शुक्रबार, वैशाख १४, २०८१

राजपामा रडाको

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा लागेको छ। 

दुई वर्ष अघि (विसं २०७४ वैशाख ८ गते) पार्टी एकता घोषणा सभामा नेताको गर्जन र पार्टी कार्यकर्ताको जति उत्साह थियो, अहिले निरासातर्फ उन्मुख हुँदैछ। पार्टीभित्रको असन्तुष्टिलाई चिर्दै परिपक्क नेतृत्व प्रदान गर्न नसक्दा राजपाभित्र अहिले रडाको मच्चिएको छ। संविधान संशोधनलगायत मुद्दामा सङ्घर्ष गरेको राजपाले आफ्नो एजेण्डामा अडिग रहन त सकेन नै बरु सरकारमा सामेल भएर पनि टिकेन।

नेतृत्वको महत्वकांक्षी र परिपक्व एजेण्डाको अभावमा राजपा रुमलिन पुग्यो। दुई वर्षको अवधिमा पार्टी जहाँको त्यही रह्यो। पार्टीकै केही असन्तुष्ट पक्षले पार्टी नै परित्याग गरी भिन्न मोर्चाबन्दी गरे। पार्टीको स्पष्ट कार्यदिशालाई स्थापित गर्न नसक्दा राजपा आफैँ रुमलिएको छ। नेता कार्यकर्तामा सन्त्रास पैदा भएको छ। गाउँ, वडा र जिल्ला तहदेखि केन्द्रीयस्तरमा नेता कार्यकर्ताबीच राम्रो तालमेल छैन। पार्टीको एकताको महाधिवेशन घोषणा गरे पनि त्यसलाई विभिन्न बहानामा लम्ब्याउने चालबाजी भइरहेको छ।

पछिल्लो उदाहरणको रुपमा यही वैशाख ७, ८ र ९ गतेका लागि पार्टीको घोषित महाधिवेशन स्थगनलाई लिन सकिन्छ। महाधिवेशनका लागि तयारी नपुगेको भन्दै राजपाले महाधिवेशन स्थगित गरेको थियो। पार्टीको पदाधिकारी समितिले महाधिवेशनको मिति तोक्ने निष्कर्ष निकाल्दै केही साताअघि राजपा अध्यक्ष मण्डलको बैठकबाट निर्णय भएको थियो।

उक्त निर्णयअनुरुप राजपाको पदाधिकारी समितिको आइतबारदेखि जारी बैठकमा पुनः महाधिवेशन गर्ने या नगर्ने सम्बन्धमा नेताबीच मत बाझिएको छ। अध्यक्ष मण्डलका बहुमत सदस्य एकता महाधिवेशनको पक्षमा रहे पनि केही सदस्य नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।

सोमबारको बैठकमा राजपा अध्यक्ष मण्डलका छ जना सदस्यको बोल्ने क्रम सकिएको छ। राजपाका एक पदाधिकारीले दिएको जानकारीअनुसार राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारी, नेता महन्थ ठाकुर र राजेन्द्र महतो एकता महाधिवेशनको पक्षमा छन् भने राजकिशोर यादवले नियमित महाधिवेशन गर्नुपर्ने अडान लिएका छन्। यता महेन्द्रराय यादव र अनिल झा महाधिवेशनको पक्षमा देखिएका छन्।    

मंगलबारको बैठकमा पार्टीका अन्य पदाधिकारीले आफ्नो धारणा राखेका छन्। बैठकमा संयोजक भण्डारीले महाधिवेशनसम्बन्धी प्रक्रिया एवं तिथि, मिति निर्धारणसहितका पाँचबुँदे एजेण्डा बैठकमा प्रस्तुत गरेका छन्।

महाधिवेशन सम्बन्धमा राजपाले दुई/दुई विकल्प प्रस्तुत गरेको छ। जसमा नियमित महाधिवशेन गाउँ, वडादेखि जिल्लामा चार महीनाभित्र गर्ने वा पार्टी एकताको महाधिवेशन एकदेखि डेढ महीनाभित्र गर्ने भन्नेबारे प्रस्ताव प्रस्तुत गरिएको छ।

त्यस्तै संयोजक भण्डारीको प्रस्तावमा समसामयिक राजनीतिक र पार्टीको भावी कार्यदिशा, प्रदेश सरकार र स्थानीय सरकारको समीक्षा तथा आगामी काम कारवाही कसरी प्रभावकारी बनाउनेसम्बन्धी प्रस्ताव छ।

बैठकमा पार्टीको एकीकरण, मोर्चा र गठबन्धनसँग एकताको पहललगायत विविध प्रस्ताव प्रस्तुत भएको राजपाले जनाएको छ। पार्टीभित्रको आन्तरिक सन्तुलन कायम गर्न नसकेको राजपाले एकताको महाधिवेशनसँगै अन्य मधेश केन्द्रित राजनीतिक शक्तिसँग पार्टी एकीकरण प्रक्रिया अघि बढाउने जनाएको छ।

पदाधिकारी समितिको बैठकमा उक्त विषयले प्रवेश पाए पनि राजपाभित्रै बेइमेल रहेकाले उक्त प्रक्रियाले सार्थकता पाउने या नपाउने भन्ने अन्योल नै छ। सङ्घीय समाजवादी फोरम नेपालसँग एकीकरणका लागि दुई चरणमा पत्राचार आदन–प्रदान भइसकेको छ। तथापी पार्टी एकीकरणको प्रक्रियाले गति लिन सकेको छैन्। 

यतिखेर राजपा महाधिवेशनको सङ्घारमा उभिएको छ। केही महीनाअघि वर्तमान सरकारलाई दिएको पार्टीको समर्थन फिर्ता लिएको राजपाले पुनः फर्किने वा एजेण्डामा केन्द्रित हुने भन्नेबारे अलमलमै छ। अर्कोतर्फ आफ्ना मुद्दामा विचार मिल्ने शक्तिसँग गठबन्धन गरी सङ्घर्षमा जाने बताएको राजपा आफैँभित्रको तालमेल मिलाउन सकेको छैन।

विशेष अधिवेशन गर्ने कि पूर्ण महाधिवेशन गर्ने त्यसको विषयमा पनि पदाधिकारी बैठकले निर्णय लिनेछ। बैठकमा देशको समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्नाका साथै स्थानीय र प्रदेश सरकारको कामकारवाहीका बारेमा समीक्षासमेत हुने अध्यक्षमण्डलका संयोजक शरदसिंह भण्डारीले बताए। 

महाधिवेशन नहुञ्जेल राजपामा हरेक दुई महीनाभित्र संयोजक तोकिने प्रावधान रहेको छ। राजपाका १७ जना प्रतिनिधिसभा र दुई जना राष्ट्रियसभामा गरी जम्मा १९ सांसद छन्। तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी, महेन्द्रराय यादव नेतृत्वको तराई मधेश सद्भावना पार्टी, राजकिशोर यादव नेतृत्वको मधेशी जनाधिकार फोरम (गणतान्त्रिक) र शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेश समाजवादी पार्टी मिलेर राजपा गठन भएको थियो। (सिबी अधिकारी/रासस)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।