जनकपुरधाम- नयाँ वर्षको दोस्रो दिन मिथिलाञ्चलमा सोमबार हर्षोल्लासका साथ जुडशितल पर्व मनाइँदै छ । गर्मी मौसममा शितलता पाउन शितला माताको पूजाअर्चना गरी शुद्ध माटो र पानी एक अर्कामाथि छर्केर जुडशितल मनाउने परम्परा रहेको छ ।
यस पर्वमा परिवारका अग्रजले घरका कान्छा सदस्यहरुलाई बासी पानी टाउकोमा छर्केर आशिर्वाद दिने परम्परासमेत रहेको छ । जुडशितलका दिन आशिर्वादस्वरुप घरका अग्रजले बासी पानी शीरमा छर्केर आशिर्वाद दिएपछि दिर्घायू हुुनुका साथै भविष्य उज्जवल हुने जनविश्वास रहेको छ । जुडशितलका दिन शीरमा बासी पानीले आशिर्वाद दिएपछि वर्षभरि शितलता रहिरहने पौराणिक मान्यता छ ।
यसैगरी आजको दिन बोटविरुवामा समेत पानी हाल्ने मान्यता रहिआएको छ । यस पर्वमा एक दिनअघि बेसनले तयार पारिएको विशेष परिकार (बडी) र भात घरको मुख्यद्धारमा राख्ने गरिन्छ । यसैगरी जुडशितलको दिन परिवारका सम्पूर्ण सदस्यहरुले बासी ‘बडी’ र भात खाने परम्परा रहेको छ ।
नयाँ प्रविधिको विकास तथा वातावरण प्रदुषित हुन थालेपछि यस पर्वप्रति नयाँ पिढीको आकर्षण घट्दै गएको छ । ग्रामीण भेगमा जुडशितललाई जोगाउने प्रयास भइरहेपनि शहरी क्षेत्रमा भने लोप प्रायः भइसकेको छ ।
जुडशितलको महत्वलाई ध्यानमा राख्दै ग्रामीण भेगका युवाहरुले हिलोमाटो खेल्ने कार्यक्रम आयोजना गर्दै आएको छ । सांस्कृतिक एवं वैज्ञानिक दृष्टिकोणले विशेष महत्व रहेको हुँदा यसको संरक्षण गर्न सांस्कृतिक क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले विशेष पहल गर्नुपर्ने खाँचो रहेको संस्कृति विद्हरु बताउँछन् ।
प्रदेश २ मा सार्वजनिक विदा
जुडशितलको अवसर पारेर प्रदेश सरकारले सोमबार सार्वजनिक विदाको घोषणा गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जुडशितलको अवसरमा वैशाख २ गते सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४