बिहीबार, वैशाख १३, २०८१

जीवन विज्ञानमा मौन तपस्या सम्पन्‍न

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - आध्यात्मिक संस्था जीवन विज्ञान प्रतिष्ठनमा पहिलोपटक आयोजित २१ दिने मौन ध्यान साधना अत्यन्त आल्हादित वातावरणमा सम्पन्न भएको छ। चैत्र ९ गतेदेखि शुरु भएको २१ दिने मौन साधनामा १६ जना साधक-साधिका सहभागी थिए। 

मौन खुलेर साधक-साधिकाहरु बहिर्मुख भएको दिन शुक्रबार जीवन विज्ञान प्रतिष्ठानको ध्यान साधना कक्षमा खचाखच भरिएका जिज्ञासुबीच जीवन विकास विशेषज्ञ एल पि भानु शर्माले मान्छे मौनबाटै आएको र वर्तमानमा पनि उसले त्यही मौनकै फल खाइरहेको बताए। साधक(साधिकाहरुका २१ दिने मौनका अनुभव अभिरुचिपूर्वक सुनेका शर्माले मौनको अनुभव साधकहरुले दश प्रतिशत पनि व्यक्त गर्न नसकेको र नसक्ने पनि बताए, जसलाई मौनबाट बहिर्मुख भएका साधक(साधिकाहरुले पनि स्वीकारेका थिए।

मौनबाट प्राप्त परम आनन्दको अनुभव व्यक्त गर्न शब्द कम हुने, अभिव्यक्त गर्न कठिन हुने र अरुले बुझेहोला भन्ने पनि भ्रम मात्रै रहने शर्माको भनाइ थियो। मौनरसको आनन्द मौनमा डुब्नेले मात्रै पाउने शर्माको भनाइ थियो। मुख्य कुरा साधनाबाट प्राप्त अपार आनन्दको अनुभव आफ्नो जीवनमा नित्य निरन्तर प्रयोग गर्न र अरुलाई पनि बाँड्न शर्माले सुझाव दिए। आनन्दको अनुभव आफूसँग सीमित गर्दा धेरै समय नटिक्ने भन्दै विशेषज्ञ शर्माले अरु मनुष्यलाई बाँडेपछि मात्रै आनन्दको महासागरमा पुग्न सकिने बताए। त्यसैले आफ्नो अन्तर आकाशमा मौनबाट प्राप्त परमानन्दलाई एक रत्ति पनि सञ्चय नगरी बाँड्न शर्माले २१ दिन तपस्या गरेका साधक-साधिकाहरुलाई सुझाव दिए।  

यसैगरी, जीवन विकास विशेषज्ञ रमेश नेपालले अनावश्यक कुरा नबोल्नु र आवश्यक कुरा मात्रै बोल्नु मौन भएको प्रस्ट पारे। परम आनन्दको मूल स्रोत नै मौन भएको उनको भनाइ थियो। हाम्रो अचेतन मन २१ दिनमा प्रशिक्षित हुने र कुनै पनि कुरा २१ पटक दोहोर्योउँदा आदत बन्ने नेपालको भनाइ थियो। हामी जस्तो अभ्यास गर्छौं, भित्र त्यही जान्छ भन्दै नेपालले अनावश्यक कुरा नबोल्ने अभ्यास घटीमा २१ दिन गर्दा आदत बन्ने भएकाले नै मौन साधना कार्यक्रम आयोजना गरिएको जानकारी दिए। अझ एक सय आठ दिन मौनको अभ्यास गर्न सकेको खण्डमा व्यक्ति सिद्ध हुने नेपालको भनाइ थियो। 

सिद्ध हुनु भनेको चाहेर पनि त्यसपछि अनावश्यक कुरा मुखबाट ननिस्किने उनले प्रस्ट्याए। सारा समस्याको जड हाम्रो निरर्थक बोली नै हो भन्दै विशेषज्ञ नेपालले अनावश्यक बोली बन्द गर्न सुझाव दिए। त्यस्तै, मनमा अनावश्यक कुराहरू उत्पन्न हुन थाले भने मनप्रति सजग हुन पनि नेपालले साधकहरुलाई सुझाव दिए। जब मुख र मन दुवै मौन हुन्छ, तब निर्विचार अवस्थामा वास्तविक मौन शान्तिको अनुभव हुन थाल्ने र जीवनमा चमत्कार घटित हुने नेपालको भनाइ थियो। नबोल्नुमा जति आनन्द यो ब्रह्माण्डमा अन्त कहीँ­कतै नभएको नेपालको दाबी थियो। हरेक व्यक्तिले परम मौन लिएर जन्मिएको र सबैले मौनको रसपान गर्न सक्ने नेपालको भनाइ थियो। 

यसरी मुखले अनावश्यक कुरा नबोल्ने र मनमा अनावश्यक कुरा नसोचेपछि चेतना पूर्ण मौनमा पुग्ने र त्यहाँ अभ्यास गर्दा बुद्धले भनेको परमशान्तिको अनुभूति गर्न सकिने नेपालको भनाइ थियो। 

एक्काईस दिन मौनशान्तिको स्वाद चाखेका साधकहरु बहिर्मुख भएपछि केहीले साधनाको क्षणका आ-आफ्ना अनुभूति सुनाएका थिए।

साधक प्रदीप प्रणवले आफ्नै आवाज नौलो लागेको र नयाँ जीवनमा प्रवेश गरेको अनुभव भएको सुनाए। शरीर नै छैन जस्तो र हावामा तैरिरहेजस्तो आभास भइरहेको उनको भनाइ थियो। भने, 'बोल्नुभन्दा नबोल्नुमै मजा आउँदो रहेछ। भनिन्छ, कागको आवाज कर्णकटु हुन्छ। तर साधनाको नवौं दिनमा काग कराएको आवाज सुन्दा पनि अत्यन्तै प्रिय लागेको प्रणवको अनुभव थियो। यसरी हरेक कुराको आवाज प्रिय लाग्न थालेको र जीवनको यात्रा अब सार्थक रुपमा अघि बढेको उनले बताए। आजसम्म जीवन बेहोसीमै बितेको रहेछ भन्दै प्रणवले निर्विचार अवस्थामा मात्रै पूर्ण होसमा उपलब्ध हुन सकिने बोध भएको बताए।  
 
साधिका दिलु लामाले मौनलाई कठिन साधना भनिए पनि त्यस्तो नलागेको बताइन्। अझै समय थपेर थप रहस्य जान्न पाए हुन्थ्यो जस्तो लागेको उनको भनाइ थियो। मौनको आनन्द किताप पढेर, सिनेमा हेरेर वा अरु क्रियाहरुबाट नपाइने भन्दै मौनमै डुब्नुपर्नेमा उनले जोड दिइन्। शरीर, मन हुँदै आत्मामुखी यात्रामा पुग्दा जसलाई हेर्यो  उसैलाई राम्रो मात्रै देखिरहेको लामाको कथन थियो। 
यसैगरी राधा शर्माले शरीरभित्र धेरै रहस्य रहेको र मौनबाट जिन्दगीको सबैभन्दा खुसीको क्षणमा उपलब्ध भएको अनुभव सुनाइन्। साथै, उनले मानवशरीर वेदबाट बनेको रहेछ भन्ने बोध भएको दाबी गरिन्। 

यस्तै, निर्मला केसीले ईश्वरप्रेम पाउन शरीर र मनले क्लेश पाउनुपर्ने रहेछ भन्दै भानु र रमेश गुरुदेवले अन्तर्चेतनाको तलमा पुर्याउउने साधनाका विधि प्रयोग गराएको स्मरण गरिन्। साधनामा पाएको प्रसव पीडा नै पछि आनन्दको गीत बनेर बज्न थालेको उनको अनुभव थियो। साधनाका क्षणमा कठिन घडी आइलागे गुरु र ईश्वरमा शरणागति हुनसमेत साधकहरुलाई सुझाव दिएकी उनले त्यसपछि मौनको रहस्य खुलेर अपार शान्ति छाउने बताइन्। मौन साधनाबाट कुण्डलिनी पूरै जागरण भएर ऊर्जा शिरमा पुगी शरीरभरि आनन्द बर्सिंदाको क्षण शब्दमा व्यक्त गर्न नसकिने उनको भनाइ थियो। यसरी मौन साधनाबाट आफ्नो कुण्डलिनी ऊर्जा पूरै जागरण भएको उनले दाबी गरिन्।

यसैगरी शिला थापाले मौन साधनाका शुरुका दिन केही गाह्रो भए पनि गुरुदेवहरुले दिएका विधि प्रयोग गर्दै अघि बढेपछि साधना सहज भएको अनुभव सुनाइन्। गहन साधनाका बेला केहीबेर 'त्यो दिन आजै हो' भन्ने शब्द गुञ्जिएको र त्यसले चमत्कार घटित भएको उनको अनुभव थियो। 

यसैगरी साधिका सरस्वती श्रेष्ठले शिरमा इन्द्रकमल फूल फुलेजस्तो शरीर नै हल्का भएको र शरीरका कोष-कोषमा आनन्द आइरहेको बताइन्।

मञ्जुला ठाकुरले जीवनमा यतिविघ्न परम आनन्दको अनुभूति यसअघि कहिल्यै नगरेको बताइन्। जीवनमा सुख-दुःख, आँसु-हाँसो-सबै आउँछन् र ती सबै ममा ठोक्किएर गए पनि अब उप्रान्त आफू तिनबाट अप्रभावित रहने दीक्षा मौन साधनाबाट लिएको साधिका ठाकुरले बताइन्। 

गणेशप्रसाद बरालले पूरा ज्योति र दृश्यहरु आएको भन्दै सबैतिर आफूमात्रै भएको अनुभव सुनाएका थिए। ब्रह्माण्डमा आफूबाहेक अरु केही छैन भन्ने अनुभव भएको उनको भनाइ थियो। जो कोहीलाई दुःख दिनु आफैंलाई दुःख दिनु र अरु कसैलाई पनि सुख दिनु आफैंलाई सुख दिनु हो भन्ने बोध मौन ध्यानबाट भएको उनको भनाइ थियो।

होमनाथ आचार्यले ऋषि पतञ्जलिले हिमालयमा, बुद्धले बोधगया र शिवले कैलाश पर्वतमा लगेर ध्यान गराएजस्तो अनुभव भएको बताए। गुरुदेवहरुले दिएको ब्रह्मरहस्य ध्यान विधि र मन्त्रहरुले आफूभित्र चमत्कार नै घटित भएको साधक आचार्यको अनुभव थियो। तपस्याका २१ दिनमा अहं ब्रह्मास्मि, तत्त्वमसि, सत्यं परं धीमहि, शिवोहम्(शिवोहम्, सत्यमेव जायते, तमसोमा ज्योतिर्गमय, कृण्वन्तो विश्वमार्यम्, न हन्यते हन्यमाने शरीरे, आत्मवत् सर्वभूतेषु, ॐ खं ब्रह्मजस्ता सूक्तिहरुको आफूले रसपान गरेको आचार्यले दाबी गरे। मन्त्रको श्रवणानन्द मात्र नभई रसपानसमेत गर्न थालेपछि एक सेकेन्ड पनि मन विचलित नभएको र मौनबाट धेरै रहस्य खुलेको उनको अनुभव थियो।

यसैबीच, साधनाका यस्ता सु-दीर्घ कार्यक्रमलाई जीवन विज्ञान प्रतिष्ठानले निरन्तरता दिनेसमेत जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।