काठमाडौं - प्रत्येक नेपालीको काँधमा ३१ हजार सात सय ५० रुपैयाँ सरकारी ऋण दायित्व देखिएको छ। महालेखा परिक्षकको कार्यालयलले पेश गरेको आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदनले यस्तो आंकलन प्रस्तुत गरेको छ।
कार्यालयले शुक्रवार राष्ट्रपतिलाई बुझाएको आर्थिक वर्ष २०७४ र ७५ को वार्षिक प्रतिवेदन बुझाएको छ। वार्षिक प्रतिवेदनका अनुसार गएको आर्थिक वर्षमा नेपाल सरकारको ऋण दायित्व गत वर्षको तुलनामा एक तिहाइले बढेको हो।
महालेखाको पछिल्लो प्रतिवेदनअनुसार कूल सरकारी ऋण दायित्व नौ खर्ब १५ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
आन्तरिक ऋण तीन खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ र वैदेशिक ऋण पाँच खर्ब २४ अर्ब १५ करोड रुपैयाँ रहेको जनाइएको छ। उक्त ऋण दायित्वलाई दुई करोड ८८ लाख २९ हजार नेपालीलाई भाग लगाउँदा प्रतिव्यक्ति ३१ हजार सात सय ५० रुपैयाँ हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।
आर्थिक वर्ष २०७३ र ७४ को तुलनामा प्रतिव्यक्ति ऋण सात हजार ४३ रुपैयाँले बढेको हो।
बेरूजु तीन खर्ब ७७ अर्ब
पछिल्लो प्रतिवेदनअनुसार कुल बेरुजु तीन खर्ब ७७ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। २०७३/७४ मा बाँकी रहेको बेरुजु दुई खर्ब ९० अर्ब ५२ करोड रुपैयाँमा समायोजन र फछ्र्योट गरिएको रकम घटाउदा पनि आर्थिक वर्ष २०७४/७५ मा थप एक खर्ब ४१ अर्ब पाँच करोड रुपैयाँ बेरुजु थपिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४