पोखरा – पोखरामा बम डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एकजना घाइते भएका छन्। पोखरा ३ स्थित गण्डकी प्रदेशसभा भवन नजिकै बम डिस्पोज गर्ने क्रममा बिहीबार बिहान कालिभन्ज्याङ गणका सैनिक अमलदार धर्मबहादुर थापा घाइते भएका हुन्।
नदीपुरस्थित प्रदेशसभा भवन अगाडि निषेधित क्षेत्रमा कागजको डल्लोमा बेरेर राखेको अवस्थामा ‘डेटोनेटर’ भेटिएको थियो। त्यसलाई निष्कृय पार्ने क्रममा आफैंले बोकेको बारुद पड्किंदा उनी घाइते भएका कास्की प्रहरीले जानकारी दिएको छ।
घाइते थापालाई पोखराको फिस्टेल अस्पतालमा सामान्य उपचार गरी काठमाडौंको छाउनी अस्पताल ल्याइएको छ। थापाको हातका औंलामा चोट लागेको छ।
बिहीबार नेत्रविक्रम चन्द नेतृत्वले बन्दको आह्वान गरेपछि देशका विभिन्न ठाउँमा बम फेला परिरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४