काठमाडौं - नेकपाका २२ जनवर्गीय संगठनको एकता प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष प्रचण्डका कारण विलम्ब भएको छ। विशेष गरी ओलीले आफू तत्कालीन एमालेमा रहँदा माधव नेपाल पक्षलाई माइनस गर्ने गरी तिनको भागबण्डा टुंगो लगाउने तयारी गरेपछि एकीकरण अलपत्र परेको हो। सबै जनवर्गीय संगठनमा एकीकरणका लागि आवश्यक गृहकार्य गरी खाका पेस गर्ने जिम्मा दिए पनि उनीहरुले दिएको प्रतिवेदनमा ओली–प्रचण्ड सहमत हुन नसकेपछि प्रक्रिया लम्बिएको बताइएको छ।
स्थायी समितिले पार्टीको जिल्ला तह एकीकरणका लागि गठन गरेको कार्यदललाई निकम्मा बनाए जसरी यसलाई पनि त्यही हालतमा पुर्याउने तयारी गरेपछि अहिले कार्यदल नालायक कि ओली–प्रचण्ड भन्नेमा पार्टीभित्र टिप्पणी हुन थालेको छ।
नेकपा स्थायी समितिले जनवर्गीय संगठन नएकताका लागि फरकफरक कार्यदल गठन गरेको थियो। मजदुर संगठन एकतामा विष्णु रिमाल, जयपुरी घर्ती, विनोद श्रेष्ठ र गणेश रेग्मी छन्।
तत्कालीन एमालेको नेपाल ट्रेड्र युनियन महासंघ (जिफन्ट) को ५१ सदस्यीय केन्द्रीय कमिटी छ र माओवादी केन्द्रको अखिल नेपाल ट्रेड युनियन महासघं (अन्टुक) को १ सय ६९ सदस्यीय केन्द्रीय कमिटी छ। जिफन्टभन्दा अन्टुकको संगठन ठूलो भएकाले केन्द्रीय कमिटी मिलाउँदा दुवैको सम्मानजनक हैसियत हुने स्थिति छैन। घटक संगठनहरुको महासंघ भएकाले तल प्रतिष्ठानहरुमा कहाँ कसको कस्तो ‘पोजिसन’ छ, त्यस आधारमा नेतृत्व राख्ने भनिएको छ।
त्यसैगरी वामदेव गौतम, हरिबोल गजुरेल, केशवलाल श्रेष्ठ र चित्रबहादुर श्रेष्ठ रहेको किसान महासंघ एकीकरण कार्यदल बनेको छ।
तत्कालीन एमालेको अखिल नेपाल किसान महासंघमा वामदेव गौतम अध्यक्ष रहेको १ सय ७५ सदस्यीय केन्द्रीय कमिटी छ भने माओवादीतर्फको अखिल नेपाल किसान महासंघ क्रान्तिकारीमा चित्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको ३ सय ५१ सदस्यीय केन्द्रीय कमिटी छ।
किसान संगठन एकीकरणमा नामको खासै समस्या छैन। दुवैको नाम एउटै रहेकाले पुच्छर हटाउनेबितिक्कै एउटै नाम हुने कार्यदलका एक सदस्यले नेपाल समयलाई बताए।
तत्कालीन एमालेकोभन्दा माओवादी केन्द्रको संगठन दोब्बर रहेकाले धेरै काँटछाँट गरेर एकीकरण गर्नुपर्नेछ। घटक संगठनहरु पनि मिलाउनुपर्ने भएकाले कहाँ–कसको नेतृत्व अर्को चुनौती छ।
राधा ज्ञवाली, गोमा देवकोटा, उर्मिला अर्याल र अमृता थापामगर रहेको महिला संगठन एकीकरण कार्यदल गठन गरिएको छ। तत्कालीन एमालेको अखिल नेपाल महिला संघ गोमा देवकोटा अध्यक्ष रहेको १ सय ९६ सदस्यीय केन्द्रीय कमिटी छ भने र माओवादीको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) अमृता थापामगर अध्यक्ष रहेको ५ सय ७५ सदस्यीय छ। अनेमसंघ क्रान्तिकारीले अनेमसंघको पछाडि महासंघ राख्दा राम्रो हुने सुझाव प्रस्तुत गरेको छ।
मणि थापा, महेन्द्र पाण्डे, रमेश पौडेल र रामप्रसाद सापकोटा रहेको युवा एकीकरण कार्यदल छ। तत्कालीन एमालेको युवा संघ नेपालमा अध्यक्ष रमेश पौडेले रहेको २ सय ५१ सदस्यीय तथा माओवादीको वाइसिएल नेपाल रामप्रसाद सापकोटा अध्यक्ष रहेको २ सय १३ सदस्यीय छ। कार्यदले बैठकले केन्द्रीय कमिटी संख्या र संरचना टुंगो लगाउन दुवैतर्फका महासचिवसहितको ५ सदस्यीय छुट्टै समिति बनाएको छ।
रवीन्द्र अधिकारी, हितमान शाक्य, नवीना लामा र रञ्जित तमाङ रहेको कार्यदल गठन भएको भए पनि अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा निधन भएको छ। यद्यपि कार्यदलले काम भने अगाडि बढाएको छ।
तत्कालीन एमालेको अनेरास्ववियुमा नवीना लामा अध्यक्ष रहेको २ सय सदस्यीय केन्द्रीय कमिटी छ। यसमा ४५ जना आयोग सदस्य छन्। माओवादीको अखिल क्रान्तिकारीमा रञ्जित तामाङ अध्यक्ष रहेको २ सय ४३ सदस्यीय केन्द्रीय कमिटी छ।
मणि थापा, खगेन्द्र राई, प्रेमनाथ अधिकारी र सरल सहयात्री सदस्य रहेको गीतसंगीत कला क्षेत्र एकीकरण कार्यदल गठन भएको थियो। तत्कालीन एमालेको राष्ट्रिय जनसांस्कृतिक महासंघमा खगेन्द्र राई अध्यक्ष रहेको ६५ सदस्यीय केन्द्रीय कमिटी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४