वीरगंज- अवैधरुपमा हुने पैठारी ह्वात्तै बढेपछि वीरगंज भन्सार कार्यालयले लगातार छ महिनादेखि असुलीको लक्ष्य भेट्टाउन असफल भएको छ ।
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको चैतमा भन्सार विभागबाट प्राप्त गरेको लक्ष्यको जम्मा ६५ प्रतिशत राजश्व संकलन गर्न सकेको छ । गत चैतमा १० अर्ब एक करोड तीन लाख ७८ हजार रुपैयाँ मात्र राजश्व संकलन भएको भन्सार कार्यालयले जारी गरेको तथ्यांकमा उल्लेख छ ।
चैत महिनामा भन्सारले कुल १५ अर्ब ४४ करोड ४५ लाख रुपैयाँ राजश्व संकलनको लक्ष्य पाएको थियो। चालु आवको दोश्रो अर्द्ध वार्षिक अवधीको शुरुवात अर्थात् कातिक महिनादेखि नै भन्सार राजश्व असुली ओरालो लागेको हो ।
चालु आवको पहिलो पाँच महिनामा ३ करोड रुपैयाँभन्दा बढी मूल्यको सामान भन्सार सुरक्षार्थ खटेको शसस्त्र प्रहरीले बरामद गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा भन्सार सुरक्षार्थ खटेको शसस्त्र प्रहरीले ३ करोड १७ लाख २८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।
गत फागुन महिना लक्ष्यको ८० प्रतिशत अर्थात् १२ अर्ब ३४ करोड १९ लाख ३४ हजार रुपैयाँ राजश्व असुली भएको थियो ।
वीरगन्ज भन्सार कार्यालयलाई भन्सार विभागले गत साउनदेखि गत चैतसम्म ६ महिनाका लागि एक अर्ब २३ अर्ब ५५ करोड ६२ लाख ११ हजारको लक्ष्य दिएको थियो। यो लक्ष्य मध्ये चैतसम्ममा अन्य९लिलाम बढाबढबाट प्राप्त राजश्व समेत० जम्मा ९० प्रतिशत संकलन भएको छ। अन्य आम्दानीको हिस्सा हटाउँदा जम्मा ८८ प्रतिशत लक्ष्य प्राप्ति भएको छ ।
कुल राजश्व लक्ष्यमध्ये अन्तस्शुल्कको लक्ष्य बाहेक भन्सार र मूल्य अभिवृद्धि कर दुबैको प्रगति ज्यादै कमजोर देखिएको छ । भन्सार महशुलतर्फ ७५ दशमलव ८६ प्रतिशत अर्थात् जम्मा ३९ अर्ब ४३ करोड ६१ लाख र मुअकतर्फ ८३ दशमलव १४ प्रतिशत अर्थात् ४५अर्ब ७९ करोड ६१ लाख रुपैयाँ असुली भएको भन्सार कार्यालयले जनाएको छ ।
भन्सार सुचना अधिकारी मनिस महत्तोले सवारी साधनको आयातमा गिरावट र लक्ष्य अनुसार आयात कारोबार नहुँदा लक्ष्य भेट्टाउन नसकिएको दाबी गरे।
व्यापारीका अनुसार पछिल्लो समयमा वीरगंज भन्सार भन्दा भैरहवा भन्सार नाकामा कर्मचारीको मिलेमतोमा राजश्व छलेर सामान भित्याउने सहज भएपछि आयातकर्ता उताको नाकामा सरेका छन् । व्यापारीसँगै ट्रान्सपोर्ट व्यवसायीको लागी पनि भैरहवा नाका आकर्षक हुन पुगेको छ ।
वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश शर्माले केही समययता आश्चर्यजनकरुपमा भैरहवा नाकातर्फ ट्रान्सपोर्ट व्यवसायीको आकर्षण बढेको प्रतिकृया दिए ।उनले भने, राजश्व र परिमाण दुबै दृष्टीकोणले वीरगंज ठूलो नाका हो,तर ट्रान्सपोर्ट कम्पनीहरु उतैको नाकालाई धेरै प्राथमिकता दिइरहेका छन् ।
ट्रान्सपोर्ट व्यवसायीले भारतबाट भरिया वा सिधै मुख्य नाकाबाटै भन्सार कर्मचारीको मिलेमतोमा राजश्व छलेर भित्र्याइएका मालसामान संकलन गरेर पुरानो ज्ञापन पत्रबाट पटक पटक मालसामान ढुवानी गर्दै आएका छन् ।
भन्सार राजश्व छलेर भित्र्याइएका मालसामान बोकेर ठोरी हुँदै चितवनतर्फ जाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालयले पचास लाख रुपैयाँ मूल्य बराबरको सामान सहित एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४