काठमाडौं- नेपालले आफ्नो पहिलो भू–उपग्रह (नानो स्याटेलाइट) अन्तरिक्षतर्फ पठाइएको छ । ‘नेपाली स्याट–१’ नाम राखिएको भू–उपग्रह आज (बिहीबार) बिहान २ः३१ मा अन्तरिक्षतर्फ पठाइएको हो ।
यो भू–उपग्रह नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)को सहकार्यमा जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुले बनाएका हुन् ।
अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेले भजिर्नियास्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट सिग्नोस कार्गो यानमार्फत अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस)मा पुर्याउनेछ ।
नेपालसहित श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह पनि पठाएको छ । श्रीलंकाको बिहान २ः१६ र जापानको ५ः४६ मा पठाएको छ । स्याटेलाइट प्रक्षेपणको अमेरिकी अन्तरिक्ष संस्था नासाले प्रत्यक्ष प्रसारण गरेको थियो । नास्टका प्रवक्ता डा. सुरेश ढुंगेलका अनुसार आइएसएसमा रहेका अन्तरिक्षयात्रीले एक महिनासम्म भू–उपग्रहबारे थप परीक्षण र अध्ययन गर्नेछन् ।
सफल परीक्षण भए डेढ महिनापछि भू–उपग्रहलाई अन्तरिक्षको पृथ्वी कक्षमा छाडिने नास्टले जनाएको छ । त्यतिवेला उपग्रह पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर पृथ्वीभन्दा करिब चार सय किलोमिटरमाथि नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म रहनेछ ।
उपग्रहले खिचेर पठाउने तस्बिर र त्यसबाट प्राप्त तथ्यांकका आधारमा नेपालले थुप्रै उपलब्धि लिन सक्ने नास्टको विश्वास छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४