शुक्रबार, वैशाख १४, २०८१

‘रोमान्स’ यसरी बन्छ बलात्कार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धनगढी - कैलालीको बौनियास्थित एक होटलबाट प्रहरीले शुक्रबार दिउँसो एक जोडीलाई पक्राउ गर्‍यो। होटलको कोठाबाट पक्राउ परेको त्यो जोडी पतिपत्नी भने हाेइन। पक्राउ पर्नेमा धनगढी घर भएकी महिला (प्रहरीले नाम सार्वजनिक गर्न मानेन) र जोशीपुर गाउँपालिका–५ का २८ वर्षीय गणेश जोशी हुन्। महिला विवाहित हुन् भने पुरुष अविवाहित हुन्।
 
करिब ७० किलोमिटरको दुरीमा रहेको धनगढीबाट बौनिया पुगेकी ती महिला र नजिकैको जोशीपुरबाट त्यहाँ पुगेका जोशीले सहमतिमै होटल बसेर रोमान्स गरे। दुवैलाई नजिकबाट चिन्नेहरुका अनुसार यो जोडीबीच निकै लामो समयदेखि सम्बन्ध छ। ती महिलाको माइती घर पनि जोशीपुर नै रहेको खुलेको छ। यसबाट यिनीहरुको सम्बन्ध अविवाहित हुँदादेखि नै रहेको आशंका चिनजानकाहरुले गरेका छन्। यो सम्बन्धबारे थाहा पाएर नै ती महिलाका पतिले जिल्ला अदालत कैलालीमा सम्बन्ध विच्छेदको मुद्दासमेत दर्ता गरेको खुलेको छ। 

केही समयपहिले होटलमा बसेर दिउँसै रोमान्स गर्ने महिलालाई प्रहरीले पक्राउ गरेपछि भने तिनै जोशीविरुद्ध छिनभरमै बलात्कार आरोपमा प्रहरीमा जाहेरी दिएकी छिन्। लामो समयदेखिको सहमतिमै हुँदै आएको सम्बन्ध प्रहरीले थाहा पाएपछि एकाएक बलात्कारमा परिणत हुन पुगेको छ। 

सहमतिमै जोशीसँग रोमान्स गरेकी तिनै महिलाले प्रहरीमा दिएको जाहेरीमा भने आफूलाई बिहे गर्छु भन्दै झुक्याएर होटलको कोठामा लगेर बलात्कार गरेको आरोप लगाएकी छिन्। ती महिलाले जुन पुरुषसँग सहमतिमै रोमान्स गरिन् उनलाई बलात्कार आरोपमा प्रहरीको कस्टडीमा पुर्‍याइन् र आफू भने अन्यायमा परेको भन्दै न्याय खोजिरहेकी छिन्। 

होटलका कोठामा छापा मारेर नै त्यो जोडीलाई पक्राउ गरेको स्वीकार गर्ने प्रहरी भने महिलाले दिएको जाहेरीका आधारमा जोशीमाथि जबरजस्ती करणीको मुद्दा चलाएको बताउँदै आएको छ। इलाका प्रहरी कार्यालय बौनियाका प्रमुख प्रहरी निरीक्षक धु्रवबहादुर बिष्टले त्यो जोडीलाई सुराकीका आधारमा होटलको कोठाबाट नियन्त्रणमा दिएको जानकारी दिए। 

महिलाले जाहेरी भने इलाका प्रहरी कार्यालय सुखडमा दिएकी छिन्। सुखडका प्रहरी इन्चार्ज प्रहरी निरीक्षक यक्षराज जोशीले महिलाले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएपछि आरोपित जोशीलाई पक्राउ गरेर जिल्ला चलान गरेको र उनीविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता गरेको जानकारी दिए। ‘मुलुकी अपराध संहिता कानुनमा महिलाले जाहेरी दिएपछि मुद्दा चलाउन पाउने व्यवस्था छ। त्यहीअनुसार हामीले मुद्दा चलाएका हौं’, कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनाले भने, ‘सहमतिमा रोमान्स गरेका हुन् या होइनन् भन्नेबारे अनुसन्धानका क्रममा खुल्छ।’
 
यो एउटा उदाहरण मात्र हो। बलात्कार भनी पर्ने प्रायः मुद्दामा अध्ययन गर्ने हो भने सुरुमा सहमतिमा रोमान्स गर्ने र पछि कसैले थाहा पायो या त पैसामा सहमति भएन भने मात्र मुद्दा दर्ता गर्ने गलत प्रचलन बढेको जानकारहरु बताउँछन्। एउटा वयस्क युवती वा महिलालाई सोही बराबर उमेर भएको युवक वा पुरुषले इच्छाविपरीत शारीरिक सम्पर्क राख्न सक्ने अवस्था नै हुँदैन। कि त सामूहिक, कि त बालिका या अशक्त वृद्धा या त महिला शारीरिक र मानसिक रुपमा अशक्त, अपांग भएमात्र बलात्कार सम्भव हुन्छ। 

कैलाली जिल्ला अदालतका स्रेस्तेदार इन्द्र कठायतले एक वयस्क महिलालाई एक वयस्क पुरुषले बलात्कार गर्‍यो भनेर आउने अधिकांश मुद्दा वास्तविक बलात्कार नभएर बनावटी बलात्कार भएको बताए। ‘सहमतिमा शारीरिक सम्बन्ध हुन्छ पछि केही कारणले सम्बन्धमा खटपट भयो भने महिलाले जबरजस्ती करणीको मुद्दा दिन्छन्’, कठायतले भने, ‘कानुन महिलामैत्री भएकाले त्यसको गलत फाइदा महिलाले उठाइरहेका छन्।’ उनका अनुसार अदालतमा आउने जबरजस्ती करणीका अधिकांश मुद्दामा एक पुरुषबाट एक महिला बलात्कृत भएको भनिएका हुन्छन्। 

कतिपय यस्ता घटना गाउँमा मिलाउने लामो प्रयास असफल भएपछि मात्र न्यायका लागि सम्बन्धित निकायमा पुगेका देखिन्छन् भने कतिपय गाउँमै मिल्छन्। बलात्कार भनिएका कतिपय घटनाहरु ढिलोगरी मात्र प्रहरीमा पुग्ने गरेका छन्। यसरी ढिलो गरी आउनुको कारण खोज्दै जाँदा अधिकांश घटना गाउँमै पैसामा मिलेको र पछि केही कुरा नमिल्दा मात्र प्रहरीमा पुग्ने गरेको एक प्रहरी अधिकारीले सुनाए। 

मनोविज्ञान बिषयका जानकार कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक  राजेन्द्रकुमार शाहले महिलाको भावनामा डुबेर निर्माण गरिएका असन्तुलित कानुनले गलत नियत भएका महिलालाई पनि फाइदा उठाउन सजिलो भएको बताए। ‘बलात्कार प्रयास नै भएको छ भने महिलाबाट प्रतिकार भएको अवस्था देखिनुपर्छ’, शाहले भने, ‘अहिलेको जमानामा त दुवैको मोबाइलको कल डिटेल हेरेर मात्रै पनि उनीहरुको सम्बन्धबारे सजिलै पत्ता लगाउन सकिन्छ।’ 

बलात्कार जस्तो गम्भीर प्रकृतिको मुद्दा दर्ता गर्नुभन्दा पहिले प्रहरीले वास्तविक बलात्कार हो कि बनावटी हो भनेर केही कुरा बुझ्न सकिने उनको भनाइ छ। उनले पछिल्लो समय सामाजिक मिडियाको सहज पहुँच र तिनले प्रकाशित, प्रसारित गर्ने यौन उत्तेजना फैलाउने सामग्रीका कारण मानसिक विकृति बढिरहेको बताए। एकातर्फ कानुनमा भएको असन्तुलन र अर्कोतर्फ कानुन कार्यान्वन गर्ने निकायहरुको भूमिका पनि असन्तुलित भइदिनाले त्यसबाट गलत मान्छेले फाइदा उठाउने गरेको उनको बुझाइ छ। 

नेपाल प्रहरीका सेवानिवृत्त प्रहरी उपरीक्षक मोहनराज जोशी पनि बलात्कार भयो भनेर उजुरी आउने अधिकांश घटनामा सहमतिमा शारीरिक सम्पर्क हुने र पछि कुनै कुरामा सहमति नहुँदा जबरजस्ती करणीमा मुद्दा दिने प्रचलन अत्यधिक बढेको बताउँछन्। ‘साँच्चै बलात्कार नै भएको हो भने न्याय माग्न आउनुपर्ने हो यहाँ त पैसामा बार्गेनिङ पो हुन थाल्छ’, जोशीले भने, ‘कतिपय घट्ना त बलात्कार भयो भनि जाहेरी आउँछन् तर बुझ्दै जाँदा कारण अर्कै हुन्छ।’

वास्तविक बलात्कार हो कि होइन भनेर अनुसन्धान गर्ने प्रहरीसँग थुप्रै विधि भए पनि त्यतातिर नलागेर कानुनअनुसार मुद्दा अदालतसमक्ष पुर्‍याउन बाध्य हुने गरेको जोशीले सुनाए। यसो गर्नुको कारण महिला अधिकारकर्मी, विभिन्न समूहको दबाब रहेको उनले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।