जनकपुरधाम – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक शरतसिंह भण्डारीले संविधान संशोधनबारे संघीय समाजवादी फोरम प्रस्ट हुन नसक्दा आफूहरु एकीकरण प्रक्रियाबाट बाहिरिएको बताएका छन्।
सोमबार संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता हुनुपूर्व राजपापनि एकीकरणमा सामेल हुने बताइएको थियो। आइतबार पार्टी एकीकरणबारे फोरम अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग छलफल गर्न पुगेका राजपा नेताहरु अचानक वार्ता छोडेर हिँडेका थिए।
‘एकीकरण प्रक्रियामा सहभागी हुन हामी छलफलका लागि पुगेका थियौँ,’ मंगलबार जनकपुरमा पत्रकार भेटघाटमा भण्डारीले भने, ‘सरकारको नीति कार्यक्रमले संशोधनको बाटो बन्द गरिसक्यो भन्दै हामीले फोरम र नयाँ शक्तिको धारणा माग गर्यौँ। तर, उहाँहरुले केही बोल्नु भएन। त्यसपछि हामी एकीकरण प्रक्रियाबाट बाहिरिएका हौँ।’ संविधान संशोधनबारे स्पष्ट धारणा आइसकेपछि मात्र एकीकरण वा सहकार्यबारे सोच्न सकिने उनको भनाइ थियो।
यद्यपि पहिचानमा आधारित सिद्धान्त बोक्ने दलहरुसँग आफूहरु सहकार्य गर्न तयार रहेको भण्डारीले बताए। शोषित उत्पीडित जनताको अधिकार सुनिश्चित गराउन समान विचार बोकेका दलहरुसँग धु्रवीकरण गर्नुपर्नेमा उनको जोड थियो।
भण्डारीले सरकारको नीति तथा कार्यक्रममा असन्तुष्टि व्यक्त गर्दै संघीय सरकारले प्रदेश सरकारको अधिकार संकुचित गर्ने काम गरेको आरोप लगाए। संघीय सरकार प्रतिगमनतर्फ अगाडि बढिरहेको बताउँदै भण्डारीले नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ भत्रे शब्दावलीको प्रयोग यसकै नमुना रहेको जिकिर गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले अनुसन्धान गर्ने निकायहरु आफू मातहत राखेर भ्रष्टाचारलाई बढावा दिन खोजेको आरोप लगाउँदै भण्डारीले वाइडबडी प्रकरणका दोषीहरु यसै कारण कानुनी दायरामा आउन नसकेको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४