काठमाडौं- महालेखापरीक्षकको कार्यालयले २७ अर्ब १४ करोड रुपैयाँभन्दा बढी रकम असुल हुन बाँकी रहेको जानकारी दिएको छ। शुक्रबार महालेखापरीक्षक टंकमणि शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको महालेखापरीक्षकको कार्यालयको ५८औँ प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा २७ अर्ब १४ करोडभन्दा बढी रकम असुलउपर नभएको उल्लेख गरेको हो।
प्रतिवेदन अनुसार अघिल्लो आर्थिक वर्षमा मुलुकभर १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ बेरुजु रहेको पाइएको छ। प्रचलित कानुनबमोजिम रीत नपुर्याई कारोबार गरेको वा अनियमितता भएको र बेमनासिब तरिकाले खर्च भएको रकमलाई बेरुजु भनिने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २ (त)मा व्यवस्था छ। प्रतिवेदनले बेरुजुलाई असुलउपर गर्नुपर्ने, अनियमितता भएको, प्रमाण पेस नभएकोलगायतमा वर्गीकरण गरिएको छ।
सोअनुसार २७ अर्ब १४ करोड ९५ लाख रुपैयाँ असुल उपर गर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो आर्थिक वर्षमा संघीय सरकारका निकायबाट असुलउपर गर्न २० अर्ब २९ करोड २१ लाख रुपैयाँ बाँकी छ।
त्यस्तै, प्रदेश सरकारी कार्यालयबाट ६३ करोड ६४ लाख रुपैयाँ र स्थानीय तह ५ अर्ब ४७ करोड ४९ लाख रुपैयाँ असुल नभएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै सरकारी समिति र अन्य संस्थाले ७४ करोड ६१ लाख रुपैयाँ असुलउपर गर्न बाँकी भएको प्रतिवेदनले उल्लेख गरेको छ। प्रतिवेदन अनुसार सबै सरकारी निकायले २७ अर्ब १४ करोड ९५ लाख असुलउपर गुर्न बाँकी छ।
अघिल्लो आवसम्ममा मुलुकको बेरुजु ६ खर्ब ७६ अर्बभन्दा बढी पुगिसकेको प्रतिवेदनले औँल्याएको छ।
प्रतिवेदनको पूर्णपाठ