काठमाडौं - आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम समयानुकूल र व्यवहारिक भएको धारणा सत्तारुढ दलका सांसदहरुले समर्थन गरेका छन् भने प्रतिपक्षी दलका सांसदले भने ‘पूरा नहुने सपना’ भन्दै आलोचना गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम माथि धारणा राख्दै सांसदहरुले आ–आफ्नै राजनीतिक दलको मूल्य र मान्यतामा रहेर समर्थन र विरोध गरेका छन्।
सत्तारुढ दलका केही सांसदले भने नीति तथा कार्यक्रम समायनुकूल र प्रभावकारी रहेको टिप्पणी गर्दै केही विषयमा भने आलोचनात्मक धारणा राखेका छन्। सरकारको नीति तथा कार्यक्रमले ग्रामीण तथा दूरदराजका क्षेत्रमा समेत सकारात्मक सन्देश प्रवाह गरेको भन्दै सत्तारुढ दलका सांसदले जनता उत्साहित बनाएको बताइरहँदा प्रमुख प्रतिपक्षी दलका सांसदले भने शब्दको आडम्बर र पूरा हुन गाह्रो पर्ने सपनाको फेहरिस्त भएको टिप्पणी गरेका छन्।
नेकपाका सांसद दुर्गाकुमारी विश्वकर्माले सरकारको नीति तथा कार्यक्रमले ठूला भौतिक पूर्वाधारलाई जोड दिएको, सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने, रोजगारी वृद्धि गर्नेजस्ता कार्यक्रम सकारात्मक भए पनि शहीद, बेपत्ता र घाइतेका पक्षमा केही पनि नआएको तथा द्वन्द्वपीडितलाई कार्यक्रमले सम्बोधन गर्न नसकेको गुनासो गरिन्। उनले ‘जनयुद्ध’ को समयमा शहीद भएकालाई शहीद घोषणा नभएकालाई शहीद घोषणा गर्न र तिनका आश्रित परिवारको जीविकोपार्जनका लागि व्यवहारिक कार्यक्रम ल्याउन आग्रह गरिन्। विश्वकर्माले १३ प्रतिशत दलित समुदायलाई सम्बोधन गर्ने कार्यक्रमसहित बजेटको व्यवस्था गर्न माग गरिन्।
नेकपाकै सांसद हरिराज अधिकारीले बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने, ठूला भौतिक पूर्वाधारका विषय नीति तथा कार्यक्रममा समेटिएको भन्दै समर्थन गरे। उनले नेकपाका संस्थापक महासचिव पुष्पलाल र जनयुद्धको शहीदको नाममा पनि केही कार्यक्रम समेटिएको भए राम्रो हुने थियो भने। सांसद अधिकारीले गोरखाको दुई वटा नाका खोल्ने काम अगाडि बढाउन र चुननुम्री गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पुर्याउने योजनालाई पूरा गर्नुपर्नेमा जोड दिए।
नेकपाकै सांसद जुलीकुमारी महतोले सरकारको नीति तथा कार्यक्रममा समावेश भएका सकारात्मक कार्यक्रमले प्रतिपक्षी अत्तालिएको टिप्पणी गरिन्।
नेकपाका सांसद देवप्रसाद गुरुङले नीति तथा कार्यक्रम राम्रो भएरमात्रै नहुने भएकाले कार्यान्वयन गर्नेतर्फ सबै पक्षको सार्थक सहयोग जरुरी रहेको बताए। उनले नीति तथा कार्यक्रममा प्रयुक्त भएका केही भाषालाई लिएर गणतन्त्रमाथि नै प्रश्न उठाउने काम नगर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसलाई आग्रह गरे। गुरुङले नीति तथा कार्यक्रममा धेरै विषय समावेश भए पनि केही विषय छुटेकाले त्यसलाई सहज तवरले सम्बोधन गर्नुपर्ने र राष्ट्रियताको मुद्दालाई थप स्पष्ट पारेर जानुपर्नेमा जोड दिए।
नेकपाका सांसदहरु नवराज सिलवाल, महेश बस्नेत, पदम गिरी, प्रेमबहादुर आलेले समाजवादको आधार तयार पार्ने गरी सरकारको नीति तथा कार्यक्रम आएको र जनताले खुशी मनाएको अवस्थामा विपक्षीले कुनै पनि विरोध गर्ने आधार नपाएर विरोधका लागि विरोध गरेको बताए।
नेपाली काङ्ग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले सरकार गठन भएको १५ महीनाको बीचमा सरकारले केही पनि नयाँ योजना नल्याएको र केवल जनता मात्रै झुक्याएको भन्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पूरा हुन नसक्ने टिप्पणी गरे।
प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख २३ गते सोमबार बिहान ११ बजे बस्नेछ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४