काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रपतिकै भएको बताएका छन्। शनिबार बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले मेरो सरकार भनेर सम्बोधन गरेको सन्दर्भलाई लिएर भइरहेको विरोधमा आश्चर्यता प्रकट गर्दै राष्ट्रप्रमुखका हिसाबले यो सरकार राष्ट्रपतिकै भएको बताएका हुन्।
’मेरो सरकार’ भन्नु कुनै नौलो कुरा नभएको उनले बताए। उनले भने ‘मैले मेरो देश भन्छु। मैले मेरो देश भन्दा अरुको होइन भनेको हो र ?' ’मेरो सरकार’ को अर्थलाई वृहत्त र सामुहिक अर्थमा बुझ्ने प्रयास गर्नुपर्ने प्रधानमन्त्री भनाइ छ।
प्रधानमन्त्री ओलीले अगाडि भने, 'राष्ट्रपति देशको अभिभावक हो। राष्ट्रप्रमुख हो। संस्था हो। मैले व्यक्तिको कुरा गरिराखेको छैन। त्यसैले राष्ट्रपतिको हैसियतमा यो राष्ट्रपतिकै सरकार हो। त्यसैले उहाँले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नुभएको हो।’
यो अन्तर्राष्ट्रिय अभ्याससमेत भएकोले बौद्धिक जगत तथा मिडियाले समेत यो कुरा बुझ्नुपर्नेमा उनले जोड दिए। धेरै देशमा यस्तो प्रचलन रहेको बताउँदै उनले छिमेकी मुलुक भारतमै समेत रहेको यो प्रचलन थाहा नपाउँदा आफु अचम्मित भएको बताए। 'भारतमा अर्का पार्टीको सरकार हुँदा पनि राष्ट्रपतिले ’माइ गभर्मेन्ट’ भन्ने चलन छ। धेरै राष्ट्रपतिले धेरैपटक ’माइगभर्मेन्ट’ भनेका छन्।', उनले भने।
देश भर्खर राजतन्त्रात्मक शासन प्रणालीबाट गणतन्त्रात्मक शासन प्रणालीमा प्रवेश गरेकाले बौद्धिक जगतलाई राष्ट्रपतिले ’मेरो सरकार’ भन्दा राजतन्त्रको झल्को आउने गरेको प्रधानमन्त्री ओलीले बताए।
ओलीले भने ‘यो सरकार जननिर्वाचित हो र विद्या भण्डारी जननिर्वाचित राष्ट्रपति हो। एक्काइशौं शताब्दीमा संसारभरका लोकतान्त्रिक संसदमा सम्बोधन गर्दा ’माइ गभर्मेन्ट’ नै भन्ने गरिन्छ। राष्ट्रपतिले ’मेरो सरकार’ भन्नुभयो भनेर आलोचना गर्नेहरुले आजको दुनियाँ थाहा पाउनुपर्यो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४