पनि किराँत नै हुन्।सुनजस्तो अन्न फल्ने भएकाले लुँबुँ भन्न थालिएको हो। नेपाल भाषामा ‘लुँ’ भनेको सुन र ‘बुँ’ भन्नाले खेत बुझिन्छ। लुँबुँ भन्दाभन्दै लुभु हुन गएको भनाइ छ ।
लुभुको लाछिमा अवस्थित नारायण देवलको मन्दिरमा लेखिएको शिलालेखमा नेपाल संवत ५७२ मा स्थापना भएको उल्लेख छ। यो गंगा महारानीको शासनभन्दा सय वर्षअगाडिको शिलालेख हो। लुभुमा रहेको महारानी दरबार भने जीर्ण भइसक्यो।
(लुभुस्थित नेवा संस्कृति संरक्षण समितिका अध्यक्ष रामबहादुर श्रेष्ठसँगको कुराकानीमा आधारित)प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४