धनगढी – बझाङमा बिबाहको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। खप्तड छान्ना गाउँपालिका नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको से १ ज ७ सय १८ नम्बरको बलेरो जीप खप्तड छान्ना गाउँपालिकाको लामातोला नजिकै बासपाटा भन्ने ठाउँमा दुर्घटना भएको हो।
आइतबार भएको दुर्घटनामा दुलाहाको गाउँका ६५ वर्षीय बासुदेब जोशीको घटनास्थलमै मृत्यु भएको छ भने अन्य सात घाइते भएका छन्। घाइते हुनेहरुमा चेतराज जोशी, गोकर्ण जोशी, नरेश प्रसाद जोशी, डम्मर प्रसाद जोशी, देबराज जोशी, सुकदेब जोशी र गाडी चालक जयराज जोशी रहेको प्रहरीले जनाएको छ।
चेतराज जोशीलाई गम्भीर चोट लागेको भएपनि अन्यको अबस्था सामान्य भएको र स्थानीयले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पठाएको मृतकका आफन्त ईश्वर प्रसाद जोशीले जानकारी दिए। नेटाकाटियाँ गाउँबाट जन्ती बोकेर आएको उक्त जीप गाउँबाट एक घण्टा हिडेपछि लामातोला नजिकै सडकको सतह चिप्लो भएको र ओरालो तथा कच्ची सडक भएको हुदाँ दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
तमैलबाट छान्ना हुँदै अहिले सेती लोकमार्ग र खप्तड पर्यटकिय सडकमा जीपहरु चल्ने गर्दछन्। मृतक जोशीलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ।
दुलाहा बलराम जोशीको बिबाह जयपृथ्बी नगरपालिकाको सुबेडामा आउने कार्यक्रम रहेको थियो। जीप दुर्घटना भएर आफन्तको मृत्यु भएपछि बिबाह स्थगित गरेको वताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४