काठमाडौं- पुरानो बसपार्कबाट खुल्लामञ्चमा सारिएको बसपार्किङ क्षेत्रमा सार्वजनिक यातायात राख्न रोक लगाइएको छ ।
बिना जानकारी मर्मत भइरहेको भन्दै खुल्लामञ्च व्यवस्थापन गर्ने जिम्मा लिएको जलेश्वर स्वछन्द निर्माण कम्पनीले सार्वजनिक यातायात पार्किङ गर्न रोक लगाइएको हो । ठेकेदारले सार्वजनिक सुचना निकाल्ने र सवारी चालकहरुलाई जानकारी गराउने काम समेत गरेको छैन ।
निर्माण कम्पनीको मनपरिका कारण खुल्लामन्चमा सवारी साधनले खुल्लामञ्चमा प्रवेश नपाएपछि अहिले रत्नपार्क क्षेत्रको सडकमै गाडीहरु पार्किङ गरिएको छ । सडकमै गरिएको पार्किङका कारण सवारी आवागमन अस्तव्यस्त बनेको छ भने यात्रुहरु अन्योलमा परेका छन् ।
जथाभावि गाडी रोकिएका कारण आफू जाने रुटको गाडी भेट्न यात्रुहरुलाई मुस्किल परेको छ । वीर अस्पताल क्षेत्र र विद्युत प्राधिकरणको केन्द्रिय कार्यालय क्षेत्रको सडक पुरै गाडीले ढाकिएको छ ।
खुल्लामञ्चमा बस नै रोक्न दिएको विषयमा काठमाडौं महानगरपालिका प्रवक्ता इश्वरमान डङ्गोलसँग बुझ्दा उनले अज्ञविज्ञता जनाए । उनले भने- 'हो, र त्यस्तो भएको छ र ? म बुझेर खबर गर्छु है त ।'
निर्माण कम्पनीका सञ्चालक मनोज भेट्वालसँग कुराकानी गर्न खोज्दा उनी सम्पर्कमा नै आएनन् । यसअघि पनि उनी खुल्लामञ्चमा टहरा बनाएर रकम असुलेका विषयमा मिडियासँग नबोलिन पन्छिएका थिए ।
ठेकेदारको लापरबाहीका विषयमा महानगर नै बेखर हुँदा सार्वजनिक सवारी साधन र यात्रु मारमा परेका छन् । काठमाडौं महानगरपालिकाले खुल्लामञ्च व्यवस्थापनको जिम्मा जलेश्वर स्वछन्द निर्माण कम्पनीलाई दिएको छ ।