काडमाडौं - विमला गुरुङ (२९) को बिहान ५ बजे दैनिकी सुरु हुन्छ। पति र छोरीलाई चियानास्ता खुवाएर निस्केपछि उनी साँझ साढे ७ बजे घर फर्किन्छिन्। गृहिणी र अन्य जागिरे महिलाको जस्तो सहज छैन उनको जीवन। तैपनि यसमै रमाइरहेकी छन्।
पुख्र्यौली घर धरान भएकी उनी श्रीमान्सहित १३ वर्षअघि काठमाडौं आएकी हुन्। हाल लगनखेल बस्दै आएकी विमला लखनखेल–पुल्चोक–नयाँबानेश्वर–कोटेश्वर–सातदोबाटो रुटमा ट्याम्पो चलाउँछिन्। खुसी हुन आफूभन्दा सानालाई हेर्नुपर्छ र जिन्दगीमा प्रगति गर्न आफूभन्दा ठूलालाई हेर्नुपर्छ भन्ने कुरा विमलालाई राम्रोसँग थाहा छ। त्यसैले उनी खुसी छिन्।
दिनभरको कामले थाकेर घर पुग्छिन् उनी। साँझको खाना आफैं बनाउँछिन्। अरुले बनाएको खान खासै मन पर्दैन। श्रीमान् र छोरीले पनि मिठो खाऊन् भन्ने लाग्छ उनलाई। त्यसैले भातभन्छामा सधैं उनी हुन्छिन्। छोरी र पतिले बिहानको खाना आफैं पकाएर खान्छन्।
उनले चलाउने ट्याम्पो साहुको हो। त्यसैले साहुलाई एक टिपको ३५० रुपैयाँ बुझाउनैपर्छ। कमाइ थोरै होस् या धेरै। उनी भन्छिन्, ‘जाममा पर्दा र नेपाल बन्द हुँदा ज्यादै घाटा लाग्छ।’ खाली ट्याम्पो मात्र घुमाउनपर्छ। मान्छे नपाएपछि आफ्नो पैसा साहुलाई दिनुपर्ने उनी बताउँछ्नि।
उनका श्रीमान् सेक्युरिटी गार्डको काम गर्छन्। सुरुमा उनी काम गर्दैनथिन् तर श्रीमान्को कमाइले केही गर्न नपुगेपछि उनले पनि केही गर्ने सोच बनाइन् र ट्याम्पो सिक्न थालिन्। उनलाई झन्डै १ वर्ष लाग्यो सिक्नलाई।
ट्याम्पो सिकेपछि उनले चार वर्षसम्म चलाउन थालिन्। पछि ट्याम्पोमा भन्दा माइक्रोमा फाइदा हुन्छ भनेर उनले सिक्न थालिन्। जानेपछि चलाउन थालिन् तर २ वर्ष चलाएपछि उनलाई फाइदा भएजस्तो लागेन। सहचालकले पैसा लुकाएर हैरान पारेपछि उनले फेर ट्याम्पो नै चलाउन थालिन्।
आफूले काम गर्न थालेपछि उनलाई एकदम सजिलो भएको छ। उनकी छोरी १२ कक्षामा पढ्छिन्। छोरीलाई डाक्टर बनाउन मन छ। घर खर्चबाट बचेको पैसा उनीहरु छोरीको पढाइ खर्चका लागि जम्मा गरेर राखेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४