जनकपुरधाम- पार्टी उपाध्यक्ष रेणु यादवलाई पराजित गर्दै विजय यादव संघीय समाजवादी फोरम नेपालका प्रदेश २ अध्यक्षमा निर्वाचित भएका छन् ।
पार्टीको पहिलो प्रदेश अधिवेशनअन्तर्गत सोमबार अबेर राति सम्पन्न मतगणनाअनुसार विजयले पार्टी उपाध्यक्ष रेणुलाई ३७ मतको अन्तरले पराजित गरेका हुन् । प्रदेश अध्यक्षमा निर्वाचित विजयले १८४ मत प्राप्त गरेका छन् भने रेणुको १४७ मत रहेको बताइएको छ ।
रेणु पार्टीको केन्द्रीय उपाध्यक्ष छिन् भने विजय पार्टीको कोषाध्यक्ष एवं प्रदेश २ सरकारमा आर्थिक मामिला मन्त्री छन् । प्रदेश अध्यक्षमा निर्वाचित विजय पार्टी अध्यक्ष उपेन्द्र यादव निकट मानिन्छन् ।
सिरहाको लहानमा विगत तीन दिनदेखि जारी अधिवेशनमार्फत फोरमको प्रदेश अध्यक्ष बन्न तीनजनाले उम्मेदवारी दिएका थिए । अध्यक्ष पदका लागि विजय र रेणु र सर्लाहीका अशोक यादवले उम्मेदवारी दिएका थिए ।
अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता भएपछि शीर्ष नेतृत्वले सहमतिको प्रयास गरेपनि सफल नभएपछि अन्ततः निर्वाचन प्रक्रियामा जानु परेको थियो ।
प्रत्येक २ हजार ३ सय क्रियाशील सदस्यमा एकजना प्रदेश सदस्य निर्वाचित हुनुपर्ने प्रवाधानअनुसार फोरमको प्रदेश अधिवेशनले पर्साबाट ६, बाराबाट ३, धनुषाबाट ४, रौतहटबाट १, सर्लाहीबाट १, महोत्तरीबाट ४, सिरहाबाट ५ र सप्तरीबाट ६ जना प्रदेश सदस्यमा निर्वाचित भएको छन् ।
यसैगरी दलितबाट तीन,महिलातर्फ १२, मुस्लिमतर्फ ३, आदिवासी जनजाति १ जना प्रदेश सदस्यमा निर्वाचित भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४