धनगढी –चार दिन अघि बेपत्ता भएका कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ का १९ वर्षीय युवक सुविल बडायकको शव फेला परेको छ।
बडायकको शव कृष्णपुर नगरपालिका–७ को लम्वा चद्दरको न्युरा खोलामा भेटिएको ईलाका प्रहरी कार्यालय रैकवारविचुवाका इन्चार्ज प्रहरी नायव निरीक्षक दिल वहादुर कुँवरले जानकारी दिए। शव खाल्डोमा आधा गाडिएको अवस्थामा भेटिएको कुँवरले बताए।
प्रहरीका अनुसार बडायकको टाउको र शरीर अलग गरिएको छ। उनको हत्यामा संलग्न भएको आशंकामा एक स्थानीय युवतीसहित दुई युवालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएकाहरुमा सोही वडाकी १६ वर्षीया किशोरी शिवानी राना, १८ वर्षीय अयोध्या राना र १८ वर्षकै प्रमोद राना रहेका छन्। कृष्णपुर नगरपालिका–८ मा बस्दै आएका बडायक गत चैत २८ गते स्थानीयको विवाहमा रैकवार विचुवाको कलुवापुर आएका थिए। सोही दिन साँझदेखि सम्पर्क विहिन भएका बडायकको टिसर्ट प्रहरीले रगतले लतपतिएको अवस्थामा सोमबार बिहान खेतमा फेला पारेको थियो। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वेपत्ता किशोरको खोजीमा प्रहरीले चासो नदिएको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका थिए। स्थानीयले सडकमा चक्काजाम गर्नुकासाथै इलाका प्रहरी चौकी रैकरवारविचुवा घेराउ गरेका हुन्।
शव पहिचान
भीमदत्त राजमार्गअन्तर्गत कैलालीको चुरे गाउँपालिकाको भासु भीरमा गत बिहीबार फेला परेको मानव कंकालको पहिचान भएको छ। उक्त कंकाल बैतडीको डिलासैनी गाउँपालिका–७, धामी गाउँ घर भएका २३ वर्षीय मुकेश धामीको रहेको पुष्टी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनी धनगढीस्थित दिनेश एफएममा प्राविधिकको रुपमा कार्यरत थिए। प्रहरीका अनुसार शव भेटिएकै ठाउँबाट बरामद भएको मोबाइलमा रहेको मेमोरी कार्डमा रहेका फोटो र लुगाहरुको आधारमा उनको पहिचान खुलेको हो।
धामी गत साउन १४ गतेदेखि बेपत्ता रहेका आफन्तले जनाएका छन्। धामीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४